मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको स्थानकाे अनुगमन

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 4 mins

दमक । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक-६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिनुभएको छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिनुभएको हो । उहाँलाई नगर प्रमुख थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले घटनाका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै, उहाँले आगलागी पीडित व्यवसायीसँगसमेत संवाद गर्नुभएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । मुख्यमन्त्री समक्ष पीडितहरुले आफूहरुलाई पुनःस्थापित तथा राहतमा सहयोग पुर्‍याइदिन माग राखेका थिए । त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको थियो ।

पीडित व्यवसायीलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र यहाँका राजनीतिक दल, सङ्घ संस्थाको सक्रियता पहिलो हुने उहाँले बताउनुभयो । “प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने र गर्न मिल्ने सम्मको राहत आफूले तुरुन्तै उपलब्ध गराउने छु”, मुख्यमन्त्रीले भन्नुभयो ।

घटनामा ६ वटा पसल पूर्णरुपमा क्षति भएको तथा अन्य तीन वटा पसलका सबै सामान जल्दा करिब रु दुई करोड बढीको धनजनको क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो लगाएको आरोपमा दुई जना पक्राउ

आइतबार बिहान दमक-६ स्थित नमुना बजारमा भएको आगलागीमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । सिसिटिभी फूटेजका आधारमा अनुसन्धान गर्दा दुई व्यक्तिले आगजनी गरेको देखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगजनीबाट त्यहाँका कपडा, जुत्ताचप्पल पसल तथा टेलरिङ सेन्टर गरी नौ वटा पसल पूर्णरूपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट करिब रु दुई करोड बराबरको धनमाल क्षति भएको छ । यद्यपि, क्षतिको पूर्ण विवरण आइसकेको छैन । प्रहरीका अनुसार आगलागीबाट राजु श्रेष्ठ, सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै घटनास्थल छेउछाउका चार वटा पसल भत्काउनु परेको थियो ।

प्रनाउ गिरीले सिसिटिभीको फुटेज हेर्दा दुईजना व्यक्तिमध्ये एकजनाले पेट्रोल खनाएको र अर्कोले लाइटर जलाएको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । पक्राउ परेका ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन् भने फरार अर्काको खोजी भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेकाले घटनामा आफनो संलग्नता स्वीकार गरिसकेको प्रहरीको दाबी छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?