प्रसिद्ध तिर्थ परशुरामधाममा माघिमेला

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins
A A- A+

डडेल्धुरा । महाकाली नदीय तटमा अवस्थित प्रसिद्ध धार्मिक स्थल परशुरामधाम आईतवार ठूलो मेला लाग्ने भएको छ । डडेल्धुरा सदरमुकामबाट करिब एक सय किलो मिटर दुरीमा रहेको हिन्दुहरुको प्रसिद्ध तिर्थ परशुरामधाममा शनिवारबाटै चहलपहल बढेको छ भने आईतवार अथवा माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरि मेला हुने गर्दछ ।

हैयेयवंशि क्षेत्रियहरुले पिता जगदग्नीको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षेत्रियहरुको अत्याचार कम गर्न क्षेत्रिय विनास गरेको एक्कई पटक पृथ्वीको परिक्रमा गरि पृथ्वीलाई क्षेत्रि विहिन गरेपछि भगवान बिष्णुको छैटौं अवतार मानिने पर्शुरामले सरयू अथवा श्यामा महाकाली नदीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको संस्कृतिविदको भनाई छ ।

महांकालको जटावाट निस्केको मन्दाकिनि महाकाली नदीमा स्नान गर्नाले गङ्गा स्नान को भन्दा दश गुणा वढी पुण्य प्राप्त हुन जाने, परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले सय कुल विष्णु लोक जाने तीन लोकमा अति नै पवित्र तीर्थको रुपमा मानिने भएकाले यहाँ सुदूरपश्चिमका नौ जिल्ला लगायत भारतको उत्तराखंडका बिभिन्न स्थानबाट स्नान गर्ने भक्तजनहरु आउने गर्दछन ।

परशुरामका पिता जमदग्नीले तपस्या गरेको र परशुरामलाई चिरञ्जीविको वरदान दिईएको भगवान परशुरामले शिवजीको कठोर तपस्या पछि फर्सा (परशु) प्राप्त गरेको, भगवान परशुरामले आफ्नो फर्साले कुण्ड निर्माण गरेको फर्सा वरदान पाएको तीर्थ भएकाले तथा फर्सा बोकेका राम भगवान भएकाले फर्सा राम बाट फर्सनान हुँदै अप्रभंश भई पर्शुराम हुन गएको स्थानीय श्रुति पाईन्छ ।

धार्मिक साँस्कृतिक सामरिक सामाजिक र पर्यटकिय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रंगुन उपत्यकाको महत्वपूर्ण तिर्थस्थल परशुरामधाम स्वेदेशीहरुका लागी मात्र नभएर छिमेकी मुलुक भारतका तिर्थयात्रीहरुको लागी पनि प्रशिद्ध तिर्थस्थल हो । महाकाली गंगास्नानमा तीर्थयात्री भक्तजन मात्र नभई बिभिन्न देवस्थल र मन्दिर भण्डारबाट देवी देवताका प्रतिक मानिने देउरो स्नान गराई ग्रहण दोषबाट शुद्ध गराउने प्रचलन छ ।

पछिल्लो समय परशुराम नगरपालिकाको तर्फ बाट यस क्षेत्रको प्रचार प्रसारका लागी तिर्थ परिसरमा परशुराम भगवानको विशालमुर्ति निर्माण गरिए पछि आन्तरिक तथा बाह्य पर्यटन बृद्धि भएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?