‘सहकारीमार्फत् बिचौलिया अन्त्य गर्न सकिन्छ’

Read Time = 3 mins

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सहकारी अर्थतन्त्रको एउटा खम्बा रहेकाले उत्पादन, ढुवानी, वितरण, उपभोगसम्म जोडिनुपर्ने बताउनुभएको छ । सहकारी मूल्य शृंखला प्रभावकारीरूपमा उत्रिएमा बिचौलिया अन्त्य हुने पनि उहाँले बताउनुभयो । बुधबार राष्ट्रिय सहकारी महासंघको ३०औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले तीनखम्बे अर्थतन्त्र भन्ने तर एउटा खम्बालाई चल्लाको खुट्टा जस्तो अर्काे खम्बालाई हात्तीको खुट्टा जस्तो बनाएर अर्थतन्त्र मजबुत नहुने अध्यक्ष तिमल्सिनाको भनाइ थियो ।

‘तीनवटै खम्बा बलियो बनाउने नीति तथा कार्यक्रम सरकारको हुनुपर्ने भन्दै उहाँले गरिबी निवारणका लागि सरकारले सहकारीसँग सहकार्य गर्न सक्ने बताउनुभयो ।

पूर्वमन्त्री तथा महासंघका निवर्तमान अध्यक्ष केशव बडालले स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भन्दैै राज्यसँग हालेमालो गरेर अभियान अघि बढ्ने बताउनुभयो । पूर्वराज्यमन्त्री तथा महासंघका पूर्वअध्यक्ष दिपकप्रकाश बास्कोटाले नेपालको संविधानमा सार्वजनिक, निजीसरह सहकारीलाई समान अवसर दिएको र विश्वका विभिन्न देशले अनुशरण गर्न थालेको बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालय र सहकारी अभियान एउटा डुंगामा उभिएकाले अभियान सफल हुँदा मन्त्रालय पनि सफल हुने बताउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी एकीकरणलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सहकारी सुदृढीकरणका लागि केन्द्रीय संघबाट विभागले काम थाल्ने बताउनुभयो । महासंघ अध्यक्ष मीनराज कँडेलले सहकारी अभियानले दिगो विकासका लक्ष्य प्राप्तिका लागि योगदान गर्ने बताउनुभयो । वर्तमान अवस्थामा सहकारीलाई तरलता व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्ने उहाँको माग छ । महासंघका उपाध्यक्ष रमेश पोखरेलले विकासवादी अर्थतन्त्रका रूपमा सहकारी अभियान रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?