निष्ठावान नेता लामिछानेको अमेरिकामा निधन

हिमालय टाइम्स
Read Time = 5 mins

न्यूयोर्क । नेपाली कांग्रेस, गोरखाका पूर्वपार्टी जिल्ला सभापति बुद्धिप्रसाद लामिछानेको निधन भएको छ । बिहीबार साँझ उहाँको कोलोराडोस्थित एक अस्पतालमा निधन भएको हो । लामिछाने कारिब १४ वर्ष पहिलेदेखि नै कोलोराडोमा सपरिवार बस्दै आउनुभएको थियो ।

उहाँ नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सल्लाहकार र एनआरएन अमेरिकाको पूर्वकेन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । ६० वर्षीय लामिछानेका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । सरल जीवनशैली र सहज व्यक्तित्वका धनी लामिछाने राजनीतिमा निडर र हक्की स्वभावको हुनुहुन्थ्यो ।

गत महिना करिब दुई साता अस्पताल बसेर उपचारपछि उहाँ घर फर्कनु भएको थियो । पुनः एक्कासि धेरै टाउको दुख्ने समस्या भएपछि एक साता पहिले उहाँ अस्पताल जानुभएको थियो । अस्पतालमा उपचाररत रहँदा नै लामिछानेको बिहीबार साँझ निधन भएको नेपाली जनसम्पर्क समिति, अमेरिका कोलोराडो च्याप्टरका सभापति डाक्टर गणेश भण्डारीले जानकारी दिनुभयो ।

नेपालमा रहँदा नेपाली कांग्रेसको नेतृत्व र अगुवाइमा भएको सबै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागी लामिछाने नेपाल विद्यार्थी संघ, गोरखाको पूर्वजिल्ला अध्यक्षसमेत हुनुहुन्थ्यो । केन्द्रीय विश्वविद्यालय कीर्तिपुरको नेविसंघ राजनीतिमा पनि सक्रिय रहनु भएका लामिछाने नेपाली कांग्रेस गोरखाको जिल्ला सचिव हुँदै सभापति हुनुभएको थियो ।

नेता लामिछाने द्वन्द्वका बेला माओवादीले दुःख दिएका मध्ये पीडित हुनुहुन्थ्यो । नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेता लामिछाने नेपाली कांग्रेस र प्रजातान्त्रिक आन्दोलनको अथक योद्धा हुनुहुन्थ्यो भन्दै उहाँ सधैं मुलुक र अहिलेको लोकतन्त्रको बारे चिन्तित रहने गरेको आफूले पाएको स्मरण गर्नुहुन्छ । ‘मेरा लागि उहाँ अभिभावक हुनुहुन्थ्यो, राजनीतिक रुपमा जहिले पनि मुलुक र लोकतन्त्रको बारे चिन्ता गर्नुहुन्थ्यो,’ विष्टले भन्नुभयो ।

सन् २००८ मा अमेरिका आएपछि उहाँ स्थानीय नेपाली समुदायको अभिभावकीय भूमिकामा रहनु भएको थियो । अमेरिका आएदेखि नै पारिवारिक रूपमा अत्यन्त निकट सम्बन्ध रहेको भन्दै कोलोराडोमै रहनु भएका नेपाली जनसम्पर्क समिति, अमेरिकाका उपसभापति धर्मराज श्रेष्ठले लामिछानेको अप्रत्याशित निधनसँगै एक निष्ठावान नेता गुमाएको बताउनुभयो ।

करिब तीन दशकदेखि नेता लामिछानेसँग चिनजानमा रहेका कोलोराडोमै रहेका नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य गोविन्द लम्साल आफूले संगत गरेका थोरै असल नेतामध्ये उहाँ एकजना रहेको बताउनुहुन्छ । आफ्ना सल्लाहकार दिवंगत नेता लामिछानेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली जनसम्पर्क समिति, अमेरिकाले एक शोक वक्तव्य जारी गरेको छ । लामिछानेको आइतबार कोलोराडोमा नै अन्त्येष्टि गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?