टोटनहममाथि आर्सनलको जित

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ । आर्सनलले टोटनहमलाई उसैको मैदानमा दुई-शून्यको जित निकाल्दै शीर्षस्थानमा आठ अंकको अग्रता हासिल गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गर्दा एक गोल उपहारस्वरूप पाएको थियो । खेलको १४औँ मिनेटमा टोटनहमका गोलरक्षक हृयुगो लोरिसको आत्मघाती गोलबाट आर्सनलले अग्रता लियो । बुकायो साकाले पोस्ट नजिकैबाट गरेको प्रहार लोरिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यस्तै, ३६औँ मिनेटमा मार्टिन ओडेगार्डले आर्सनलको अग्रता दोब्बर पार्नुभयो । बुकायो साकाले दिएको पासलाई ओडेगार्डले पेनाल्टी बक्सबाहिरबाट गोलमा परिणत गर्नुभएको हो ।

यस जितपछि आर्सनल १८ खेलबाट ४७ अंक जोडेर शीर्षस्थानमा यथावत् छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३९ अंक छ । पराजित टोटनहम १९ खेलबाट ३३ अंक जोडेर पाँचौँ स्थानमा छ ।

प्रिमियर लिगको अर्को खेलमा लण्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई एक-शून्य गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा काई हाभर्टजले ६४औँ मिनेटमा हाकिमी जियाचको पासमा निर्णायक गोल गर्नुभयो ।

यस जितसँगै चेल्सी १९ खेलबाट २८ अंक जोडेर १०औँ स्थानमा यथावत् रहेको छ । पराजित क्रिस्टल प्यालेस १८ खेलबाट २२ अंक जोडेर १२औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?