बागमती प्रदेशसभा सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौंडा । बागमती प्रदेशसभा सभामुख चयनका लागि आज (बिहीबार) उम्मेदवारी दर्ता हुँदैछ । पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो।

सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गते नै सुरु गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरी एक दिन पछि सारिएको थियो । बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनका लागि बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्ममा मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिनुभयो । सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुनेछ ।

प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने हुनुभएको छ । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।

सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले भने आज (बिहीबार) मात्र दलको बैठक बसेर उपसभामुखका उम्मेदवार चयन गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?