धामीझाँक्री प्रथाका सकारात्मक र नकारात्मक पक्ष

त्यसो त तन्त्र साधना र मन्त्रहरूमा विश्वास गर्ने मानिसहरू संसारको जुनसुकै कुनामा रहेका छन् । कुरा कहाँका मानिसले यस्ता कुरामा कति मात्रामा विश्वास गर्छन् भन्ने हो । नेपालमा परम्परादेखि नै धामीझाँक्रीमा विश्वास गर्ने गरिएको छ । नेपालीहरू परम्परागत रूपमा अन्यत्रको भन्दा शिक्षामा पछि परेका कारणले यस्ता प्रथामा विश्वास गर्ने गरेका हुन् सक्छन् । तन्त्रमन्त्र मानवीय सभ्यतादेखि नै विकास हुँदै आएको परम्परा हो तर कतिपय अवस्थामा धामीझाँक्रीले बिरामीप्रति अमानवीय व्यवहार गरेको र बिरामीको मृत्युसमेत भएको पाइन्छ । गाउँघरमा शहरमा भन्दा बढी प्रचलनमा रहेको यो प्रथा अहिले विस्तारै शहरी क्षेत्रमा पनि फैलिइरहेको छ । शहरका विभिन्न ठाउँमा कोठा भाडामा लिएर झारफुक केन्द्रहरू सञ्चालन गरेको पाइन्छन् ।

मानिस विभिन्न रोगबाट ग्रसित भएर आधुनिक चिकित्सा प्रणालीअनुसार उपचार गर्दा निको नभएपछि अन्तिम सहाराका लागि धामीझाँक्रीको शरणमा पुग्ने गर्छन् । यस्तो अवस्थामा अशिक्षितमात्र होइन पढेलेखेका मानिसले पनि यही बाटो समातेको पाइन्छ । केही धामीहरूले बिरामीलाई बोक्सी लागेको भनेर कुटपिट गर्दा, सिस्नो लगाउँदा, तातो पानी वा भुत्भुते खन्याइदिँदा बिरामी र बोक्सीको आरोप लागेकाहरू मरेका र घाइते भएका केही उदाहरण छन् । यस अर्थमा यस्ता कार्य तिनीहरूको अज्ञानता र ज्यादती हो । कसैप्रतिको व्यक्तिगत रिस फेर्ने मौका हुनसक्छ यो तर यस प्रथाका केही राम्रा पक्ष छन् । धामीले जडिबुटीको प्रयोग गरी बिरामीको उपचार गर्ने गरेका छन् र यसबाट बिरामी निको भएका पनि छन् । अर्कातिर यो उनीहरूको पेशा हो । केही न केही काम गरेर खानुपर्ने बाध्यतामा मानिस रहेका हुन्छन् ।

त्यही क्रममा उनीहरूले यस्तो पेशा अपनाएका हुन्छन् । कुनै पेशा नभएको मानिसले जीउपालन गर्न नकारात्मक बाटोसमेत अपनाउनुपर्ने हुन्छ । यस प्रथाले केही मानिसलाई पेशाप्रति संबद्ध गराएर राखेको छ । हालका दिनमा केही धामीझाँक्रीले ‘यो मैले गर्ने उपचार होइन यस बिरामीलाई अस्पताल लैजानुस्’ भन्ने सल्लाह र सुझाब दिने गरेका छन् । यसलाई उचित मान्नुपर्ने हुन्छ । यसबाट एकातिर उनीहरूबाट सही परामर्श बिरामीले पाउँछन् भने अर्कातिर उनीहरूप्रति मानिसहरूको विश्वास कायम रहिरहन्छ । धामीधाँक्रीबाट बिरामीले जुन सल्लाह पाउँछन् त्यसले बिरामीलाई मनोवैज्ञानिक प्रभाव पर्छ । मनोचिकित्सकले गर्ने उपचारकै प्रारम्भिक उपचार धामीझाँक्रीबाट हुन्छभन्दा अन्यथा नहोला । यसैगरी धामीझाँक्रीहरू भनेका हाम्रो समाजका कलाकार हुन् । उनीहरूले धामी बस्ता (चिन्ता बस्ता) लगाउने पहिरन कुनै प्रतियोगितामा भाग लिने कलाकारहरूकै जस्तो हुन्छ ।

शिरमा लगाउने पगरी, टोपी, दुम्सीका काँडाबाट कलात्मक रूपमा बनाइएको हुन्छ । जीउमा लगाउने सेतो जामा र कसैकसैले इष्टकोट रातो वा सेतो फेटा पनि लगाउँछन् त्यसमा कलाकारिता छ । उनीहरूले ड्यांग्रो बजाउने शैली, त्यसका आधारमा ताममा ताल मिलाएर गरिने नृत्य, त्यसैसँग मिलाएर प्रस्तुत गरिने गीतको लय वा कायाकैरन र उनीहरूबाट हुने बक्ने काम ती सबै कला हुन्, कलाका विभिन्न रूपमा उनीहरूका यस्ता कार्य पर्दछन् तथापि तिनमा केही अन्धविश्वास मिसिएको होला । मानिसको कुनै अंगमा असाध्य रोग लाग्यो धने त्यही अंगलाई मात्र काटेर फाल्नुपर्छ । मानिसलाई नै समापत पार्ने काम गर्नु हुँदैन ।

त्यसरी नै हाम्रो समाजमा विद्यमान रहेको धामीझाँक्री प्रथामा सम्पूर्ण रूपमा खराबीमात्रै छन् भन्ने ठान्नु उचित होइन, तिनका राम्रा र नराम्रा पक्षलाई पर्गेलेर नराम्रा पक्षहरूमा सुधार गर्दै राम्रा पक्ष विशेषगरी उनीहरूको कलाकारितालाई संरक्षण र प्रबद्र्धन गर्न सके त्यो हाम्रो पर्यटक आकर्षण गर्ने एउटा माध्यम बन्न सक्छ । यस सन्दर्भमा पाश्चात्य विद्वानहरूले नेपालको धामीझाँक्री प्रथाका बारेमा विद्यावारिधि गरेको सन्दर्भलाई समेत संस्मरण गर्नु सान्दर्भिक हुन आउँछ । धामीझाँक्रीबाट अन्धविश्वासलाई बढावा दिनु उचित होइन तर समयसापेक्ष रूपमा आपूmलाई परिवर्तन गर्दै लाने र आफ्नो प्रतिष्ठा जोगाएर आफ्नो कलाकारितालाई संरक्षण गर्नुलाई अनुचित हो भन्न मिल्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?