वाम एकताको औचित्य

Read Time = 14 mins

✍️ श्रीमन नारायण

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित पराजय भोगेपछि वाम-समाजवादी दलहरूले आ-आफ्नो ढंगले एकताको पहल थालेका छन् । पार्टी एकताको आवश्यकतालाई महसुस गर्ने माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले यसको निम्ति कार्यदल गठन गरेका छन् । पार्टीका नेताहरूबीच औपचारिक-अनौपचारिक संवाद जारी छन् । सैद्धान्तिक रूपमा मूलतः कम्युनिष्ट पार्टी एकै ठाउँमा हुने भए नेतृत्व र जुँघाको लडाइँले विभिन्न हाँगाबिगामा विभाजित छ । विगत ७३ वर्षको इतिहासमा कम्युनिष्ट पार्टीहरू ७३ पटक विभाजित हुनु नै नेपाली कम्युनिष्ट नेताहरूको व्यक्तिको सर्वोच्चताको लडाइँ र अहंकारलाई दर्शाउँछ ।

पार्टी एकीकरण ठूलो कुरा होइन, यसको स्थायित्व महत्वपूर्ण हो । के कारणले नेपालका कम्युनिष्ट पार्टीहरू पटक-पटक विभाजित भएका छन्, त्यसको जरोसम्म नपुगी केवल क्षणिक आवश्यकतालाई महसुुस गरी पार्टी एकताका लागि गरिने प्रयास कहिल्यै परिणाममुखी सावित हुनेछैन । पार्टी गठन र पार्टी एकीकरणसँगै यसको विभाजनको बीजारोपण भइरहने अवस्था कायम रहुन्जेलसम्म पार्टी एकताको प्रयास बालुवामा पानी हाले सरह नै सावित हुनेछ ।

पार्टी एकता भए सात वर्षपछि दाहाल र भट्टराई एउटै पार्टीमा हुनेछन् । २०७२ मा माओवादी मुख्यालय पेरिसडाँडलाई भूकम्पमा भत्किएको रातो घर’ को संज्ञा दिएर भट्टराई बिदा भएका थिए । उनले पछि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै ‘नयाँ शक्ति’ पार्टी खोले ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले वामपन्थीसँग एकताका लागि छलफल गर्न एउटा कार्यदल नै बनाएको छ । विचार मिल्ने दलहरू एक ठाउँमा आउनुको विकल्प नरहेको भन्दै यस पार्टीले प्रारिम्भक रूपमा एमाले, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा र नेकपा बहुमतलगायत दलसँग छलफल गर्ने भएको छ । हालै पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने विषयमा सहमति भइसकेको बुझिन्छ ।

पार्टी एकता भए सात वर्षपछि दाहाल र भट्टराई एउटै पार्टीमा हुनेछन् । २०७२ असोज ९ मा माओवादी मुख्यालय पेरिसडाँडलाई भूकम्पमा भत्किएको रातो घरको संज्ञा दिएर त्यहाँबाट भट्टराई बिदा भएका थिए । उनले पछि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी खोले । उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमसित आफ्नो पार्टीको एकीकरण पनि गरे तर त्यहाँ पनि उनी लामो समयसम्म टिक्न सकेनन् । कहिले उपेन्द्र यादव त कहिले महन्त ठाकुरको मातहत काम गर्ने अवस्थालाई पनि पचाउन उनलाई गाह्रो भइसकेको थियो । बाध्य भएर जनता समाजवादी पार्टीलाई फुटाएर नयाँ पार्टी गठन गरे ।

हाल नेकपा माआवादी केन्द्रलाई नेता चाहिएको छ जबकि बाबुराम भट्टराईलाई संगठन भएको पार्टी चाहिएको थियो र दुवै पार्टीबीच एकता भइरहेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले पनि संसदमा प्रतिनिधित्व गर्ने वाम-समाजवादी पार्टीसँग पार्टी एकता वा कार्यगत एकताको विषयमा छलफल गर्ने भएको छ । माओवादी, जसपा, जनमोर्चा, नेकपालगायत दलसँग यस सम्बन्धमा वार्ताका लागि पार्टीले कार्यदल गठन गरेको छ । विचार मिल्ने दलसँग एकता हुने निष्कर्ष निकालेको यस पार्टी र नेकपा एमालेबीच तत्काल एकताको सम्भावना देखिएको छैन ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसित यस पार्टीको एकीकरणको विषयले निकै चर्चा पाएको छ तर यसको आधिकारिक रूपमा पुष्टि हुन् सकेको छैन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि आफ्नो ढोका खुल्ला राखेको भए पनि यसलाई आफ्नो कमजोरी ठान्न नहुने् चुनौती पनि दिन्छन् । नेपालको राजनीतिमा आदर्श, सिद्धान्त र नैतिकताको कुरा गर्ने गिनेचुनेका केही नेतामध्येमा उनको स्थान सर्वोपरी छ । हिजो पुष्पलालले पाँचजनालाई लिएर पार्टी बनाउनुभएको थियो । ‘२०३२ सालमा हामीले आठजनालाई लिएर कोअर्डिनेसन केन्द्र बनाएका थियौँ ।

आज त हामीसँग देशभर हजारौँ-हजार कार्यकर्ता छन् । सबै वर्गका जनताको माझमा हामी पुगेका छौँ । यसै समितिलाई राम्ररी संगठित र परिमाजित गर्ने हो भने नेपालको कम्युनिष्ट आन्दोलनमा नेपाली राजनीतिमा नयाँ प्रकृतिको संगठन बनाउन सक्छौँ’ भन्दै उनले आफ्नो पार्टी राष्ट्रिय पार्टीको मान्यता नपाएकोमा अलिकति पनि विचलित छैनन् । अध्यक्षको साहस, धैर्य र सुझबुझले पार्टीलाई बलियो संगठनको रूपमा स्थापित गर्न सक्दछ । डेढ दशकसम्म नेकपा एमालेलाई कुशल नेतृत्व प्रदान गरेका माधवकुमार नेपाल चुनाव परिणामबाट अलिकति दुःखी छैनन् । पार्टीका नेता र कार्यकर्ताले धैर्यपूर्वक प्रतिपक्षमा बस्ने साहस जुटाउन सकेमा माधवकुमार नेपाललाई आफ्नो पार्टीलाई बलियो बनाउनमा त्यति समस्या हुनेछैन ।

किनभने गिरिजाबाबुपछि राजनीतिक अडान भएका एक्लोे नेता उनीमात्रै छन् । विचार, सिद्धान्त र कार्यक्रम मिल्ने दलहरूले त्यसको आवश्यकता महसुस गरेमा पार्टी एकीकरण हुनसक्ने यस पार्टीको अडान मूलतः नेकपा एमालेतिर बढी लक्षित भएको देखिन्छ । पार्टीले अगाडि सारेका मूल्य-मान्यतासँग अर्को दलको मूल्य-मान्यता, सिद्धान्त, नीति र विचार मिल्ने भए पार्टी एकीकरणको विषयमा छलफल हुनसक्ने यस पार्टीको धारणाले नेकपा एमालेसित तत्काल पार्टी एकता गर्न नचाहेको संकेतको रूपमा बुझ्न सकिन्छ । माधवको स्वीकार्यता नेपाली राजनीतिमा आज निर्विकल्प रहेको छ ।

कटाक्षमार्फत आफ्ना विरोधीमाथि चोटिलो राजनीतिक प्रहार गर्नमा महारथ हासिल गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलहरूबीच एकताको आहृवान गरेका छन् । तर, उनको शर्त सबैका निम्ति स्वीकार्य नहुन सक्दछ । नेकपा एमालेका अध्यक्ष ओलीले ‘वामशक्तिलाई एकताबद्ध बनाउनुपर्छ, त्यसका लागि हामीले राजनीतिक पार्टीहरूको संवाद अगाडि बढाएका छौँ । यदि विचार नीति मिल्छ भने पार्टी एकता हुन्छ । कुन पार्टीसँग एकता हुन्छ, ती पार्टीको सहयोग गर्नेछौँ । कुन पार्टीसँग हाम्रो मोर्चा बन्न सक्छ, त्यसको पनि खोजी गर्नेछौँ ।

नेपालमा कम्युनिष्टको पार्टी विभाजनको औचित्यलाई थप पुष्टि गर्ने क्रममा एकातिर कम्युनिष्ट पार्टीलाई विभाजित बनाउने अर्कोतिर क्रान्तिबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउँदै राष्ट्रलाई प्रतिगमनतिर लैजाने कदमविरुद्ध हामीले विद्रोह गर्न त्यसलाई संस्थागत गर्न नयाँ कम्युनिष्ट पार्टी खोल्नु परेको हो भन्ने दाबी गर्ने गर्दछन् ।

हामी अब निरन्तर संवादमा बढ्नेछौँ’ भन्ने टिप्पणी गरी एक किसिमले आफूलाई पनि पार्टी एकताको पक्षधर नै रहेकोे साबित गर्ने प्रयास ओलीले गरेका छन् । विगतका दिनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उनले एकीकृत माओवादी पार्टीका नेताहरूसित गरेको व्यवहारलाई ती नेताहरूले बिर्सिसकेका छैनन् होला । नेकपा विभाजित हुँदा आफ्नो मूल पार्टीमा नगई नेकपा एमालेमै रहेका रामबहादुर थापा र लेखराज भट्टहरू अहिले कुन अवस्थामा छन् त्यसको सहजै अनुमान गर्न सकिन्छ । सम्झौतावादी भएर नेकपा एमालेमै बस्ने निष्कर्षमा पुगेका वामदेव गौतम, भीम रावल र धनश्याम भुसालहरूले कसरी पार्टीमा उपेक्षापूर्ण अवस्थाको सामना गर्नुपर्‍यो त्यसको स्मरण पनि कतिपय नेताहरूलाई भएको हुनुपर्छ ।

तसर्थ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शर्तअनुसार एमालेसित एकीकरण गर्न चाहने नेता र पार्टीहरूले अवश्य इतिहासको समीक्षा गर्नेछन् । कम्युनिष्ट पार्टीभित्र उत्पन्न र हावी भएको दक्षिणपन्थी अवसरवाद, सामन्ती सर्वसत्तावादी र अहंकारी प्रवृतिविरुद्ध विद्रोह गरेर नयाँ पार्टी गठन गरिएको भन्दा पार्टी विभाजनको औचित्य पुष्टि गर्दै पार्टी गठन हुँदै आएको छ । नेपालमा कम्युनिष्टको पार्टी विभाजनको औचित्यलाई थप पुष्टि गर्ने क्रममा एकातिर कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाउने, कम्युनिष्ट पार्टीलाई विभाजिन बनाउने अर्कोतिर क्रान्तिबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउँदै राष्ट्रलाई प्रतिगमनतिर लैजाने कदमविरुद्ध हामीले विद्रोह गर्न त्यसलाई संस्थागत गर्न नयाँ कम्युनिष्ट पार्टी खोल्नुपरेको हो भन्ने दाबी गर्ने गर्दछन् ।

अरूको गल्तीको बेला स्वयं न्यायाधीश भएर निर्णय सुनाउने तर आफ्नो गल्तीका बेला वकिल भएर त्यसको सशक्त वकालत गर्ने शैलीको राजनीतिक र सामाजिक चिन्तन चारैतिर छ । यदि विचार, सिद्धान्त, नीति र कार्यक्रम नै सर्वोपरी हो भन्ने त नेपाल जस्तो देशमा दुई–तीनवटा पार्टी पनि यथेष्ट छन् तर जब राजनीतिको लक्ष्य नेतृत्व, सत्ता, पद, पैसा, परिवार कल्याण र निहित स्वार्थको पूर्ति हुन्छ अनि प्रत्येक पाइलामा पार्टी विभाजनको सम्भावना रहिरहन्छ । वामपन्थीदलको मत प्रतिशतमा ह्रास आएको छ । राप्रपा र रास्वपाका कारण वामपन्थी दलको धेरै राजनीतिक मुद्दा प्रभावहीन हुँदै गएका छन् । वामएकता नेपालका कम्युनिष्टहरूका निम्ति बाध्यता र आवश्यकता दुवै हुनेगरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?