४६ अर्ब शोधनान्तर बचत, चालु खाता ३८ अर्बले घाटामा

Read Time = 7 mins

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । रेमिट्यान्स आयमा वृद्धि र आयात घटेका कारण अर्थतन्त्रमा सुधार देखिएको हो तर आयातसँगै निर्यात पनि घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिना अर्थात् साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार आयात र निर्यात दुवै घटेको देखिएको छ भने रेमिट्यान्स आय बढेको देखिएको छ । त्यस्तै, चालु खाता झण्डै ३८ अर्ब अर्थात् ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ तर शोधनान्तर भने झण्डै ४६ अर्ब अर्थात् ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ । शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर एक खर्ब ९५ अर्ब एक करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिरमा ७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ । आव २०७९÷०८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँगको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २३.० प्रतिशतले वृद्धि भई चार खर्ब ८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई तीन अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

३४.६ प्रतिशतले घट्यो निर्यात
आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४.६ प्रतिशतले कमी आई ६७ अर्ब ३० करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०५.६ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, अलैंची, चियालगायतको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहनालगायत घटेको छ ।

आव २०७९÷०८० को पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई छ खर्ब ६४ अर्ब ७५ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । वस्तुगत आधारमा पेट्रोलियम, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाईजहाजका स्पेयर पाटर््सलगायतकोे आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्ट्स, एमएस बिलेट, चाँदी, औषधि, कच्चा सोयाबिन तेललगायतको घटेको छ । आव २०७९/०८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमी आई पाँच खर्ब ९७ अर्ब ४४ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.३ प्रतिशत थियो ।

मूल्यवृद्धि ७.३८ प्रतिशत
२०७९ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । अघिल्लोे वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ । खाद्य तथा खाद्यजन्य पदार्थ ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ९.०७ प्रतिशत र पेय पदार्थ ८.८४ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ मंसिर महिनामा यी क्षेत्रमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?