सर्वदलीय बैठक आज, राष्ट्रपति र सभामुख चयन प्रमुख एजेण्डा

राष्ट्रिय सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आहृवानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका १० राजनीतिक दलको बैठक बस्न लागेको हो । आफूलाई विश्वासको मत दिने दलबीच राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आहृवान गर्नुभएको छ । प्रतिनिधिसभामा माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । माघ ७ गते उपसभामुखको निर्वाचन गर्ने तयारी छ । माघ २८ गतेसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नु पर्नेछ । राजकीय पदहरूको चयनको लागि अब हुने निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

राष्ट्रपति/उपराष्ट्रपति र सभामुख÷उपसभामुख चयन लगायतका विषयमा राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठकमा छलफल गर्ने यसअघि नै घोषणा गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार करिब पाँच घण्टा छलफल गरेपछि बैठक बोलाउने निर्णय गर्नुभएको हो । ओली निवास बालकोटबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले सभामुख/उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्ने विषयमा बैठक बोलाइएको जानकारी दिँदै भन्नुभयो, ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूसँग छलफल भइरहेको छ । कांग्रेससँग पनि छलफल हुन्छ । मंगलबार विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ । त्यसबाट थाहा हुन्छ ।’

पुस १० गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दल र स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई पुस २६ गते विश्वासको मत लिँदा कांग्रेस र नेकपा एकीकृत समाजवादी दल थपिएर २६८ मत प्राप्त भएको थियो । प्रमुख प्रतिपक्षी दल हुने अपेक्षा गरिएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई पनि पदीय भागबण्डा मिलाउन इच्छुक देखिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले ११ गते शपथ लिनुभएको थियो । नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसद्मा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदहरूले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

विपक्षमा बस्ने अपेक्षाविपरीत कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले शशंकित बन्न पुगेको छ । कांग्रेसको त्यही विश्वासको मतले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अविश्वासको वातावरण बनेको देखिन्छ । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले थप संशय व्यक्त गरिरहेको छ ।

आकस्मिक रूपमा भएको प्रचण्ड-ओली मिलनपछि वर्तमान सातदलीय गठबन्धन बनेको थियो । राजनीतिक वृत्तमा वर्तमान गठबन्धनको धरातल निकै कमजोर भएको समेत टिप्पणी भइरहेको छ । कांग्रेसको विश्वासको मतपछि प्रचण्डले आफ्नो सरकारलाई राष्ट्रिय सहमतिको सरकारका रूपमा अघि सार्न खोजेको देखिन्छ । सभामुख तथा राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिमै अघि बढ्ने भनेर प्रधानमन्त्री प्रचण्डले मंगलबार सर्वदलीय बैठकसमेत बोलाउनुभएको छ । प्रचण्डले राष्ट्रिय सहमतिमा जोड दिइरहेका बेला एमाले अध्यक्ष ओली भने राष्ट्रपति चुनावमा माओवादीले दायाँबायाँ नगर्ने प्रतिबद्धता खोजिरहनु भएको छ । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले जसलाई समर्थन गर्छ त्यता नै पल्ला भारी हुने स्थिति छ । त्यसैले माओवादी केन्द्रसँग एमालेले राष्ट्रपतिको निर्वाचनमा अहिले नै विश्वासिलो समर्थन खोजिरहेको छ ।

सत्ता साझेदार दल एकैठाउँ छौँ : उपप्रधानमन्त्री पौडेल
नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार दल एक ठाउँमा रहेको दाबी गर्नुभएको छ । कांग्रेसलाई पनि पदीय भागबण्डामा सहभागी गराउनुपर्ने आशयसहितको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको चर्चा चलिरहेको उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘मंगलबार विश्वासको मत दिने दलहरूसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरूको विचार पनि सुनिन्छ । हाम्रा कुराहरू पनि राखिन्छ । सरकार जे जस्तो राजनीतिक दलहरूको सहमतिमा अगाडि बढेको छ गतिका साथ द्रुत गतिमा अगाडि बढ्छ । सरकारको आयुको बारेमा शंका गर्नुपर्ने ठाउँ छैन । कांग्रेससँगको छलफल फरक हो ।’

कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ : प्रवक्ता डा.महत
संसद्मा सबैभन्दा ठूलो दल भए पनि सम्पूर्ण रूपले सत्ताबाट बाहिरिएको नेपाली कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि भने केही हौसिएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने दाबी गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रवक्ता डा.महतले देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको जिकिर गर्दै भन्नुभयो, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ताबाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ । विभिन्न रूपरङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी सत्ताबाहिर रहेको छ ।’

सभामुखका लागि बुधबार मनोनयन दर्ता
संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनको तयारी पूरा गरेको जनाएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुनेछ । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुनेछ । प्रतिनिधिसभा नियमावलीमा भनिएको छ, ‘प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्नेछ ।’

बुधबार नै संसद् सचिवालयले सभामुखका उम्मेदवारहरूको सूची टाँस गर्नेछ । बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन हुनेछ । निर्वाचन दस्तखत सहितको मत विभाजनद्वारा सभामुख चयन हुनेछ । सभामुखका लागि एकजनाको मात्रै मनोनयन परे बिहीबार प्रतिनिधिसभाको बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ । तर, एकभन्दा बढी उम्मेदवार भए दर्ता क्रमअनुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुवै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको कुल सदस्य संख्याको बहुमत ल्याउने उम्मेदवार नै सभामुख निर्वाचित हुनेछन् । प्रतिनिधिसभा नियमावलीको नियम ५ मा भनिएको छ, ‘निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहमुतबाट पारित हन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ ।’

प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले १० माघभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने छ । ५ माघमा सभामुख चयन भएपछि उपसभामुख भने ७ माघमा चयन गर्ने तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?