प्रचण्डले कांग्रेससँग हिमचिम बढाउँदा एमाले सशंकित

राष्ट्रपति, उपराष्ट्रपति र सभामुखबारे गठबन्धनमा लिखित सहमति केही छैन : प्रधानमन्त्री

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । पुस १० गते मध्यान्हसम्म नेपाली राजनीतिमा ‘१०/१५ वर्ष चल्ने’ भनिएको तत्कालीन सत्ता गठबन्धन थियो । क्षणभरमै त्यो भत्किएर हठात् अर्को गठबन्धन बन्यो । अप्रत्यासित रूपमा नेकपा (एमाले)सहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनुभयो । नेपाली कांग्रेससँगको ‘प्री-इलेक्सन’ गठबन्धन छाडेर प्रचण्ड बालकोट (एमाले अध्यक्ष ओली निवास) पुगेपछि नेपाली राजनीति एकाएक तरंगित बनेको थियो । बालकोटमा बनेको ओली-प्रचण्ड सहितको गठबन्धनले कांग्रेस नराम्ररी पछारियो । प्रतिनिधिसभाको पहिलो दल कांग्रेसको संघसहित अधिकांश प्रदेशमा सरकार बनाउने योजना क्षणभरमै भताभुंग भयो । सत्ताबाट एक्कासि प्रतिपक्षमा पुगेको कांग्रेसमा केही दिन सन्नाटा छायो । गत मंगलबार कांग्रेसले ‘युटर्न’ गरेर फेरि उहाँ नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । त्यसपछि फेरि नेपाली राजनीतिको रंग फेरिएको छ । एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका प्रचण्ड पछिल्लो समय कांग्रेसप्रति नरम देखिन थाल्नुभएको छ । यसले गठबन्धन राजनीतिमा थप संशय उत्पन्न भएको छ । कांग्रेसको अप्रत्यासित विश्वास र प्रचण्डको नरम व्यवहारले गठबन्धनमा आबद्धहरूलाई शंकाको सुविधा मिलेको छ । कांग्रेसले बिनासर्त प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि एमाले सशंकित छ ।

बिनासर्त प्रम प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र राष्ट्रपति निर्वाचनमा अड्डी लिने संकेत गरिसकेको छ । सभामुख राष्ट्रपतिको निर्वाचनबारे दलहरूसँग छलफल गर्ने कांग्रेसको नीति छ । यसले राष्ट्रपति निर्वाचनसम्म प्रधानमन्त्री प्रचण्डले दोहोरो चाल चाल्ने सक्ने आशंका एमालेमा छ । शंका आशंकाबीच मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन भने मन्त्री भएकाहरूले समेत जिम्मेवारी पाएका छैनन् । यसलाई प्रधानमन्त्री प्रचण्डका पछिल्ला अभिव्यक्तिले थप मलजल गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुख लगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताउनुभएको छ । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको कुराकानीमा उहाँले राष्ट्रपति, सभामुख लगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताउनुभयो । कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुख लगायतका पदमा के गर्ने ? भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको उहाँको भनाइ छ । ‘अस्ति ओली र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । तर, कांग्रेस पनि मलाई विश्वासको मत दिने लाइनमा आइसकेपछि अब उसप्रति मेरो पनि दायित्व हुने नै भयो । त्यसैले मैले कांग्रेस लगायतका दललाई धन्यवाद पनि भन्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रपति सभामुख लगायतका विषय के गर्ने ? भनेर छलफल गर्नुपर्ने छ । माघ ३ गते सर्वदलीय बैठकमा मैले कांग्रेससहित मलाई विश्वास गर्ने दलहरूसँग राष्ट्रपति, सभामुखलगायत महत्वपूर्ण पदहरूमा के कसो गर्दा उपयुक्त हुन्छ भन्नेबारे छलफल गर्छु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ ।’ आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ ।

मन्त्रिपरिषद् विस्तारमा समस्या नभएको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार केही दिनमै हुने बताउनुभएको छ । मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आफूहरू सहमतिनजिक रहेको सुनाउनुभयो । ‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन । मन्त्रिपरिषद्बारे टुंग्याउन कठिन छैन । हामी सहमतिको नजिक छौँ,’ उहाँले भन्नुभयो । संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागबण्डा सहमतिनजिक रहेको उहाँको भनाइ छ । आइतबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने र सोमबार मन्त्रिपरिषद्को पूर्ण बैठक बस्ने उहाँले बताउनुभयो । शनिबार बिहान पनि एमाले अध्यक्ष ओलीसँग भेट भएको र सहमतिको नजिक पुगेको उहाँले बताउनुभयो । सत्तारूढ दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति हुन नसक्दा संघीय सरकार र प्रदेश सरकारहरूमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

भारत भ्रमण छिट्टै गर्ने तयारी
प्रधानमन्त्री ‘प्रचण्ड’ले छिट्टै भारत भ्रमण गर्ने तयारी गर्नुभएको छ । शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी दिनुभयो । यसअघि पनि प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । भारत भ्रमणबारे दूतावासले तयारी गरिरहेको उहाँले बताउनुभयो । ‘दूतावासले समन्वय गरिरहेको छ । भारत भ्रमण चाँडै हुन्छ,’ सम्पादकहरूसँग उहाँले भन्नुभयो ।

माघ ३ गते सर्वदलीय बैठक बस्ने
आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले विभिन्न सञ्चारमाध्यमहरूका सम्पादकहरूसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिनुभएको हो । सभामुख चयनअघि आइतबार सर्वदलीय बैठकको आहृवान गर्ने प्रचण्डले जानकारी दिनुभयो । आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ । सत्तारूढ दलहरूबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?