विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भुमिका खेल्ने बताउनुभएको छ ।

आईतवार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताउनुभएको हो । उहाँले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताउनु भयो । उहाँले भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भौतिक रुपले सम्पन्न देशहरुमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरु भएको भन्दै मानसिक रुपमा पनि चुस्त राख्न आवश्यक रहेको बताउनु भयो । मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ । अहिले पूरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रित छ । पूर्वीय सभ्यताको पनि नेपालका त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीहरुलाई गर्वको महशुस हुन्छ । हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यान सँगै नै अन्तर्निहीत रहेका छन् । हाम्रो सांस्कृतिक धरोहरहरु हे¥यो भने मठ,मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए । त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो । हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो । संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने भनेपछि संसारभर नै जिज्ञासा र अभिरुची बढेको छ । भौतिक रुपले धेरै नै विकसित भनेका देशमा पनि मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै डिप्रेशनतिर जाने गरेका छन् । भातिक रुपले सम्पन्न र विकसित देशहरुमा तथ्यांकहरु हेर्दा मानसिक रुपले कमजोर भएको तथ्यांकहरु धेरै छ । आत्महत्यका तथ्यांकहरु त्यहाँ नै बढी छन् । मानव जातीका लागि भौतिक विकासले मात्रै मानव जातिको रक्षा गर्न सक्दैन । मानवका लागि भौतिकका साथै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य छ । त्यस खालको सन्तुलन कायम गर्न योग र ध्यान सर्वोत्तम उपाय हो भन्ने कुरा वैज्ञानिक रुपले प्रमाणित भइसकेको छ । भौतिक रुपले मात्रै सम्पन्न गराउने नभइ मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त राख्न विद्यालय तहमा नै योग शिक्षा अघि बढाउने र विश्वविद्यालयसम्म लग्यो भने मात्रै संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्छौँ ।’

प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?