भावपूर्ण श्रद्धाञ्जलि सम्पूर्ण मृतकहरूमा

हिजो माघ १ गने सबै देशवासीहरूले आनन्दका साथ मघे संक्रान्ति मनाइरहेकै बेला एउटा भयानक हवाई दुर्घटना हुनपुग्यो । यति एयरलाइन्सको ठूलो प्लेन काठमाडौंबाट पोखराका लागि उडेको थियो । काठमाडौं र पोखराको उडान दूरी नजिकका मध्ये एक हो र पोखरा पुग्न काठमाडौंबाट २०-२५ मिनेट जति लाग्छ । पोखरा पुगिसकेपछि उक्त विमान दुर्घटनामा पर्‍यो । दुर्घटना हुनाको कारण खुलिसकेको छैन जे जस्तो कारणले दुर्घटना भएको भए पनि आन्तरिक उडानमा रहेका विमानहरूको दुर्घटनामध्ये यो सबैभन्दा ठूलो दुर्घटना हो । विसं २०४९ सालमा दुई महिनाको फरकमा भएका थाई र पिआइएका दुई ठूला अन्तर्राष्ट्रिय विमान नेपालमा दुर्घटनामा परेका थिए । ती दुर्घटनापछि नेपाल हवाई उठानका लागि असुरक्षित गन्तव्य हो कि भन्ने धेरै आशंकाहरू अघि सारिएको थियो ।

अमेरिकी र युरोपीयन देशहरूले नेपामा सिधैं उडान गर्न अहिले पनि मानिरहेका छैनन् । एक प्रकारले भन्ने हो भने पहाडी मुलुकहरू जहाँ स्थल यातायातका लागि असजिलो हुन्छ त्यस्ता मुलुकहरूमा हवाई यातायात नै भरपर्दो माध्यम हुनसक्छ । तर अर्को प्रकारले हेर्दा पहाडी मुलुकहरूमा प्रायः मौसम प्रतिकूल रहने भएका कारण दुर्घटना भइरहने गरेका छन् भनिन्छ । दुर्घटनाको कारण एउटा मौसमको प्रतिकूलता हो तर हिजो पोखरामा जुन बेला विमान दुर्घटनामा पर्‍यो त्यसबेला मौसम प्रतिकूल थिएन । त्यसैले यो दुर्घटनाको कारण मौसमी भएको देखिँदैन । धेरै बिहानको समय पनि होइन । मौसम सफा भएरका बेला उक्त दुर्घटना भएको छ ।

दुर्घटनाका अन्य कारणमा मौसमीबाहेक मानवीय र यान्त्रिक कारण पनि हुने गरेका छन् । यस विमानमा लामो समयसम्म विमान चलाएका अनुभवी चालकहरू रहेका र पोखराको अन्तर्राष्ट्रिय विमास्थल बनिसकेपछि परीक्षण उडान यही विमानले गरेको भन्ने आधारमा हेर्दा हिजोको यो दुर्घटनामा मानवीय कारण कारक बनेको देखिन आउँदैन । यसबाहेक यान्त्रिक कारणले यो दुर्घटना भएको पो हो कि भन्ने धेरैको अड्कल छ । अरू देशमा चलाएका पुराना विमान सस्तोमा पाइने कारणले हाम्रो देशले ल्याउने गरेको कारण यही बनेको हुनसक्छ ।

कम्पनीहरूले सम्तो खोज्ने र सरकारमा बसेका मानिसले कमिसनतर्फ आँखा लाउने भएका कारण यस्तो हुनेगरेको छ तर जहिलेसुकैका दुर्घटनामा पनि चालकहरूको मृत्यु भइसकेको अवस्थामा अन्य कारणभन्दा उनीहरूलाई नै दोषी देखाउने गरिँदै आएको देखिन्छ ।

उनीहरूको मृत्यु भइसकेका कारण प्रतिवाद हुने सम्भावना रहँदैन । विमानको खराबी देखाएर आपूmप्रति नै छानविनको तीर तेर्सिने गरी कसैले पनि आयोग बनाउँदैन । त्यसैले छानविन आयोगमा बस्नेहरूले कहिल्यै यन्त्रको खराबी भन्ने प्रतिवेदन पेश गर्ने गरेका छैनन् । यो कुरा आममानिसलाई समेत जानकारी छ । त्यसैले यस दुर्घटनाको केही समयदेखि नै सामाजिक सञ्जालहरूमा यस्ता परम्पराप्रति सचेत गराएर समाचार र प्रतिक्रिया आइरहेका छन् । त्यसकारणले यस दुर्घटनाको छानविन राम्ररी हुनुपर्छ केवल कर्मकाण्डी बन्नु हुँदैन । किनकि यो नेपालमा भएका ठूला हवाई दुर्घटनामध्येको एक हो र माथि नै भनियो आन्तरिक उडानको सबैभन्दा ठूलो दुर्घटना हो ।

त्यसैले यसको छानविनमा संवेदनशील बन्नैपर्छ । यथार्थ तथ्यलाई लुकाउनु हुँदैन । जसको जे जस्तो कमजोरी भएको भए पनि के कारणले भएको हो त्यो सार्वजनिक बन्नैपर्छ । दुर्घटनाको कारण थापा पाएपछि मात्र त्यसका भएका कमजोरीलाई सुधार्न सकिन्छ नत्र यस्ता दुर्घटना फेरि दोहोरिन सक्छन् । त्यसतर्फ सरकार सचेत हुनै पर्छ । यस दुर्घटनामा देशविदेशका ७२ जना मानिसको मृत्यु भएको छ । मानवीय क्षतिका साथै करोडौंको भौतिक क्षति भएको छ । जे भएको छ त्यसको क्षतिपूर्ति हुन सक्दैन । विगतबाट पाठ सिकेर त्यसमा भएका कमीकमजोरीमा सुधार गर्दै लान सकिने मात्र हो ।

प्रधानमन्त्री तथा गृहमन्त्रीले यसबारेमा लिनुभएको चासो प्रशंसनीय छ । नेपाल सरकारले यस शोकको घडीमा आज सार्वजनिक बिदा दिएको छ त्यो पनि प्रशंसनीय छ । सार्वजनिक बिदाभन्दा पनि सुरक्षित हवाई उडानतर्फ सरकारको ध्यान जानुपर्छ तर उहाँहरूको यस प्रकारको सक्रियता एक वा दुई दिनका लागि मात्र बन्नु हुँदैन यसको कारण र त्यसमा गरिने सुधारको क्षणसम्म रहिरहनुपर्छ । यति विमानमा यात्रा गरिरहेका सम्पूर्ण यात्रीहरूको दुःखद् र असामयिक अवसान भएको छ । उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा हाम्रोतर्फबाट हार्दिक समवेदना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?