राष्ट्रियसभा बैठक : सुशासन र समृद्धिको लागि राष्ट्रिय सहमति आवश्यक रहेको सांसदहरूको जोड

विश्वासको मतबारे एमाले र कांग्रेसबीच घोचपेच

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय एकता कायम गर्दै मुलुकमा सुशासन र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले विगतमा सबै राजनीतिक दलले अघि सारेको साझा एजेण्डामा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले देशमा सुशासन कायम गर्ने सबै राजनीतिक दलले अघि सारेको साझा एजेण्डा सुशासन र समृद्धिको मुद्दाले सार्थकता नपाएको टिप्पणी गर्दै संविधान बनाउँदा कायम भएको राजनीतिक सहमतिलाई कायम राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारको भावनाअनुरूप सहमतिका आधारमा ल्याइएको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रिय एकता, सहकार्य, सुशासन र स्थिरताजस्ता आधार पूरा गरेर मात्रै समृद्धिको मिसन पूरा हुनसक्ने र राजनीतिक दलहरू विगतमा जस्तै आरोप प्रत्यारोपमा नलागेर मुलुकको चौतर्फी विकासको लागि एकजुट हुनुपर्ने सांसद शर्माको भनाइ थियो । विशेष समयमा बोल्दै जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले राष्ट्रिय सहमति कायम गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आजको स्थिति बिग्रिनुमा भूमिका खेल्ने केपी ओली हुन् : गौतम
नेकपा एमालेका पूर्व–उपाध्यक्ष एवं राष्ट्रियसभाका सांसद वामदेव गौतमले मुलुकको आजको राजनीतिक स्थिति बिग्रिनुको मुख्य कारक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले भन्नुभयो, ‘जुन आजको स्थिति बिग्रेको छ भनिन्छ । त्यसको निम्ति मूल कृष्ण बनेर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष, पात्र त प्रचण्ड नै हो । यसपटक हाम्रो देशमा घटेको राजनीतिक महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली हुन् । तर, मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’

राष्ट्रियसभा सदस्य गौतमले राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको समेत टिप्पणी गर्नुभयो । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले भन्नुभयो, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ । ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको छ ।’

कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने गरेको निर्णय सकारात्मक रहेको दाबी गर्दै गौतमले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्न मिल्ने जिकिर गर्नुभयो ।

कांग्रेसले विश्वासको मत दिएर लोकतन्त्रको उपहास गर्‍यो : श्रेष्ठ
नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएर लोकतन्त्रको उपहास गरेको आरोप लगाउनुभएको छ । शुक्रबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकारसँग विश्वासको सुविधाजनक प्राप्त मत हुँदाहुँदै पनि कांग्रेसले विश्वासको मत दिएको भन्दै आपत्तिसमेत जनाउनुभयो । सरकारलाई असफल पार्नका लागि विश्वासको मत दिएको आरोप लगाउनुभएका सांसद श्रेष्ठले एमाले वामपन्थी सरकार बनाउन सफल भएको दाबी गर्दै भन्नुभयो, ‘कांग्रेसले निकास दिन सक्दैन । शेरबहादुर देउवाजीले धोका दिनुभयो भन्ने लागिसकेपछि उहाँहरू अर्को गठबन्धनका लागि तयार हुनुभयो । त्यस कुरालाई एमालेले स्वीकार गरेर अहिले सातदलीय गठबन्धनको सरकार बनेको छ ।’

संविधान बचाउन कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको हो : देव
नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले संविधान बचाउनका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको जिकिर गर्नुभएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद देवले कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गुण र दोषका आधारमा भएको प्रष्ट पार्नुभयो । सांसद देवले देशको राजनीतिक स्थिति संकटपूर्ण भएको उल्लेख गर्दै संविधान बचाउनुपर्ने राजनीतिक आवश्यकताका आधारमा नेपाली कांग्रेसले परिपक्व निर्णय लिएको दाबी गर्नुभयो । प्रतिपक्षमा बसेर विश्वासको मत दिनुलाई अन्यथा लिन नहुने जिकिर गर्दै सांसद देवले भन्नुभयो, ‘यो मुलुकमा प्रचण्डलाई पुष्पकमल दाहाल बनाउने प्रयत्न भइराखेको छ । हामीले त्यसलाई चिर्न खोजेका हौँ । प्रचण्डलाई प्रचण्डकै रूपमा, युगान्तकारी परिवर्तनको रूपमा चिनाउनका लागि कांग्रेसले विश्वासको मत दिएको हो । गिरिजाप्रसाद कोइरालादेखि संविधान निर्माणमा प्रचण्डलाई साथमा लिएको स्मरण गराउन चाहन्छु ।’ उहाँले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी लगायतलाई तत्काल रिहाइ गर्न पनि सरकारसँग माग गर्नुभयो । टीकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौधरी लगायतका बन्दीहरूलाई तत्काल रिहाइ गरेर सरकारले न्याय दिनुपर्ने उहाँको तर्क छ ।

राष्ट्रियतामाथि खतरा बढेकाले सरकारलाई विश्वासको मत दिएका हौँ : राई
नेकपा एकीकृत समाजवादीकी नेतृ एवं राष्ट्रियसभा सदस्य जयन्ती राईले अहिलेको सरकारमा राष्ट्रियता, लोकतन्त्र, धर्म निरपेक्षता विरोधीहरूको सहभागी हुँदा राष्ट्रियतामाथि खतरा बढेको र त्यो खतराबाट मुलुकलाई जोगाउन सरकारलाई विश्वासको मत दिएको जिकिर गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले हजारौँको बलिदानबाट प्राप्त भएको संविधान कार्यान्वयन गर्न चुनौती रहेको समेत दाबी गर्नुभयो । जनताले राजनीतिक पार्टीको विकल्प खोजिरहेको राईको भनाइ छ । हिजोको सरकार र आजको सरकारसँग जनताको थुप्रै आशा अपेक्षा रहेको बताउँदै सांसद राईले सरकारमा गठबन्धन दल र समर्थन बढ्नु राम्रो पक्ष भएको बताउनुभयो । कसैको विचार र पार्टीमाथि हस्तक्षेप गरी गाली गर्ने कुरा गलत संस्कार रहेको टिप्पणी गर्दै सांसद राईले सरकारलाई गुण र दोषका आधारमा हेर्ने र सरकारको नीति तथा कार्यक्रमलाई हेरेर समर्थन गर्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रियसभा उपनिर्वाचनको लागि आठ दलको निवेदन दर्ता
आगामी माघ २५ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा भाग लिन आठ राजनीतिक दलले निवेदन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उपनिर्वाचनका लागि २५ देखि २८ पुस सम्मको समय निर्धारण गरेको थियो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आठवटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रियसभा सदस्यको एक पदको उपनिर्वाचन हुन लागेको हो । आयोगका अनुसार बिहीबार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएका हुन् । यसअघि नेकपा एकीकृत समाजवादी र बहुजन शक्ति पार्टीले निवेदन दर्ता गराएका थिए । आयोगले उपनिर्वाचनका लागि ११ माघमा उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?