सुरक्षित मानिएको रुटमै किन पर्‍यो दुर्घटनामा सुरक्षित मानिने एटिआर जहाज ?

यज्ञराज पाण्डे
Read Time = 6 mins

काठमाडौं । नेपालमा एटिआर ७२ जहाज पहिलोपटक दुर्घटनामा परेको छ । आन्तरिक उडानमा यो हालसम्मकै ठूलो दुर्घटना हो । आइतबार भएको दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्ययन प्राधिकरणले पुष्टि गरेको छ । जसमा ५३ नेपाली र १५ विदेशी नागरिक रहेका थिए ।

काठमाडौंबाट पोखरामा उडान गर्ने क्रममा यो दुर्घटना भएको हो । नेपालको दुर्गम क्षेत्रमा ट्विनअटर जहाज बढी दुर्घटना भएका छन् । एटिआर ७२ भने अहिलेसम्म दुर्घटनामा परेको थिएन । त्यसो त पहाडी क्षेत्रमा सुरक्षित मानिने पोखरा विमानस्थल रुटमै यो दुर्घटना भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले एटिआर ७२ जहाज पहिलोपटक दुर्घटनामा परेको जानकारी दिनुभएको छ । ‘काठमाडौं–पोखरा रुट र एटिआर ७२ जहाज सुरक्षित मानिन्छ’, निरौला भन्नुहुन्छ, ‘यहाँ एटिआर पहिलोपटक दुर्घटनामा परेको हो ।’

एटिआर ७२ जहाजमा दुईवटा इञ्जिन रहन्छन् । यतीको जहाजमा ७२ सिट क्षमता रहेको थियो । यती एयरलाइन्ससँग ६ वटा एटिआर जहाज रहेका छन् । एटिआर ७२ जहाज फ्रान्स र इटालीको संयुक्त उपक्रम रहेको अभिनस डी ट्रान्सपोर्ट रिजनल (एटिआर)ले उत्पादन गर्दै आएको छ ।

नेपालमा एटिआर ७२ जहाज सबैभन्दा बढी बुद्ध एयरसँग छन् । आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगटेको बुद्धले ११ वटा एटिआरमार्फत उडान गरिरहेको छ । सुरक्षित मानिने एटिआर ७२ जहाज पहिलोपटक दुर्घटनामा पर्दा दुर्घटनाको कारण भने खुलेको छैन ।

एउटा इञ्जिन बन्द भएको हुनसक्ने पाइलट सापकोटाको अनुमान
त्यसो त विमान २५ वर्ष अनुभवी सिनियर पाइलट कमल केसीले उडाउनुभएको थियो । पाइलट अञ्जु खतिवडाले पनि अनुभव प्राप्त गरिसक्नु भएको थियो । उहाँले एटिआर विमानमा क्याप्टेन भएरसमेत उडान गर्न थालिसक्नु भएको थियो । तर पनि अकस्मात भएको यो दुर्घटनाको कारण भने अझै पत्ता लागेको छैन ।

कमलसँगै विमान उडाइसक्नु भएका पाइलट रोशन सापकोटा पाइलट कमल एकदमै अनुभवी र सिनियर पाइलट रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कमल केसी २५ वर्षदेखि विमान उडाउँदै आएको एकदमै अनुभवी पाइलट हुनुहुन्थ्यो । उहाँले २० हजार घण्टाभन्दा बढी विमान उडाइसक्नु भएको छ । को–पाइटल अञ्जु खतिवडा पनि अनुभवी हो । हामीले सँगै तालिम गरेका हौँ । क्याप्टेनकै रूपमा पनि प्लेन उडाइसक्नु भएको छ ।’

पोखरा, विराटनगर, चन्द्रगढी, नेपालगञ्जसहित धेरै ठाउँमा सँगै उडान भरिसक्नु भएका सपकोटा भन्नुहुन्छ, ‘उडानका क्रममा उहाँ ‘रिस्क’ लिने खालको पाइलट कहिल्यै लागेको छैन । अनुभवले खारिएको व्यक्ति हुनुहुन्थ्यो ।’

पाइलट सापकोटाका अनुसार पोखराको नयाँ एयरपोर्टमा काठमाडौंबाट जाँदाजाँदै एकातिर ‘वान टु’को दिशाबाट ल्याण्ड गर्ने र अर्कातिर ‘थ्री जिरो’को दिशाबाट ल्याण्ड गर्ने भन्ने हुन्छ । टावरसँगको सम्पर्कपछि जुन सजिलो हुन्छ, त्यही दिशाबाट पाइलटले ल्याण्ड गर्न खोज्ने हो । सापकोटा भन्नुहुन्छ, ‘दुर्घटना भएको विमानले ‘वान टु’ तिरबाट ल्याण्ड गर्न खोजेको देखिन्छ । यही क्रममा दुर्घटना भएको हो ।’

त्यसो त ल्याण्ड गर्ने अन्तिम समयतिर दुर्घटना भएको देखिन्छ । सापकोटाका अनुसार प्लेनमा पहिले नै खराबी आएको भए टावरसँगको एप्रोचमा क्याप्टेन पक्कै पुग्नुहुन्थ्यो । लो अल्टिच्युटमा समस्या आउँदा के गर्ने भन्ने निर्णय लिनका लागि निकै कम समय हुन्छ । हाई अल्टिच्युटमा भएको भए अलि बढी समय हुन्थ्यो ।

त्यसो त पोखरा दुर्घटनामा विमान ल्याण्ड गर्ने बेलामा तलतिर झरेको देखिन्छ । लो अल्टिच्युडमा तत्काल मोड्न खोज्दा समस्या देखिएको हुनसक्ने बताउनुहुन्छ पाइलट सापकोटा । उहाँ भन्नुहुन्छ, ‘ल्याण्ड गर्न खोज्दा तलतिर झरेको एउटा इञ्जिन बन्द भएकाले हो कि भन्ने मेरो अनुमान छ । अरू प्राविधिक खराबी आएको पनि हुन सक्छ । एउटा इञ्जिन बन्द हुँदा विमानलाई तत्कालै मोडेर एयरपोर्टसम्म ल्याउन खोज्दा दुर्घटना भएको हो कि भन्ने लाग्छ । तर, बस्ती जोगाउन सेतीको खोँचमा ठोक्काएको भन्ने चाहिँ लाग्दैन । त्यति समय नै हुँदैन । एयरपोर्टसम्म पुग्न नै प्रयास गरेको देखिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?