लुम्बिनी प्रदेश सभामुख र उपसभामुखका उम्मेदवार निर्विरोध

हिमालय टाइम्स
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो । उहाँलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा (एमाले) का प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी समर्थक रहनुभएको थियो ।

प्रदेशसभाको आजको बैठकमा कार्यसूचीअन्तर्गत सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । संविधानको धारा १८२ को उपधारा १ बमोजिम सभामुख पदमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै उपसभामुख पदमा राप्रपाका मेनुका खाँण केसी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताउनुभयो । उहाँले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम प्रदेशसभाको माघ ५ गतेको बैठकमा विश्वासको मत लिनुहुने सरकारका प्रवक्ता रहनुभएका मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?