विमान दुर्घटनामा एक पत्रकार र एक गायिकाको निधन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा एक पत्रकार र एक लोक गायिकाको मृत्यु भएको छ । दुर्घटनामा परी पत्रकार त्रिभुवन पौडेल र लोकगायिका निरा छन्त्यालको मृत्यु भएको हो । पत्रकार पौडेल प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँको ३७ वर्षको अल्पायुमै निधन भएको खबरले स्तब्ध र शोकमग्न भएको महासंघले जनाएको छ । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गर्नुभएका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिनुभएको थियो ।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गर्नुुभएको थियो भने विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनुभएको थियो । उहाँ पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक÷सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । पौडेलका आमा, श्रीमती र एक छोरा हुनुहुन्छ ।

यसैबीच, नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसी केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । जसअन्तर्गत आज (सोमबार) महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं आजदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको महासचिव रोशन पुरीले जनाउनुभएको छ ।

गायिका छन्त्याल माघे संक्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गर्नुभएको थियो । उहाँले पोखरा उड्नुअघि आफ्नो फेसबुकबाट माघे संक्रान्तिको शुभकामना लेख्नुभएको थियो । शनिबार उहाँले ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेख्नुभएको थियो ।

बागलुङकी छन्त्याल लाइभ दोहोरीमा चलेकी कलाकार हुनुहुन्थ्यो । गायिका निराको जन्म २०५७ सालमा बागलुङको बधिघात सिसापानीमा भएको हो । बागलुङमा सञ्चालित लोक ताराको विजेता बनेसँगै उहाँ काठमाडौं आउनुभएको थियो ।

दुर्घटनामा अस्ताए चिकित्सक दम्पति
दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सुशील श्रेष्ठ, उहाँकी श्रीमती डा. सोना दिवार र १० महिने शिशुको पनि निधन भएको छ । पोखरा निवासी डा. श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएको थियो भने गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमासमेत काम गर्नुभएको थियो । दुई वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ आइतबार सपरिवारसहित घर जाँदै हुनुहुन्थ्यो ।

डा. सुशील तीन वर्ष अघि डा. सोना दिवाकरसँग वैवाहिक जीवनमा बाँधिनुभएको थियो । एमडी पढ्नका लागि डा सोना बिदामा हुनुहुन्थ्यो । डा. श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबिबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?