जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त 

फाइल तस्वीर

Read Time = 3 mins

जुम्ला । सिंजा गाउँपालिका–६ का  किसान दलबहादुर रोकाया स्याउका बगैँचा ब्यवस्थापनमा व्यस्त हुनुहुन्छ। उहाँ बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउनु हुन्छ ।

जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ।

सिंजा गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बुढाले बगैंचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय समेत सुरू भइरहेको बताउनु भयो  । जुम्लाका ८ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैंचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाहरुले जनाएको छ  ।

धेरैजसो किसानलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग नगरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताउनु भयो।

स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैंचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।

बिरूवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरूवासम्म ६ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताउनु भयो ।
खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरूवा लगाउन उपयुक्त हुने बताउनु भयो ।

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिंचाइ गर्ने काममा कृषक जुटेका हुन्।
कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८÷७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७÷७८ मा ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको छ।
दिलमाया शाही

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?