म्याग्दी । म्याग्दीको भूगोल भएर बग्ने कालीगण्डकी नदीको देव शिला भगवान रामको जन्मभूमि मानिने भारतको फैजावाद जिल्ला स्थित अयोध्या धाममा लगिने भएको छ ।
हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा बनाइने भगवान श्रीरामको बालरुपको मुर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला अयोध्या लगिने सम्पूर्ण तयारी पूरा भएको छ ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आइतवार बिहान १०:२० को शुभसाइतमा धार्मिक बिधिअनुसार क्षमापुजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गर्नुभयाे ।
क्षमापुजामा प्रतिनिधिसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खुमबहादुर गर्बुजा (खम्बिर), निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी र अगुवाहरूको उपस्थिति थियो ।
क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधिस राम तपश्वेर दासमार्फत् अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान, नापजाँचको काम सकिएपछि पठाउनुअघि क्षमापुजा गरिएको हो ।
जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दासले अयोध्यामा रामको मूर्ति बनाउन लगिने शिलासँगै जानकी मन्दिरमा सिताको मूर्ति बनाउन अर्को शिला पनि लगिने बताउनु यभो । ‘हिन्दु धर्मावलम्बीहरूको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ,’ उहाँले भन्नुभयो ‘यहाँको शिला लगेर मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ ।’
शालीग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतीक भएको राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताउनु भयो। ‘यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौं,’ उहाँले भन्नुभयो ‘शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्।’
बेनी नगरपालिकाका नगरप्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन् गरी टिपरमा राखेर बाजागाजा र पुजाआजा गरेर केहीदिनमै जनकपुर पठाइने जानकारी दिन्भयो । प्रतिनिधिसभा सदस्य निधिले सरकारी तवरमा विभिन्न चरण र प्रक्रिया पुरा गरेर कालीगण्डकीको शिला उपलब्ध गराउन लागिएको बताउनु भयो ।
‘अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ,’ उहाँले भन्नुभयो ‘शिला उत्खनन् भएको ठाउँ धार्मिक स्थलको रुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढ्नेछ।’
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य निधिले बताउनु भयो ।
ऐतिहासिक अयोध्या
सरयु नदीको तटमा अवस्थित अयोध्या धाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो । यो भारतको उत्तर प्रदेशको फैजावाद जिल्लामा पर्दछ ।
मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरेको इतिहासमा उल्लेख छ । सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दुलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए ।
सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदमा आक्रमण गरेर क्षति पु-याएका थिए । त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा अयोध्यामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । सोही समय हिन्दूहरुले बाबरी मस्जिद समेत भत्काएका थिए । मस्जिद भत्काइ पछि सो क्षेत्र धेरै समयसम्म विवादित क्षेत्रको रुपमा रहेको थियो ।
९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए । अहिले सोही स्थानमा राम मन्दिर निर्माण भइरहेको छ । मन्दिर निर्माणको जिम्मा राम मन्दिर निर्माण ट्रस्टले पाएको छ । ट्रस्टका अधिकारीहरूको भनाइमा ४ हजार करोड भारतीय रुपियाँमा मन्दिर निर्माण भइरहेको छ ।
सोही मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बाल वयको मुर्ति राखिने राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताउनु भयो । उहाँका अनुसार मन्दिर निर्माणकार्य पूरा भएसँगै त्यहाँ जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट तयार पारिने धनुष समेत राखिनेछ ।
जुन धनुषले राजा जनककी छोरी सीतासँग रामको विवाह भएको घटना स्मरण गराउनेछ । यसबाट नेपाल भारतको सम्बन्ध कति पुरानो रहेछ भन्ने प्रष्ट हुनेछ । यतिमात्र होइन, राममन्दिरमा राखिने धातुको धनुषले नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरिएको अयोध्यामा धनुष र कालिगण्डकीको शिलाबाट रामको मुर्ति बनाउने अभियानमा संलग्न पत्रकार रामजी दाहालले बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका