क्षमताको पहिचान र उपयोग गरौँ : राष्ट्रपति भण्डारी

हिमालय टाइम्स
Read Time = 3 mins

काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रह्माजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । ‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ, यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्नसक्नु नै प्रमुख आधार हो’, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवर्द्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्नसकिने बताउनुभयो । धार्मिक पर्यटन प्रवर्द्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रूपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाई दिँदै उहाँले प्रकृति र संस्कृतिको अतुलनीय सङ्गम बनेको नेपाललाई अनेक तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने बताउनुभयो । ‘प्राचीन सभ्यता र सनातन भूमिका रूपमा परिचित यस धर्तीमा भगवान् बुद्धको जन्मस्थान लुम्बिनी देशविदेशमा निकै चर्चित बनेको छ, त्यसैले समृद्ध इतिहास र परम्पराको जीवन्त पक्षलाई संरक्षण गरी समयानुकूल भावी पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसद गोकुलप्रसाद बाँस्कोटाले ‘आफ्नो गाउँ आफैँ बनाऊ’ भन्ने समुदायलाई राज्यले ‘होस्टेमा हैँसे’ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समृद्धि, प्रकृति र इतिहासलाई समेट्दै गरिने पर्यटकीय विकास चानचुने विषय हैन, राष्ट्रिय पदमार्गअन्तर्गत टनचोक-धुलिखेल-तेमाल-महाभारत बुद्धसर्किट पनि योजनामै छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?