सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

थुनामा पठाउने जिल्ला अदालतको आदेश बेरितको भएको ठहर

यज्ञराज पाण्डे
Read Time = 7 mins

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दाविरुद्ध उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश नमिलेको भनी धरौटीमा छाडेर पुर्पक्ष गर्न आदेश दिएको हो ।

कागजी प्रक्रियाका लागि बिहीबार समय नहुँदा सन्दीप शुक्रबार मात्रै छुट्ने
धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा लामिछाने शुक्रबार मात्रै थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिए पनि समय अभावका कारण उनी शुक्रबार मात्रै थुनामुक्त हुने भएका हुन् ।
लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर, काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिए पनि उक्त आदेश काठमाडौं जिल्ला अदालत हुँदै कारागार कार्यालयमा आइपुग्नुपर्छ ।

बिहीबार ढिलो गरी आदेश आएका कारण यी सबै प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले शुक्रबार मात्रै कागजी प्रक्रिया पूरा गरी लामिछाने रिहा हुने भएका हुन् ।

लामिछानेले पीडितसँग सम्पर्क गर्न नपाउने, सम्पर्क गरे फेरि थुनामा पठाइने
उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान सन्दीप लामिछानेलाई पीडितसँग सम्पर्क नगर्न पनि आदेश दिएको छ । १७ वर्षीया बलात्कार पीडित नाबालिगलाई सम्पर्क नगर्न अदालतले आदेश दिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभएको हो । उहाँका अनुसार यदि सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइने कट्टेलले बताउनुभयो ।

यस्तै, अदालतले उनलाई काठमाडौं उपत्यका पनि नछाड्न भनेको छ । छाड्नैपर्ने अवस्था भएमा भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो । इजलासले लामिछाने भाग्न सक्ने अवस्था नभएको, पीडितलाई हानि पु¥याउन सक्ने अवस्था नभएको लगायतका कारणले धरौटीमा छाड्न आदेश दिएको कट्टेलले बताउनुभएको हो ।

यसअघि, बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । तर, सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् । उमेरसम्बन्धी विवाद भएपछि इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो ।

यस्तो थियो घटना
राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो । प्रहरीका अनुसार काठमाडौंको एक कलेजमा प्लस टु अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरूबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।

सामाजिक सञ्जालमार्फत लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेको पीडितको भनाइ थियो । लामिछाने त्यसबेला टी-२० सिरिज खेल्न केन्या जाने तयारीमा थिए । अघिल्लो दिन ५ भदौमा नयाँ बानेश्वरस्थित होस्टलबाट लिएर भक्तपुर दरबार स्क्वायरबाट नगरकोटसम्म लगेको पीडितको बयान छ । नियतवश नगरकोटमा धेरैबेर अलमल्याएर अबेर मात्र काठमाडौं फर्काएको उनको भनाइ थियो ।
पिंगलास्थानस्थित होटल काठमाडौं इनमा आइपुग्दा राति ११ः५५ भइसकेको थियो । पीडितको भनाइमा उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर, लामिछानेले एउटा मात्र कोठा खाली भएको भन्दै कोठा नम्बर ३०५ मा दुवैजना बस्नुपर्ने बताएका थिए । त्यहीँ राति आफूमाथि दुईपटक जबरजस्ती करणी भएको पीडितको भनाइ छ ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान थालेपछि लामिछाने एक महिनासम्म फरार भएका थिए । पछि इन्टरपोलमा पनि उनीविरुद्ध नोटिस जारी भयो । इन्टरपोलले फ्लोरिडाको एक होटलमा उनलाई लोकेट गरेपछि लामिछाने ‘आत्मसमर्पण गर्ने’ भन्दै फर्किएर नेपाल आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?