अमेरिकी गायिका लिसाको निधन

Read Time = 4 mins

क्यालिफोर्निया । अमेरिकी चर्चित गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ । उहाँको ५४ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो । लिसाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

लिसा चर्चित अमेरिकी अभिनेता, गायक एवं संगीतकार एल्भिस प्रेस्ले र अभिनेत्री प्रिसिला प्रेस्लीको छोरी हुनुहुन्छ । आमाबुवाको सम्बन्धविच्छेदपछि उहाँ आफ्नी आमासँग क्यालिफोर्नियामा बस्दै आउनुभएको थियो । उहाँको बावुको सन् १९७७ मा निधन भएको थियो । उहाँले ‘सो लभ्ली’, ‘ओभर मी’, ‘इडियट’, ‘लाइट आउट’, ‘नोबडी नोटिस्ड इट’ लगायत चर्चित गीत गाउनुभएको छ ।

लिसा यसैसाता बेवर्ली हिल्समा आयोजित गोल्डन ग्लोब अवार्ड समारोहमा सहभागी हुनुभएको थियो । समारोहमा उहाँका पितामाथि निर्मित चलचित्र ‘एल्भिस’ मा एल्भिस प्रेस्लीको अभिनय गर्नुभएका अभिनेता अस्टिन बटलरले बेस्ट एक्टरको अवार्ड जित्नुभएको थियो । बटलरले अवार्ड थाप्दै लिसा र उहाँकी आमा प्रिसिलाप्रति आभार व्यक्त गर्नुभएको थियो ।

चार पटक विवाह गर्नुभएकी उहाँले सुप्रशिद्ध गायक माइकल ज्याक्सनसँग सन् १९९४ मा लगनगाँठो कसेपछि औधी चर्चित हुनुभएको थियो । उहाँले पहिलो पति संगीतकार डानी किओसँग सम्बन्धविच्छेद गरेको २० दिनपछि नै ज्याक्सनसँग बिहे गर्नुभएको थियो । ज्याक्सनसँग उहाँले सन् १९९६ मा पारपाचुके गर्नुभयो जतिवेला ज्याक्सन बाल यौन दुव्र्यवहारको आरोपका झमेलामा फस्नुभएको थियो ।

एल्भिसका प्रसंशक अभिनेता निकलस केजसँग उहाँले सन् २००२ मा तेस्रो विवाह गर्नुभयो । बिहेको चार महिना बित्दा नबित्दै केजले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिनुभएको थियो । यसपछि लिसाले चौथो विवाह आफ्नै गीतमा गिटार बजाउनुभएका गिटारवादक तथा निर्माता माइकल लकउडसँग गर्नुभयो । लकउडसँग सन् २०२१ मा उहाँको सम्बन्धविच्छेद भएको थियो ।

लिसाका एकमात्र छोरा बेन्जामिन किओको मृत्यु सन् २०२० मा भएको थियो । संगीतकार बेन्जामिन त्यसबेला २७ वर्षका हुनुहुन्थ्यो । लस एन्जलसका काउन्टी कोरोनर (अनुसन्धान अधिकारी) ले किओको मृत्युलाई आत्महत्या घोषणा गरेका थिए । पहिलो पतिबाट उहाँकी ३३ वर्षीया अभिनेत्री छोरी राइली किओ हुनुहुन्छ भने चौथो पतितर्फबाट उहाँका १४ वर्षीया जुम्ल्याहा छोरी हार्पर लकउड र फिन्ली लकउड हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?