काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको हस्तकला उद्योगलाई देशैभर विस्तार गरिने बताउनुभएको छ । हस्तकलाको राम्रोसँग प्रवद्र्धन गर्न सके देशको गम्भीर व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन सकिने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । शुक्रबार आयोजित नेपाल हस्तकला महासंघको ४२औँ वार्षिक साधारणसभामा स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सीप प्रयोग गरी विश्वभर व्यापार गर्न सकिने हस्तकला क्षेत्रको प्रवद्र्धनमा सरकारले जोड दिने उहाँले बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हस्तकला क्षेत्र विकासको अर्गानिक क्षेत्र हो । नेपालकै वस्तु प्रयोग गरेर, नेपालीहरूकै सीप र जाँगर प्रयोग गरेर विश्वभर व्यापार गर्न सकिने र प्रतिदिन बढाउँदै लैजान सकिने एउटा असीमित सम्भावना भएको क्षेत्र हो हस्तकला । यसबाट एकातिर व्यापार सन्तुलन र अर्कातिर नेपाली मौलिकतालाई विश्वभर प्रचार र विस्तार गर्न सकिन्छ । त्यसैले विद्यालयको पाठ्यक्रममा नै हस्तकला राखेर पुस्तान्तरण गर्न सरकार लाग्नेछ ।’
हस्तकलालाई शिक्षा क्षेत्रमा प्रवेश गराई पुस्ता हस्तान्तरणलाई सहज बनाउने र ११ लाख प्रत्यक्ष र परोक्ष सदस्य बढाउँदै लैजाने उद्देश्यका साथ हस्तकला बजेटको व्यवस्थापन हुने पनि उहाँले बताउनुभयो ।
निजी क्षेत्रलाई राम्रो विश्वासमा नलिई सरकारले अर्थतन्त्रका समस्याको समाधान गर्न नसक्ने स्वीकार गर्दै प्रधानमन्त्री दाहालले आफूले यसपटक राम्रा बाहेकका काम गर्दै नगर्ने प्रण लिएकोले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनले हामीलाई मिलेर जाने जनमत दिएको छ । कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले दिएका छैनन् । हामी इमानदार भएर जनताको पक्षमा राम्रो काम गरेनौँ भने यो परीक्षामा चुक्छौँ ।’
हस्तकलालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने महासंघको माग
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला प्रवद्र्धन सके नेपाली मौलिकताका वस्तु निर्यात गर्न सकिने भन्दै हस्तकलालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले आयात निर्यातको दूरी फराकिलो भई निकै असन्तुलित व्यापारिक अवस्था हुँदा पनि सरकार देशको निर्यात बढाउन संवेदनशील नभएको बताउनुभयो । अध्यक्ष शाक्यले निर्यात व्यापार मात्र केन्द्रित हुने र व्यवसायीका समस्या सम्बोधन सहजीकरण गरिदिने छुट्टै निकासी व्यापार विभाग गठनको माग गर्नुभयो ।
त्यसैगरी, निर्यात प्रोत्साहन अनुदान प्राप्त गर्ने प्रक्रिया र कार्यविधिमा सरलीकरण गरिनुपर्ने, खासगरी लघु तथा साना उद्यामी व्यवसायीले सहज रूपमा नगद प्रोत्साहन पाउने व्यवस्था गरिनुपर्ने, निर्यात हुने काष्ठजन्य हस्तकला र सिपिङ कन्टेनर फुमिगेट गरी फुमिगेट प्रमाणपत्र जारी गर्ने व्यवस्था हुनुपर्ने, काष्ठजन्य हस्तकलाको गुणस्तर सुधारका क्रममा त्यस्ता वस्तुको दिगोपनका लागि सिजनिङ गर्न उड सिजनिङ प्लान्ट र धातु मूर्ति ढलाईका लागि फर्नेस राख्न महासंघलाई बजेटसहितको व्यवस्था गरिदिनुपर्ने उहाँले माग गर्नुभयो ।
त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलहरू, भन्सार कार्यालय लगायतलाई निर्यातमैत्री बनाइनुपर्ने, अन्तर्राष्ट्रिय व्यापारमा सलग्न सरोकारवालाबीच समन्वय गरी व्यापार प्रक्रिया अनलाइनबाट एउटै मञ्चमा सञ्चालन गर्न र व्यापार तथा भन्सार प्रक्रिया सरलीकरण गर्न विकास गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा बढीभन्दा बढी निर्यातकर्ता उद्यमी व्यवसायीलाई सुसूचित र सक्षम बनाउँदै जानुपर्ने, अनलाइन व्यापार प्रवद्र्धनका लागि नेसनल पेमेन्ट गेट वे लाई यथाशीघ्र विकास गरी हस्तकला निर्यात व्यापार अनलाइन प्रविधिबाट गर्न सरल कार्यविधि तर्जुमा गरिनुपर्ने, अनलाइन प्रविधिमार्फत नेपाल सरकारका निकायहरूमा पनि कारोबार गर्न सकिने व्यवस्था हुनुपर्ने, अनलाइन कारोबारबाट विदेशी मुद्रा प्राप्त हुँदा आयातकर्ताले कारणवश सामान फिर्ता गरेको अवस्थामा फिर्ता पठाएको सामानको मूल्य बराबरको विदेशी मुद्रा नै फिर्ता पठाउन सक्ने व्यवस्था हुुनुपर्ने महासंघको माग छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गराई सो सेवा उपयोग गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिन्ह (कलेक्टिभ टे«डमार्क) को विकास र प्रचार प्रसारमा सघाउनुपर्ने, स्वदेशी उद्योग प्रवद्र्धनका लागि निजामती कर्मचारी, नेपाली, सेना, नेपाल प्रहरी, शिक्षक शिक्षिकाहरूले स्वदेशी कपडाबाट बनेको पोसाक अनिवार्य प्रयोग गर्ने गरी नीतिगत व्यवस्था गरिनुपर्ने, नेपाल सरकारका संघीय मन्त्रालय, विभाग, प्रादेशिक सरकारका मन्त्रालय, स्थानीय सरकार, विदेशस्थित नेपाली दूतावासलगायत सबै सरकारी निकायमा नेपाली हस्तकला वस्तु प्रयोग गरिनुपर्ने महासंघका माग छन् । सो अवसरमा उत्कृष्ट जिल्ला संघ, उत्कृष्ट वस्तुगत र सदस्यहरूलाई सम्मान पनि गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच