अपिको छैटौँ माथिल्लो चमेलिया अन्तिम चरणमा

Read Time = 2 mins

काठमाडौं । अपि पावर कम्पनीले आफ्नो छैटौँ आयोजनाका रूपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ । दार्चुलामा कम्पनीले यसअघि ८.५ मेगावाट नौगडगाढ जलविद्युत् आयोजना र आठ मेगावाट माथिल्लो नौगडगाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिरहेको छ । कम्पनीले मिश्रित ऊर्जा नीति आत्मसात गर्दै चार मेगावाटको चन्द्रनिगाहपुर सौर्य आयोजना, एक मेगावाटको ढल्केवर सौर्य आयोजना र एक मेगावाटको सिमरा सौर्य आयोजनाको निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिरहेको छ ।

दुई जलविद्युत् आयोजना र तीन सौर्य आयोजना सञ्चालन गरिरहेको कम्पनीले स्थापनाकालदेखि नै सेयरधनीलाई लाभांश वितरण गरिरहेको नेपालको यो एक ठूलो ऊर्जा कम्पनी रहेको छ । छैटौँ आयोजनास्वरूप ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत्को निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिनुभयो ।

दार्चुलामा बहने चमेलिया नदीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माण कम्पनीले २४ महिनाभित्रै सम्पन्न गर्न लागेको हो । आयोजना २०८० वैशाखभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आयोजनामा हिमालयन बैंकको अगुवाइमा रहेका कन्सोर्टियम बैंकहरूको लगानी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?