नेपाली कांग्रेसलाई सुध्रार्ने हो भने ..

Read Time = 15 mins

✍️ पोषनाथ शर्मा

नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसभित्र यति बेला विवाद बढेको छ । साथै शंका, उपशंका उब्जिएको छ । स्वयंसभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेपाली कांग्रेसको जिम्मेवार नेतादेखि कार्यकर्तासम्मले फेसबुक र सामाजिक सञ्जालका वालहरूमा गरेका क्रिया प्रतिक्रिया पक्षविपक्षमा र त्यसमा आएका कमेन्ट, टीकाटिप्पणी विश्लेषणले मलाई केही जिज्ञासा लागेको कुरा आफू प्रष्ट हुनका लागि यो लेख्ने प्रयास गरेको छु । सत्य कुरा गरौं नेताको मनमा चिसो पस्ने, नगरौं हृदयले मानेन र यसै द्विविधामा रहेर सत्यको खोजी गर्दैछु ।

मैले कसैको चाकडी वा स्तुति गान गाउन जानेको छैन सबैले यही कुराको अपेक्षा गरेका हन्छन् । मैले अनुभव गरेको देखेको कुरा लेख्दा कसैलाई चित्त नबुझ्न सक्छ तर जेसुकै भए पनि पार्टीभित्रको यो अविश्वास अन्यौलको अवस्थामा मलाई लागेको कुरा लेख्न उचित सम्झेँ । सभापतिका रूपमा श्रद्धेय शेरबहादुर देउवाको कार्यकाल, संगठनमा आशालाग्दो भएन । कांग्रेसको विधान अनुसार भ्रातृ संस्थाका आवधिक अधिवेशन हुन सकेनन्, संगठनका अवयव विधानबमोजिम पार्टी सञ्चालन हुन सकेनन् निर्णयहरू सधैं विवादास्पद रहे, पार्टीका निर्णयहरूमा गुटको प्रभाव देखियो जो नहुनु पर्दथ्यो, उहाँसग यस्ता थुप्रै चित्त नबुझ्ने कुराहरू छन् कांग्रेसका हरेक निर्णयको जसअपजस उहाँकै हुन्छ र मुख्य दोषको भागीदार उहाँ नै बन्नु पर्दछ ।

यसमा कुनै शंका छैन । यसका बाबजुद आखिर उहाँ नेपाली कांग्रेसको सभापति त हो । अर्कोतर्फ सभापतिभन्दा तल वरिष्ठदेखि कनिष्टसम्म उहाँका सबै सदस्य सबै दूधले नुहाएका उहाँमात्र दोषी त्यो पनि हुँदैन होला । जिम्मेवारी त सबैको होला नि भूमिका फेरियो होला विषय बेग्लै हो करिब १५० जनाभन्दा बढीको केन्द्रीय समिति छ । साथै करिब १२ लाख नेपाली कांग्रेसका क्रियाशील सदस्य छन्’ ।

नेपाली कांग्रेसको जीवन कालमा निर्वाचनका जयपराजय भए तर पहिलो पटक कांग्रेसले राजनीतिमा हार्न पुग्यो । यसको जिम्मेवारी भविष्य भएका नेपाली कांग्रेसको रथमात्र होइन राज्य सञ्चालनको जिम्वेवारीको नजिक रहेकाहरूले लिनुपर्छ कि पर्दैन ?

संगठनका वडा तहदेखिका संरचनाहरू संस्थागत रूपमा सञ्चालित छन् । मुलुकको प्रमुख राजनीतिक दलको प्रमुख मानिस जसको काँधमा यी सबैको भविष्य गाँसिएको छ साथै जिम्वेवारी पनि छ । यी सबैको मुख्य मानिसलाई मात्र लक्षित गरेर एकोहोरो अशोभनीय तल्लोस्तरका गालीगलौजमा जिम्वेवार नेताहरू उत्रनु कत्तिको सुहाउँदो तर्क हुन सक्छ ? घरको बाबुको बद्नाम गरेर छिमेकीले कुन हदसम्मको इज्जत देला ? यहाँ मेरो जिज्ञासा हो । नेपाली कांग्रेसभित्र जति निर्णय बाहिर आउँछन् केन्द्रीय समिति वा कार्यसम्पादन वा पदाधिकारी वा पूर्वपदाधिकारी आदिको छलफलबाट निर्विवाद रूपमा आएको भनिन्छ तर फेरि एकल निर्णय झैँ गरी सभापतिमाथि एकलौटी दोष दिँदा अन्याय हुन्छ कि ? भन्ने मात्र मेरो जिज्ञासा हो । यद्यपि कतिपय केन्द्रीय समितिका निर्णय तलसम्मका कार्यकर्तालाई चित्त बुझ्दैन तर पनि सिंगो पार्टीको निर्णय मान्न सबै मातहतका संगठन मान्न बाध्य हुन्छन् जुन स्वाभाविक हो ।

प्रसंग यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको विषय छ । मत दिनु ठीक थियो कि बेठिक थियो भोलि इतिहासले प्रमाणित गर्ला तर आज सिंगो कांग्रेस एक ठाउँमा उभिएर गरेको निर्णयलाई हामी कार्यकर्ताले मानौं कि नमानौं ? यो मेरो प्रश्न हो, यो कुनै व्यक्ति विशेषको निर्णय थिएन भन्ने कुरा नेपाली कांग्रेसका प्रतिनिधिसभाका ८९ जना सांसदले संसद् भवनमा उभिएर विश्वासको मत प्रकट गरे । त्यहाँ सभापतिका अलावा, वरिष्ठ नेता, उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू र प्रायः केन्द्रीय सदस्यहरू प्रतिनिधिसभामा छन् । यसरी हेर्दा सिंगो केन्द्रीय समिति र संसदीय दलको सर्वसम्मत निर्णय मान्नु पर्दछ भन्ने मलाई लागेको छ । प्रजातन्त्रमा गल्तीबाट सिक्नै पर्ने वा सिक्न पाइने अवसर हुन्छ । संसदीय लोकतन्त्रमा जवाफदेहीता महत्वपूर्ण हुन्छ र धर्म पनि हो । व्यक्तिगत प्रतिष्ठाको अहंकारले ग्रस्त पारेको अदूरदर्शी राजनीति मौलाउँदै गएपछि पार्टीभित्र अधिनायकवादको स्रोत खोज्न अमुक शक्तिको आडमा पुग्नु पर्दैन । प्रमुख दल भएर पनि प्रतिपक्षमा बस्नु परेको अवस्थालाई आममतदाता कार्यकर्ताले यस पटकको निर्णय सही ठहराएका छैनन् ।

यसको जिम्मेवारीबाट कुनै अमुक नेता अछुतो रहन सक्दैन भन्ने मेरो मान्यता छ । निर्वाचनको बेला टिकट वितरण गर्ने समयमा मेरो मानिस र तेरो मानिस भनेर गुटका आधारमा अवसरको वितरण गरियो । टिकट वितरणको असमानको प्रभाव प्रत्यक्ष निर्वाचनमा देखियो नहार्नु पर्ने ठाउँमा पार्टीका उम्मेदवार पराजित भएका छन् भने असन्तुष्टिले समानुपातिकतर्फको मत पनि घटेर आयो । अर्कोतर्फ माओवादी समेतका पाँच दलीय गठबन्धन गरेर कांग्रेसको सिद्धान्तविपरीतका निर्णयमा सहीछाप गरेर केन्द्रीय समितिले उचित ठहरायो, जहाँ कि प्रत्येक मतदातालाई कुनै ठाउँमा रूख कुनै ठाउँमा हँसियाहथौडा कुनै ठाउँमा कलम, बाल्टिन, गिलास, अनेक गरियो ।

यो निर्णय कुनै पनि हिसाबले सही थिएन, संगठनमाथि थोपर्ने काम मात्र थियो जसको परिणाम सोचेजस्तो आएन, यसपटक २५ देखि ३० लाख मतदाताले पहिलो पटक मतदान गरे, विभिन्न चिहृनमा मत दिए, रूखबाहेकमा भोट दिने ती युवालाई पुनः रूखमा मत दिने गरी फर्काउने नीति पार्टीले बनाउन सकेन भने यसले मुलुकको लोकतन्त्रलाई कति फाइदा पुग्छ ? यी यस्ता गलत निर्णयमा सबै सहभागी बन्यौं जुन निर्णयले नेपालको राजनीति, इतिहास र नेपाली कांग्रेसको जीवन कालमा निर्वाचनका जयपराजय भए तर पहिलो पटक कांग्रेसले राजनीतिमा हार्न पुग्यो । यसको जिम्मेवारी भविष्य भएका नेपाली कांग्रेसको रथमात्र होइन राज्यसञ्चालनको जिम्वेवारीको नजिक रहेकाहरूले लिनुपर्छ कि पर्दैन ?

निर्वाचनको परिणामपछि प्रमुख दल र त्यसका जिम्वेवार पदाधिकारीका हैसियतले सत्ता बाँडफाँटमा परेलीलाई सँगै राखेर उनको हैसियत अनुसारको भूमिकाको बोध गराएर परेली लगाएका दलहरूलाई सहमतिका आधारमा जनादेशको कदरको हेक्का राखी जुन बाटो हामी आएका थियौँ त्यही बाटोलाई समात्न सक्नु पर्दथ्यो तर हामी त्यहीँ चुक्यौँ, यो यथार्थता हो । राज्यसञ्चालनको साँचो आफ्ना हातमा राख्ने प्रयासका लागि अरू जिम्मेवारीका साथ कृयाशील हुनुपर्ने थियो । कसैले बोलायो बोलाएन सल्लाह लिए लिएनन् त्यो कार्यकर्ता र जनतासँग चासोको विषय होइन, परिणाम के आयो, मुख्य विषय हो, त्यसबाट नेताहरू पन्छिन मिल्छ कि मिल्दैन ? यो मेरो जिज्ञासा हो ।

दीर्घकालीन रूपले सोच्ने परिपाटी कांग्रेसमा कहिल्यै बनेन । बीपी कोइरालाको अवसानपछि दूरदर्शी नेता पनि कोही देखिएनन् । जहिले पनि पार्टी केन्द्रीकृत ढंगले सञ्चालन गरियो । अयोग्य व्यक्तिहरूलाई गुटका नाउँमा समूहका नाउँमा भित्र्याएर महत्वपूर्ण जिम्मेवारी दिने योग्य व्यक्तिलाई गुटकै नाउँमा समूहकै नाउँमा किनारा लगाउने र गुटका आधारमा अवसरको वितरण जस्ता प्रवृत्ति र परम्पराले पार्टीभित्रको शक्ति छिन्नभिन्न भएको छ । कार्यकर्तामाथि परेको अन्याय हेर्ने जिम्मेवारीबाट विमुख पनि त हुनुहुँदैन होला नि ? प्रमुख दल यसरी कमजोर भएर नै आजको यो अवस्था असन्तुलित भएको हो ।

राजनीतिमा दलको अस्तित्व, सिद्धान्तमा हुन्छ भने नेतृत्वको सान्दर्भिकता उसको वैचारिक क्षमतामा अन्तरनीहित हुन्छ । गुटगत स्वार्थले थला परेको कांग्रेस यतिखेर सिंगो कांग्रेस नभएर गुटउपगुटको मोर्चा भएको छ । गुटगत स्वार्थले एउटाको उछित्तो काढ्दा हामी कहाँ पुग्छौं ?

यो पार्टी राजनीतिको मियो हो । यसलाई नजरअन्दाज गरिनु हुँदैनथ्यो । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा क्रियाशील सदस्यता लिने पंक्तिमा नवयुवाहरूको ठूलो संख्याको उत्साहजनक उपस्थिति देखिएको थियो । त्यस उत्साहले भुइँ तहको संगठनलाई मात्र चलायमान बनाएन, केन्द्रीय महाधिवेशनमै यसको प्रभाव रहृयो, अधिवेशनबाटै होनहार युवानेताहरू नेतृत्वमा स्थापित भए जसबाट नेपाली कांग्रेसले मात्र होइन नेपालले नै भविष्य देखेको छ ।

यो पंक्तिको प्रतिनिधिसभामा पनि उपस्थिति छ कांग्रेस चुकेका निर्णयहरूमा यो युवा पंक्ति निरपेक्ष बसेर दोष जति सभापतिको थाप्लोमा थुपारेर उम्कन मिल्छ कि मिल्दैन ? यहाँ प्रश्न शेरबहादुर देउवाको होइन समग्र कांग्रेस र लोकतन्त्रको विषय हो । यसर्थ दायित्व बहनतर्फ केन्द्रित हुन सके मुलुकलाई फाइदा हुन्थ्यो जस्तो मलाई लागेको छ यो गल्ती वा लापरबाही एकै व्यक्तिबाट हुनसक्छ भने समग्र कांग्रेसको हितमा र पार्टी संगठनलाई विधानबमोजिम सञ्चालन गर्न युवा नेताहरूबाट हस्तक्षेपकारी भूमिका पनि कार्यकर्ताले चाहेका छन् । यसर्थ, गल्ती सबैबाट भइसकेको छ अब सच्याउने उपायको खोजी गरौं ।

गल्ती भयो भन्दैमा छलफल नै नगर्ने विचार नै राख्न नपाइने होइन तर नकरात्मक पक्षलाई मात्र उचालेर पार्टीभित्र कार्यकर्ता मिलेर बस्नै नसक्ने, अवस्थाको अन्त्य गरी सकरात्मक पक्ष, मेलमिलाप र हार्दिकताको विकास गरिनु पर्दछ । यसका लागि स्वयं सच्चिनु र सच्याइनु नै समाधान हो । राजनीतिमा दलको अस्तित्व, सिद्धान्तमा हुन्छ भने नेतृत्वको सान्दर्भिकता उसको वैचारिक क्षमतामा अन्तरनिहित हुन्छ । गुटगत स्वार्थले थला परेको कांग्रेस यतिखेर सिंगो कांग्रेस नभएर गुटउपगुटको मोर्चा भएको छ । गुटगत स्वार्थले एउटाको उछित्तो काढ्दा हामी कहाँ पुग्छौं ? तसर्थ पार्टीलाई बदल्ने यात्राको प्रारम्भ गरौं ।

(शर्मा नेपाली कांग्रेस कास्कीका पूर्वसचिव तथा विगत चालिस वर्षदेखि पार्टी तथा नेपालको सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका व्यक्ति, हुनुहुन्छ । उहाँले ‘राष्ट्रपुकार’, ‘नेपाल वाणी’ तथा रेडियो नेपालको ‘कार्यक्रम घटना र विचार’ मा संलग्न भएर योगदान गर्नुभएको थियो ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?