काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०२२/०२३ मा नेपालको आर्थिक वृद्धिदर घटेर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअघि सन् २०२१/२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहेको थियो । कोरोना महामारीका कारण धरासायी भएको अर्थतन्त्र चलायमान भए पनि रुस-युक्रेन युद्धका कारण इन्धन अभाव, मूल्यवृद्धि, पर्यटक आगमनमा कमीलगायतका कारण चालु आवमा आर्थिक वृद्धिदर खुम्चिने विश्व बैंकको भनाइ छ । सन् २०२३/०२४ मा नेपालको आर्थिक वृद्धिदर झनै ५.१ प्रतिशतबाट ४.९ प्रतिशतमा खुम्चिने विश्वद्वारा बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सन् २०२२/०२३ मा भारतको आर्थिक वृद्धिदर ६.९ प्रतिशत, बंगलादेशको ५.२ प्रतिशत, पाकिस्तानको दुई प्रतिशत, भुटानको ४.१ प्रतिशत, माल्दिभ्सको ८.२ प्रतिशत रहनेछ भने २०२२ मा श्रीलंकाको अर्थतन्त्र ९.२ प्रतिशत र सन् २०२३ मा ४.२ प्रतिशतले खुम्चिनेछ । पर्यटक आगमनमा भएको वृद्धिका कारण माल्दिभ्सको आर्थिक वृद्धिदर उच्च रहेको छ । प्रतिवेदनअनुसार आन्तरिक माग घटेको कारणले दक्षिण एसियाको आर्थिक वृद्धिदर औसतमा रहनेछ । यसमध्ये भारत, बंगलादेश र नेपालको आर्थिक वृद्धिदर तुलनात्मकरूपमा सामान्यरूपमा अघि बढ्नेछ भने भुटानको समेत वृद्धिदर उत्साहजनक नै रहनेछ ।
विकासोन्मुख मुलुकहरू आयात निर्भर रहेको र मुद्रास्फीति नियन्त्रण गर्न ठूला अर्थतन्त्र भएका केन्द्रीय बैंकहरूले आक्रामक शैलीमा बढाएको ब्याजदर, कमजोर स्वदेशी मुद्रालगायतका कारण आउने समस्याले आर्थिक वृद्धिदरमा धक्का पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकका अनुसार सन् २०२२/०२३ मा भारतको आर्थिक वृद्धिदर ६.९, बंगलादेशको ५.२, पाकिस्तानको दुई, भुटानको ४.१ र माल्दिभ्सको ८.२ प्रतिशत रहनेछ भने श्रीलंकाको अर्थतन्त्र ९.२ र सन् २०२३ मा ४.२ प्रतिशत रहनेछ ।
सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर खुम्चिएर १.७ प्रतिशत रहने र उन्नत अर्थतन्त्र भएका मुलुकको वृद्धिदरसमेत सन् २०२३ मा ०.५ प्रतिशत रहने बताइएको छ । पूर्वी एसिया र प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि ४.३ प्रतिशत, युरोप र सेन्ट्रल एसियाको ०.१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारिबियनको १.३ प्रतिशत, मिडल इस्ट तथा उत्तरी अफ्रिकाको ३.५ प्रतिशत, दक्षिण एसियाको ५.५ प्रतिशत र सब-साहारन अफ्रिकाको वृद्धिदर ३.६ प्रतिशत रहनेछ । कोेरोनाले सन् २०२० मा विश्वव्यापी अर्थतन्त्र धरासायी बनाउँदा आर्थिक वृद्धिदर खुम्चिएर आर्थिक मन्दी निम्तिएको थियो भने पछिल्लो समय रुस-युक्रेन युद्धले समग्र विश्व अर्थतन्त्र प्रभावित भएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासले भन्नुभयो, ‘विश्व अर्थतन्त्र अनिश्चिततातर्फ लम्किएसँगै विकासका काम सुस्ताएका छन् । उन्नत अर्थतन्त्र भएका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका कारण उदीयमान तथा विकासोन्मुख राष्ट्रमा लगानी बढ्न सकेको छैन । विकसित राष्ट्रले ब्याजदर बढाउँदा विकासोन्मुख राष्ट्रले उच्च ब्याज चुक्ता गरिरहेका छन् । यसको असर शिक्षा, स्वास्थ्य, गरिबी नियन्त्रण, पूर्वाधार विकास तथा जलवायु परिवर्तन नियन्त्रणमा परेको छ ।’ विश्व बैंकले यस वर्ष विश्वको अर्थतन्त्र सन् २००९ कै जस्तो मन्दीमा जान सक्ने प्रक्षेपण गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका