गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित, नागरिक उन्मुक्ति तटस्थ बस्दा सुदूरपश्चिममा कसैको पनि बहुमत पुगेन

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । उहाँले ६० सदस्यीय प्रदेशसभामा रहेका ३२ सांसदको मत पाउनुभयो । ज्येष्ठ सदस्यको नाताले बैठकको अध्यक्षता गर्नुभएका एमालेका मित्रलाल बस्याल मतदानमा सहभागी नहुँदा नेकपा एकीकृत समाजवादीका सांसद दीपक मनाङे धितालको पक्षमा उभिनुभयो । मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत लिँदा पुस २५ गते उहाँ अनुपस्थित हुनुभएको थियो । नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती अर्यालले २६ मत पाउनुभयो । २७ सांसद रहेको कांग्रेसका सांसद महेन्द्रध्वज जिसी अनुपस्थित रहनुभयो ।

सभामुखमा निर्वाचित हुनुभएका धिताल मंसिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (क) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । उहाँ नेकपा(माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इञ्चार्जसमेत हुनुहुन्छ । सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसक्नु भएको छ ।

सुदूरपश्चिम प्रदेशको सभामुख निर्वाचनमा लागि नागरिक उन्मुक्ति पार्टीले सहभागिता नजनाउँदा दोस्रोपटक पनि बहुमत पुग्न सकेको छैन । बिहीबार दुवै उम्मेदवारको बहुमत नपुगेपछि शनिबार पुनः निर्वाचन भएको थियो । निर्वाचनमा माओवादीका उम्मेदवार भीम भण्डारी र कांग्रेसका मानबहादुर रावलमध्ये दुवै उम्मेदवारको पक्षमा बहुमत पुग्न सकेन । प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी सभामुखका दुवै उम्मेदवारका पक्षमा नलाग्दा बहुमत नपुगेको हो । कांग्रेसबाट उम्मेदवार बन्नुभएका मानबहादुर रावलका पक्षमा २२ मत र भीम भण्डारीका पक्षमा पनि २२ मत आएको थियो । प्रदेशसभाका ५३ सदस्यमध्ये ४४ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए । नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले गठबन्धनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्नोे पार्टी तटस्थ बनेको जनाउनुभयो । यहाँ नागरिक उन्मुक्तिका सात सांसद छन् । उनीहरू कतै नलाग्दा कुनै पनि गठबन्धनमा बहुमत पुग्दैन । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादी ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

सत्ता गठबन्धनमा नागरिक उन्मुक्तिका सात जनाले कतै मत नदिँदा सत्ता गठबन्धनमा २२ जना मात्रै हुन्छ । यता, कांग्रेस नेकपा एकीकृत समाजवादीतर्फ पनि नागरिक उन्मुक्तिले मत नदिँदा २३ मत पुग्छ । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख चयन हुन २७ सांसद आवश्यक हुन्छ ।

मधेशको सभामुखमा एमालेका मण्डल र कांग्रेसका रायको उम्मेदवारी
मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी बाहेकका अरू राजनीतिक दलले समर्थन गरेका छन् । सत्तारूढ गठबन्धनको भागबण्डामा मधेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति छ । सभामुखमा सत्ता गठबन्धनभन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।
प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ/नौ, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एकजना सांसद छन् । यस्तै, पाँचजना स्वतन्त्र सांसद छन् । सभामुख चयनका लागि माघ २ गते मतदान हुँदै छ ।

कर्णालीको सभामुखमा गठबन्धनबाट एमालेकी गुरुङको उम्मेदवारी
नेकपा एमालेले सुर्खेतकी नन्दा गुरुङलाई कर्णाली प्रदेशको सभामुखको उम्मेदवार बनाएको छ । एमाले प्रदेशका नेताहरूको शनिबार बसेको बैठकले सभामुखका लागि गुरुङको नाम टुंगो लगाएको हो । सुर्खेतकी गुरुङ समानुपातिक सांसद हुनुहुन्छ । सत्तारूढ दलको भागबण्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एकजना सांसद छन् ।

प्रदेश १ को उपसभामुखमा एमालेकी दनुवार निर्वाचित
प्रदेश १ प्रदेशसभा उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनले उहाँलाई उपसभामुखमा निर्वाचित गरेको हो । प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको थियो । उहाँलाई उपसभामुख पदमा मत दिन्नँ भन्ने पक्षमा ३३ मत परेको थियो । मतदानमा ९० जना सांसदहरूको सहभागिता थियो । दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईं हुनुहुन्थ्यो । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सदस्य गरी ९३ सदस्य हुनुहुन्छ । सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ । यद्यपि, सभामुख तटस्थ बस्नुभयो भने एमालेका दुई सांसद अनुपस्थित रहनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?