इन्भेष्टमेन्ट र मेगाद्वारा एकीकृत कारोबार

Read Time = 4 mins

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबारसँगै बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९४ हजार रुपैयाँ नाघेको छ ।

इन्भेष्टमेन्ट बैंक र मेगा सय बराबर ९० अनुपातमा मर्जरमा गएका हुन् । मेगा बैंकका सेयरधनीले मर्जरपछि बन्ने बैंकमा मेगाको सय कित्ता बराबर इन्भेष्टमेन्ट मेगाको ९० कित्ता सेयर पाउनेछन् । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केन्द्रीय कार्यालय साबिकको नेपाल इन्भेष्टमेन्ट बैंकको दरबारमार्गस्थित कार्यालयमै रहनेछ ।

मर्जरपछि बैंकको कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी र ग्राहक संख्या ३० लाख पुगेको छ । निक्षेप तीन खर्ब ६० अर्ब रुपैयाँ, कुल कर्जा छ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ भने शाखा सञ्जाल दुई सय ५७, एक्सटेन्सन काउन्टर ५९ तथा एटिएम संख्या दुई सय ७९ पुगेको छ ।

सो अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्तरूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । अध्यक्ष पाँडेले बैंकिङ क्षेत्रमा अग्रणी बैंकहरूका रूपमा सुपरिचित दुवै बैंक एक आपसमा गाभिएपश्चात् देशकै ठूला वाणिज्य बैंकमध्येको एक हुँदै सम्पूर्ण वित्तीय सूचकमा अग्रता हासिल गर्न सक्षम हुने बताउनुभयो । साथै उहाँले मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताउनुभयो ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद कदम भएको बताउनुभयो । उहाँले मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमा उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अंगिकार गर्नुका साथै सेयरधनीको प्रतिफल वृद्धि हँुदै जाने विश्वास व्यक्त गर्नुभयो ।

मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साबिक नेपाल इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेन्ट बैंकतर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला र मेगा बैंकतर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहनुभएको छ । साबिक इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालक मञ्जु बस्नेत नै नयाँ सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?