मेस्सी फर्किएको खेलमा पिएसजीको जित

Read Time = 3 mins

पेरिस । लियोनेल मेस्सी विश्वकपपछि फर्किएको खेलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा एन्जर्समाथि २-० को जित हात पारेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीका लागि हृयुगो इकिटिक र मेस्सीले एक-एक गोल गर्नुभयो । खेलको पाँचौँ मिनेटमा हृयुगो इकिटिकले गोल गर्दै पिएसजीलाई पहिलो हाफका १-० को अग्रता दिलाउनुभएको थियो । ७२औँ मिनेटमा मेस्सीले टोलीका लागि दोस्रो गोल गर्नुभयो । विश्वकपपछि पिएसजीले योसहित चार खेल खेलिसक्दा मेस्सीले पहिलो खेल खेल्नुभएको हो ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स आठ अंक जोडेर पुछारमा छ ।

लिग वानमै नाइसले मोन्टपेलिएरलाई ६-१ ले पराजित गरेको छ । यस्तै, मार्सेले ट्रोएसलाई २-० ले पराजित गरेको छ । लोरिएन्ट र मोनाको तथा स्टार्सवर्ग र लेन्सले समान दुई-दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यता, म्यानचेस्टर सिटी साउथहृयाम्टनसँग २–० ले पराजित हुँदै काराबाओ कपको क्वाटरफाइनलबाटै बाहिरियो । सेन्ट मेरिज स्टेडियममा सिटीलाई स्तब्ध पार्न घरेलु टोलीका सेकोउ मारा र मोउसा जनेपोले गोल गर्नुभयो ।

खेलको २३औँ मिनेटमा सेकोउ माराको गोलबाट साउथहृयाम्टनले १-० को अग्रता लियो । २८औँ मिनेटमा मोउसा जनेपोले गोल गर्दै साउथहृयाम्टनको अग्रता दोब्बर पार्नुभयो । यसअघि म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?