आशा, भरोसा र संशय

रत्न प्रजापति
Read Time = 15 mins

अकल्पनीयरूपमा भएको राजनीतिक समीकरणले नेपाली जनतामा आश्चर्य सँगसँगै नयाँ आशा, भरोसा र संशय पनि जगाएको छ । जनताको अभिमतले ठूलो पार्टीको रूपमा अनुमोदित नेपाली कांग्रेस नै प्रतिपक्षमा बस्नुपर्ने गरी भएको यो राजनीतिक समीकरणले जनता आश्चर्यमा परेका छन् । सत्ताका लागि राजनीतिक समीकरण फेरिन्छ भन्ने सबैलाई थाहा छ, तर यति छिट्टै फेरिन्छ भनेर सायदै कसैले सोचेका थिए । स्वयं राजनीतिक समीकरणमा सहभागी राजनीतिक दलका कतिपय नेता र कार्यकर्ताले यस्तो सोचेका थिएनन् होला ।

तर, कसैको हठ र कसैको तीव्र सत्ता आकांक्षाका कारण यति छिट्टै राजनीतिक समीकरण फेरिन सम्भव भयो । तर, राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन भनेझैं यो नयाँ समीकरण असम्भव चाहिँ थिएन । अकल्पनीय र अविश्वसनीय रूपमा भएको नयाँ राजनीतिक समीकरणपछि सोचेका व्यक्ति प्रतिपक्षको कुर्सीमा बस्न पुगेका छन् भने नसोचेका व्यक्तिहरू सत्ताको कुर्सीमा आसीन हुन पुगेका छन् ।

यसो त कुर्सीकै लागि भएको हो यो नयाँ राजनीतिक समीकरण पनि । माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’मा सत्ता प्राप्त गर्ने तीव्र आकांक्षा नभइदिएको भए अथवा नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा पुनः आफैँ सत्तासीन हुने एकोहोरो हठ नभइदिएको भए यो नयाँ राजनीतिक समीकरण हुनै पर्ने भए पनि यति छिट्टै चाहिँ हुने थिएन ।

नेपाली कांग्रेसका केही व्यक्तिको हठ र अपरिपक्वताले गर्दा उसले महत्वपूर्ण अवसर गुमाएको छ भने जनताले प्रतिपक्षमा बस्नका लागि अनुमोदन गरेका एमाले र अरू साना पार्टीले सत्तारोहणको त्यो महत्वपूर्ण अवसर प्राप्त गरेका छन् । सत्तामा पुग्नु एउटा कुरा हो । सत्ताको प्रतिष्ठा र गरिमा जोगाउनसक्नु अर्को कुरा हो । काकताली वा ताक परेर, जसरी भए पनि जो सत्तामा पुगेका छन्, तीमाथि सत्ताको प्रतिष्ठा र गरिमा जोगाउने जिम्मेवारी छ । त्यो जिम्मेवारी कसरी पूरा गर्छन्, त्यो जनताले हेर्नेछन् र मूल्यांकन गर्ने नै छन् ।

सोचेभन्दा ठूलो पदमा पुगेका छन् रवि लामिछाने । राजनीति थालेको छ महिनामै राजनीतिमा फड्को मार्न सफल भाग्यमानी नेता बन्न पुगे उनी । सम्भवतः यति छिट्टै र कम उमेरमा उप्रधानमन्त्री र गृहमन्त्रीजस्तो उच्च ओहोदामा पुग्नेमा लामिछाने नै पहिलो भाग्यमानी नेपाली हुनुपर्छ ।

जो सत्तामा पुगेका छन् र कुर्सीमा बसेका छन्, तिनमा पुरानाप्रति जनताका केही आशा र भरोसा होलान् तर सबैभन्दा बढी आशा र भरोसा चाहिँ पहिलो पटक संसद्को कुर्सीमा बसेका र पहिलो पटक सत्ताको उच्च ओहोदामा पुगेका रवि लामिछाने जस्ता युवा सांसदप्रति नेपाली जनता विशेषगरी युवापुस्ताको अति धेरै आशा, भरोसा र विश्वास छ । रवि लामिछानेले जनताको त्यो आशा र भरोसालाई डग्मगाउन नदिने काम गर्नुपर्छ अबका दिनमा ।

जनताले सोचेभन्दा अझ बढी ठूलो र जिम्मेवार पदमा पुगेका छन् रवि लामिछाने । राजनीति थालेको छ महिनामै नेपालको राजनीतिमा फड्को मार्न सफल भाग्यमानी नेता बन्न पुगेका छन् उनी । सम्भवतः यति छिट्टै र कम उमेरमा उप्रधानमन्त्री र गृहमन्त्रीजस्तो उच्च ओहोदामा पुग्ने नेपालीमा रवि लामिछाने नै पहिलो भाग्यमानी नेपाली हुनुपर्छ । यसकारण नेपाली जनताले उनीप्रति अझ धेरै आशा, भरोसा र विश्वास गरेका छन् । अब उनले जनताको यो आशा, भरोसा र विश्वासलाई डगमगाउन दिने छैनन् भन्ने अपेक्षा गर्नु सान्दर्भिक हुनेछ ।

तर, उनको आफ्नै नागरिकतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा गृह मन्त्रालय नै सम्हाल्न पुगेका लामिछानेले आफ्नै मुद्दालाई किनारा लगाउन कस्तो भूमिका निर्वाह गर्छन् भन्ने विषयमा सार्वजनिक चासो बढेको छ । हिजो सरकार, सरकारका मन्त्री, जिम्मेवार पदाधिकारी–कर्मचारीमाथि अनेकौंं तीखा प्रश्नको प्रहारले मर्माहत पार्दै आएका लामिछाने आफैँ उच्च ओहोदामा आसीन भइसकेपछि कसरी कार्यसम्पादन गर्छन भन्ने जिज्ञासा आमनागरिकमा छ ।

रवि लामिछानेले हिजोका दिनमा एउटा पत्रकारको हैसियतले जनताका मुद्दालाई सम्बन्धित सरकार र निकायसम्म पुर्‍याउने काम गर्दै आएका हुन् । पीडितलाई न्याय दिलाउने काममा पनि उनले आफ्नो पेशागत कार्यमार्फत सहयोग गर्दैै आएका हुन् । सरकारलाई गलत कार्य नगर्नका लागि हरपल खबरदारी पनि गर्दै आएका हुन् । सरकारका गलत काम र अन्यायविरुद्ध आवाज पनि उठाउँदै आएका हुन् ।

भ्रष्टाचारीलाई नांगेझार पार्न उनले सक्दो प्रयास गरेका हुन् । उनकै प्रयासले पीडितले न्याय र पीडकले सजाय पनि पाएकै हुन् । अब उनी आफैँ सरकारमा पुगेका छन् । हिजो आफूले गरेजस्तो विरोध र अन्यायविरुद्धको आवाज उनी आफैँले सुन्नुपर्नेछ । त्यो अवस्थामा उनले कति विवेकपूर्वक निर्णय गर्नेछन् र कार्यान्वयन गर्नेछन्, त्यो हेर्न जनता आतुर छन् ।

सरकारको विरोधमात्रै गरेर नहुने रहेछ । किनभने यसअघि जति विरोध गरे पनि सरकारले सुनेन वा सुन्न चाहेन । संघीयता आवश्यक छैन भन्दै राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले सधैं संघीयताको विरोध गरिरहे । विरोध गर्दागर्दै उनी बुढा भए तर संघीयताविरुद्धको आवाज कसैले सुनेन । जनताले सडकमा बसेर अरू धेरै कुरामा विरोध जनाए र आवाज उठाए तर सरकारले सुनेन र जनताको आवाजलाई सम्बोधन गरेन ।

सरकारले विरोधको आवाज सुन्ने भए संसदमा सांसदहरूले कुर्सी नै भाँचेर विरोध गरेको केही दिनमै देशमा अनुभूति गर्न लायकको आर्थिक र सामाजिक परिवर्तनको काम हुनुपर्ने थियो । विरोध गर्नेहरू नै कार्यान्वयन गर्ने ठाउँमा नपुग्दासम्म जनताले परिवर्तनको अनुभूति गर्न नपाउने रहेछ तर एउटा संशय भने सधैं रहिरहन्छ । विरोध गर्नेहरू पनि सरकारमा पुगिसकेपछि उस्तै नै बन्ने रोग चाहिँ पुरानै हो ।

हिजो सरकारको गलत कामको विरोध गर्ने, भ्रष्टाचारको विरोध गर्ने र सरकारले यो गरेन, त्यो गरेन भनेर सधैं सरकारको आलोचना गर्ने रवि लामिछाने जनताको प्रतिनिधित्व गर्दै आफैं अहिले सरकारमा पुगेका छन् र जिम्मेवार ओहोदमा आसीन हुन पुगे । हिजो उनैले सरकार र सरकारका पदाधिकारीलाई लगाउने गरेको गुनासो, आरोप र लाञ्छना अब उनी आफैंले सुन्नुपर्ने अवस्थामा पुगेका छन् । अब उनी जनअनुमोदित सांसदमात्रै होइन, सरकारका जिम्मेवार उपप्रधान र गृहमन्त्री नै बनिसकेका छन् ।

अब जनताले हिजो उनले उठाएका मुद्दाहरू आज उनी आफैंले पूरा गर्नेछन् भन्ने आशा, भरोसा र विश्वासमा छन् । के अब रवि लामिछानेले फरक समय, फरक पृष्ठभूमि, फरक जिम्मेवारीको अनुभूति गरेर सोहीनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्लान् ? जनताको मनमा यस्तो प्रश्न उब्जेको छ । विरोध गर्नु र विरोध सुनेर काम गर्नु फरक भूमिका हुन् । रवि लामिछानेले दुवै भूमिका निर्वाह गर्ने अवसर पाएका छन् । हिजो विरोध गर्ने र आज विरोध सुनेर त्यसको सुनुवाइ अर्थात् कार्यान्वयन गर्ने । विरोधमात्रै गर्ने हैसियतमा रहँदासम्म परिवर्तनको अपेक्षा अरूबाटै पूरा हुनुपथ्र्यो । अब रवि लामिछाने आफैं नै त्यो विरोधको सुनुवाइ गर्ने, कार्यान्वयन गर्ने हैसियतमा पुगिसकेपछि जनतालाई परिवर्तनको आभास दिन सक्नुपर्छ ।

देशमा विसंगतिको पहाड छ । आर्थिक विसंगति, सामाजिक विसंगति र सबैभन्दा धेरै राजनीतिक विसंगति । अब रवि लामिछानेले यस्ता विसंगतिको अन्त्यका लागि पहिलेजस्तो बोलेर होइन काम गरेर देखाउनुपर्छ र जनतालाई परिवर्तनको आभास दिलाउनुपर्छ । हिजो देश र विदेशमा रहेका नेपालीको दुःख र गुनासो सरकारसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका रवि लामिछाने स्वयं आज सरकारमा छन् । जिम्मेवार पदमा छन् । अब उनैले त्यस्तो दुःख र गुनासो सुनेर त्यसलाई समाधान गर्नुपर्नेछ तर एउटा संशय भने जनताको मनमा उब्जेको छ ।

हिजो संसदीय चुनावको उम्मेदवार बनेर चुनाव लड्दै गर्दा पुराना र परम्परावादी राजनीतिक पार्टी र नेतालाई कहिल्यै समर्थन गर्ने छैन भनेका रवि लामिछाने आज तिनै पुरानै नेताको नेतृत्वमा बनेको सरकारमा सामेल भएका छन् ।

त्यो के हो भने हिजो संसदीय चुनावको उम्मेदवार बनेर चुनाव लड्दै गर्दा पुराना र परम्परावादी राजनीतिक पार्टी र नेतालाई कहिल्यै समर्थन गर्ने छैन भनेका रवि लामिछाने आज तिनै पुरानै नेताको नेतृत्वमा बनेको सरकारमा सामेल भएका छन् । कतै उनले पनि पुराना नेताले जस्तै सत्ताका लागि आफ्नो इमानलाई बिर्सने हुन् कि ? देशमा व्याप्त आर्थिक, सामाजिक र राजनीतिक विसंगतिबाट वर्षौंदेखि जनता प्रताडित हँदै आएका छन् । जनतालाई यस्तो प्रताडना दिने काममा अरू कोही होइन, यही देशको सरकार, प्रशासन र न्यायालय जिम्मेवार छन् ।

देशको सरकार, प्रशासन र न्यायलयको कार्यसम्पादन शैलीबाट वाक्कदिक्क भएर लाखौं नेपाली युवा उचित अवसरको खोजीमा विदेशिएका छन् । अझै विदेशिनका लागि भिसा-पासपोर्टका लागि लाखौं युवा लामबद्ध छन् दूतावास र जिल्ला प्रशासन कार्यालयमा ।

अब रवि लामिछानेले यस्ता युवालाई स्वदेशमै रोक्न भूमिका निर्वाह गर्नुपर्छ । ती युवालाई यहीँ रोजगार र स्वरोजगार भएर उत्पादन कार्यमा लाग्ने र देशलाई समृद्धि यात्रामा अग्रसर गराउने काममा लगाउनुपर्छ । देशमा जहाँसुकै आर्थिक अनियमितता छ । भ्रष्टाचारको जालो जतासुकै फैलिएको छ । ठेकेदारले बढी नाफा खाएर कमसल काम गर्छ । कर्मचारीले सेवाग्राहीलाई दिनुसम्मको सास्ती दिन्छ । घुस नखाई यताको फाइल उता सार्दैन । पुलिसले चोरलाई बचाउँछ । न्यायाधीशले पैसामा कानुनको मोलमोलाइ गर्छ ।

अख्तियारले ने भ्रष्टचारीलाई संरक्षण गर्छ । यस्ता चरम बेथिति र विसंगति अन्त्यका लागि रवि लामिछाने र उनीजस्ता जुझारु युवा सांसदले जिम्मेवार भएर काम गर्नुपर्छ । रवि लामिछानेबाट जनताले धेरै आशा, भरोसा र विश्वास गरेका छन् । तर संशयचाहिँ बाँकी नै छ । भर्खरै सत्ताको स्वाद चाख्ने मौका पाएका रवि लामिछानेले नेपाली जनताका आशा, भरोसा र विश्वासलाई शिरोपर गरेर काम गर्लान् ? अथवा पुरानै प्रवृत्तिको भिडमा मिसिन जालान् ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?