डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी

हिमालय टाइम्स
Read Time = 3 mins

डोटी । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् ।

सुन्तला सरदर प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका-६ का वडाध्यक्ष गणेश बोहराले बताउनुभयो ।

“जोरायलबाट मात्र यस वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको छ”, उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । जिल्लामा गत आवमा २८५ हेक्टरमा दुई हजार पाँच सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष तीन सय १३ हेक्टरमा गरिएको खेतीबाट तीन हजार मेट्रिकटन सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो ।

जेरायल गाउँपालिका-१ को निरौली, बडीकेदार गाउँपालिकाको पातल, मुडा, रजेडा, छेडा, टिमिट्ट लाना, खेतालीलगायतका स्थानमा सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको छ । बडीकेदार गाउँपालिका-१ पातलबाट करिब ५० लाख बराबरको सुन्तला बिक्री भएको समैजी कृषि समूहका अध्यक्ष टेकबहादुर क्षेडालले बताउनुभयो । यसपाली प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको छ ।

बडीकेदार-१ वडाध्यक्ष डबल बोहरा सुन्तलाखेती हुने गाउँ सडक सञ्जालसित जोडिएका बताउनुहुन्छ । “गत वर्षभन्दा सुन्तला उत्पादन बढेको छ, मूल्य पनि राम्रै पाइएको छ”, उहाँले भन्नुभयो । सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखसम्म आम्दानी भएको बडीकेदार-४ का चक्र जेठराले बताउनुभयो । उहाँ १० वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिए पनि सुविधा पाउन नसकेको यहाँका कृषकले गुनासो गरेका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?