राजनीतिको पहेली र दलहरू

यस पटकको राजनीति जसरी अगाडि बढेको छ त्यो धेरैले कल्पना गरेभन्दा फरक बाटोबाट हिँडेको देखिन आयो । एकजना प्रभावशाली नेताले नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो बनेको भन्नुभएको छ । उहाँको भनाइलाई आधार मानेर हेर्ने हो भने उक्त भनाइ गलत हो भन्ने ठाउँ देखिँदैन । त्यसमा पनि पूर्वप्रधानमनत्री द्वय झलनाथ खनाल र डा.बाबुराम भट्टराईको हालको राजनीतिलाई गाइडलाइन दिने कार्यमा त्यति धेरै भूमिका नहोला । यसका साथै माधवकुमार नेपाल अरू तीनजनाका तुलनामा पछाडि नै हुनुहोला । मूल भूमिकाका भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहँदै आउनुभएको देखिन्छ ।

उहाँहरू तीनैजनालाई नेपालको राजनीतिको महाचतुर खेलाडी मानिन्छ । नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुँदाहुँदै उसले नेपालको वर्तमान राजनीतिको नेतृत्व गर्नै नपाउने गरी बनेको यो समीकरण वर्तमान राजनीतिको एउटा पहेली हो भने हालै नेपाली कांग्रेसले प्रचण्डको सरकारलाई विश्वासको मत दिएर सबैलाई आश्चर्यमा पारिदिनुलाई अर्को पहेलीको दृष्टान्तका रूपमा अगाडि सार्न सकिन्छ । अहिले सातैवटा प्रदेशमा धमाधम सरकार बनिरहेका छन् । जसरी केन्द्रमा सात दलको गठबन्धनबाट सरकार बनेको छ त्यसरी नै प्रदेशमा तिनै दलको गठबन्धनको सरकार बन्नु अन्यथा होइन । नेपाली कांग्रेसलाई पाखा लगाउने गरी भएको यस गठबन्धनको उद्देश्य यही नै हो ।

पछिल्लो पटक नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएका कारणले पनि सरकारमा रहेका केही दलहरू झस्किएका छन् । यसबाट अब नेपाली कांग्रेस सत्ता पक्षमै आएको हो र प्रतिपक्षी भन्न मिल्दैन भन्ने विश्लेषण भइरहेको छ । नेपाली कांग्रेसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । पुरानो गठबन्धनमा रहेका पार्टीहरू पहिलेकै गठबन्धनमा जालान् कि भन्ने आशंका नेकपा एमालेमा रहेको छ र बेलाबेलामा झस्किरहेको छ । नेपाली कांग्रेसले आफ्नो सरकारको नेतृत्वको अधिकार गुमाएको अवस्थामा वर्तमान सरकारले दया गरेर दिएको एक-दुईवटा पदमा लालच देखाउनु सर्वथा अस्वाभाविक मानिन्छ तर उता प्रधानमन्त्री दाहालले राष्ट्रपति, उपराष्ट्रपति र सभामुखबारे गठबन्धनमा कुनै लिखित सहमति भएको छैन भन्नुभएको छ ।

यसबाट वर्तमान सत्तारुढ गठबन्धनमा अझै आशंका पैदा नहोला भन्न सकिँदैन । नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिन आएपछि एमालेमा त्यसै आशंका पैदा भएकै हो र प्रधानमन्त्रीको यस भनाइले यस्तो आशंकालाई अझै बढावा दिने काम भएको छ । सरकार भनेको त्यस्तो ठाउँ हो जसलाई सबै राजनीतिक पार्टी र राजनीतिज्ञहरूले आफ्नो अन्तिम लक्ष बनाएका हुन्छन् । अब लगभग सबैजसो पार्टीहरू सरकामा जाने भइसकेका छन् । सत्ता समीकरण भनेकै त्यस्तो खालको गठबन्धन हो जसमा विभिन्न थरी विचार र सिद्धान्त भएका पार्टीहरू एकै ठाउँमा आएका हुन्छन् । यसको अर्थ सबैले आफ्ना पार्टीको निष्टा त्यागिदिएका हुन्छन् भन्ने हो ।

त्यसबाट के प्रमाणित हुन आउँछ भने सबै पार्टीले सत्तालाई मात्र लक्षमा राखेका हुन्छन् । नत्र भर्खरमात्र स्थापना भएको रवि लामिछानेको राष्ट्रि स्वतन्त्र पार्टी सत्तामा जान हतारिनु हुँदैनथ्यो । त्यसो भएको भए अर्को निर्वाचनमा यो पार्टीले अझै बढी स्थानमा विजय गर्नसक्थ्यो । सिंगापुरका लि क्वान युको जस्तो अडान राख्न उक्त पार्टीले सकेन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नै उसको लक्ष बन्यो र यसपार्टीका अन्य केही व्यक्ति मन्त्रीका लागि तयार भएर प्रतीक्षा गरिरहेका छन् । अझै अनौठो कुरा त राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने भएको छ । यसमा उसको सिद्धान्त होइन स्वार्थ हावी भएको छ । कांग्रेस पनि सत्तामोहमै रहने हो भने अब प्रतिपक्षमा रहने कोही हुनेछैनन् ।

यस अवस्थामा सर्वदलीय सरकारको अवस्था सिर्जना हुने पो हो कि ? यदि त्यसो भयो भने त्यसलाई जनताले सहज रूपमा पचाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । प्रधानमन्त्री दाहालको आसयको विश्लेषण गर्नेहरूले राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख नेपाली कांग्रेसलाई दिने र नेपाली कांग्रेसले यी पदका लागि आफ्नो दाबी पेश गर्ने संकेत यो हुनसक्छ । तर, नेपाली कांग्रेसले यी पदमा दाबी गर्नु र त्यत्तिका लागि आपूm सत्तारुढ हुने चाहना गर्नु भनेको चाहिँ हुरीपछि पिउरी खोज्नुजस्तो मात्र हो भन्दा अन्यथा नहोला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?