१०३ घरमा जस्तापाताको छानो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशकअगाडिसम्म बाक्लै खरका घरहरू भेटिन्थे । ढुंगा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घरहरू हुन्थे । परम्परागत घरका घर देख्दा निकै रमणीय लाग्थ्यो । तर, अहिले ती घरहरूले रूपरङ बदलेका छन् । जिल्लाको निसीखोला गाउँपालिकाका अधिकांश गाउँमा खरकै घरहरू हुन्थे । तर, अहिले ती घरहरू रंगिचंगी जस्तापाताले छाइएका छन् ।

गाउँपालिकाको खरका छानो हटाउने नीतिअनुसार जस्तापाता र ढुंगे घर बनिरहेका छन् । युवा शक्ति पलायन हुने, गाउँमा बालबालिका र बुढापाकामात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ । निसीखोला गाउँपालिका–३ की तुलसी विकले हरेक दुई-दुई वर्षमा घरको छानो फेर्दै आउनुभएको थियो । आर्थिक अभावमा गुज्रिँदै आउनुभएकी विकलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्न सकस हुन्थ्यो ।

वर्षौँदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आउनुभएकी विकको घरमा गाउँपालिकाले जस्तापाताको छानो हालिदिएपछि उहाँलाई ठूलो राहत मिलेको छ । वनबाट खर काटेर ल्याउने कोही नहुँदा आफू चुहिने घरमा चार वर्ष बसेको सुनाउँदै गाउँपालिकाले पुरानो खरको छानो हटाएर जस्तापाता हालिदिएपछि सहज भएको उहाँ बताउनुहुन्छ ।

‘खरको घर त निकै झन्झटिलो हुँदो रैछ, एकै वर्षमा खर कामै नलाग्ने गरी कुहिन्छ, दुई वर्ष नबित्दै नयाँ खरले छाउनुपर्छ, खरका लागि पर्याप्त खरबारी पनि छैन तर पनि छरछिमेकीको सहयोग लिएर बास छाउँदै आएकी थिएँ, अहिलेसम्म ढुंगा र टिनको घरमा बस्न पाएकी थिइनँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो सरकार, हाम्रो सरहरूले अहिले यति ठूलो गुन लगाउनुभयो, मत निकै खुसी छु, अब त बाँचुञ्जेल यो घरमा छानो फेर्न नपर्ला कि ?’

खरको समस्या हुँदा कति समय आफूले पानी चुहिने अवस्था हुँदासम्म पनि छानो फेर्न नसकेको नियति अब भोग्नुनपर्ने भएपछि स्थानीय उत्साहित छन् । वडा नम्बर ५ का तिलकुमार विक पनि गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिएपछि हर्षित हुनुहुन्छ । पुरानो घरमा खरले छाएर बस्दै आउनुभएका सुनारको घर अहिले जस्तापाताले छाएपछि नयाँ जस्तै बनेको छ । विक खरको घर जोखिम र झन्झटिलो भएको भन्दै गाउँपालिकाले जस्तापाता हालिदिएपछि आफूलाई अब सहज हुने बताउनुहुन्छ ।

‘अहिले त घर पनि राम्रो भयो, खरको घर समय-समयमा छानो फेरिराख्नुपर्छ, जसले खर्च बढ्ने, झन्झट हुने गथ्र्यो, जस्तापाता हालेपछि त धेरै वर्ष हुन्छ, म त निकै समस्यामा थिएँ, गाउँपालिकाले टिनको छानो हालिदिएपछि निकै खुसी लागेको छ,’ सुनारले भन्नुभयो, ‘अब त ढुक्क भइयो, कयौं वर्ष छानो फेर्न पर्दैन, आगलागी हुने डर पनि कम भयो, पहिले आगो लागेर सबै जलेको थियो, त्यसबेला त मेरो उठिबास नै लाग्यो, सबैले सहयोग गरेर अहिले यो अवस्थामा छु ।’

निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न तीस लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । अघिल्ला वर्षहरूमा १०३ घरमा जस्तापाताको छानो हालेको भन्दै यस वर्ष पनि बाँकी रहेका खरका घर विस्थापित गरी जस्तापाता हाल्ने उहाँको भनाइ छ ।

उहाँले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको भन्दै पूर्णरूपमा खरको घर विस्थापित नगर्दासम्म यो कार्यक्रम निरन्तर सञ्चालन हुने बताउनुभयो । गाउँपालिकाले सातवटा वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतका ३० जना गरी १०३ जनाको अघिल्लो पटक घर जस्तापाताले छाइएको र यस वर्ष गाउँपालिकाको ३० लाखले दुई दर्जन बढी खरका घरमा जस्तापाताको छानो हाल्ने गौतमले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रो पालिकामा धेरै गरिब तथा विपन्न परिवार छन्, उनीहरूको जस्तापाता तथा ढुंगाको छानो हाल्ने अवस्था छैन, त्यसले गर्दा गाउँपालिकाले नै जस्तापाताको छानो हाल्दिन थालेको हो, अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि बाँकी खरका घरहरूमा जस्तापाता हाल्ने हाम्रो योजना छ, अब केही समयमा त्यसको काम सुरु हुन्छ ।’

हरेक वडा कार्यालयबाट सिफारिस भएर आएका गरिब परिवारको घर जस्तापाताले छाइदिने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले पालिकाभित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना विस्थापित गरी जस्तापाता हाल्न माग भएअनुसार अब सबै खरका घर जस्तापाताले छाइने बताउनुभयो ।

खरको छानो भएको घर आगलागीको जोखिममा हुने र गाउँघरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाइ भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको उहाँको भनाइ छ । पछिल्लो समय गाउँमा बालबालिका र वृद्धवृद्धामात्रै हुन थालेपछि छानोमा खर फेर्न समस्या भइरहेको हुँदा उनीहरूलाई थोरै भए पनि राहत दिनका लागि गाउँपालिकाले खरको छानो विस्थापित अभियान सुरु गरेको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?