खिचाइका माध्यमबाट जीवन्तता दिने दायित्व छायांकारमा हुन्छ : थापा

Read Time = 13 mins

लमजुङ स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन नेपाली कला क्षेत्रमा पस्किरहेको नाम हो कृष्णबहादुर थापा । बुबा मीनबहादुर थापा र आमा काली थापाको कोखबाट लमजुङमा जन्मिनुभएका थापा नेपाली सिनेमेटोग्राफर क्षेत्रमा आफूलाई स्थापित गराउँदै हुनुहुन्छ । सानैदेखि यो क्षेत्रमा आउने आफ्नो चाहना इच्छाले गर्दा विस्तारै म यो क्षेत्रमा हेलिँदै गएको बताउनुहुने उहाँ कयेर टेकर, फोकस पुलर, चिफ एसिस्टेन्ट हुँदै यो क्षेत्रलाई आफ्नो पसिनाले सिञ्चन गर्नुभएको छ । खिचाइ माध्यमबाट जीवन्तता दिने दायित्व छायांकार रहेको बताउनुहुने छायांकार कृष्णबहादुर थापासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

यो क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखि यो क्षेत्रमा आउने मेरो चाहना इच्छाले गर्दा विस्तारै म यो क्षेत्रमा हेलिँदै गए । म एकैपल्ट छायांकारको रूपमा नभएर कयेर टेकर, फोकस पुलर, चिफ एसिस्टेन्ट हुँदै यो क्षेत्रमा आए । आफूले चाहेको रोजेको क्षेत्रमा केही उल्लेखनीय कार्य गर्न सकिन्छ भन्ने थियो र निरन्तर यो क्षेत्रमा छु । सुरुमा दीपक श्रेष्ठसँग ‘क्ल्याप’ हाने मैले पछि क्यामेरामा आए । क्यामेरामा केयर टेकरबाट मैले यस क्षेत्रको यात्रा सुरु गरे । काठमाडौं आउँदा वरिष्ठ कलाकार रवीन्द्र खड्कासँग भेट भयो । मलाई यो क्षेत्रमा ल्याउन उहाँको ठूलो हात छ । उहाँले नै मलाई यो क्षेत्रमा मलाई औपचारिक रूपमा ल्याउनु भएको हो ।

कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
विसं २०६६ सालदेखि यो क्षेत्रमा निरन्तर छु । मैले पचासभन्दा माथि विज्ञापन, आधा दर्जनभन्दा बढी म्युजिक भिडियो र फिल्म एउटा खिचेको छु । चलचित्र ‘हुक्का’ मैले खिचेको हुँ । यो चलचित्र यही माघमा सिनेमाघरमा आउँदै छ । अशिष्टेन्ट, चिफ अशिष्टेन्ट र फोकस पुलर भएर ५० भन्दा बढी चलचित्रमा काम गरेको छु । मेले काम गरेका केही चलचित्रको नाम लिनुपर्दा ‘चिसो मान्छे’, ‘आमा’, ‘के घर के डेरा’, ‘ए मेरो हजुर-२’, ‘मन्त्र’, ‘रुद्रप्रिया’लगायत थुप्रै छन् । यस्तै मैले तिलिचो मोटारसाइकल एक्सपिडिसनको पनि छायांकार गरेको छु । जुन वल्र्ड रेकर्डका लागि गरिएको थियो ।

छायांकार भन्नले के बुझने ?
छायांकार भनेको कुनै दृश्य या चल अवेजिक्टभलाई क्याप्चर गर्नु हो । रेकर्डिङ गर्नु हो । स्क्रिन मा चलिरहेको छविहरूको एक व्यवस्थित र सुसंगत तरिकामा पेश गर्ने कला हो ।

निर्देशकले आफ्नो सोच अनुरूपको दृश्य भाषा निर्माण गर्नुपर्छ भने त्यसलाई खिचाइ माध्यमबाट जीवन्तता दिने दायित्व छायांकारको हो । कथालाई मूर्तता दिने खिचाइ शैली र दृश्यलाई महत्व दिनु पर्दछ । दृश्य सामग्रीमा प्रविधि र कलाको संगम महत्वपूर्ण हुन्छ । त्यसैले जति अब्बल प्रविधि, उति जीवन्त दृश्य सामग्री बन्छन् ।

छायांकार मुख्य काम के हो ?
मलाई के लाग्छ भने कुनै पनि दृश्य सामग्रीको समग्र आँखाको भूमिका निर्वाह गर्दछ । समग्र दृश्यलाई निर्देशकको पोइन्ट अफ भ्यूबाट आमदर्शक माझ पुर्‍याउने काम छायांकारको हो ।

छायांकारमा के कस्ता अवयव हुन आवश्यक हुन्छ ?
सामान्यतया एउटा राम्रो छायांकारमा लाइट, फ्रेमिङ, ब्यागराउण्ड र कलर इडिटिङ डाइरेक्सन साथै हरेक कुराको जानकारी हुनुपर्दछ । सुटिङ सेटमा भइसकेपछि डाइरेक्टरको निर्देशनलाई सहज रूपमा बुझेर उत्कृष्ट नतिजा निकाल्नु नै छायांकारको दायित्व हो । कथालाई मूर्तता दिने खिचाइ शैली र दृश्यलाई महत्व दिनुपर्दछ । दृश्य सामग्रीमा प्रविधि र कलाको संगम महत्वपूर्ण हुन्छ । त्यसैले जति अब्बल प्रविधि, उति जीवन्त दृश्य सामग्री बन्छन् भन्ने विश्वास राखिन्छ ।

छायांकारको दायित्व के हो ?
निर्देशकले आफ्नो सोच अनुरूपको दृश्य भाषा निर्माण गर्नुपर्छ भने त्यसलाई खिचाइ माध्यमबाट जीवन्तता दिने दायित्व छायांकारको हो ।

छायांकारमा के कस्ता समस्या रहेको पाउनुहुन्छ ?
कथा, पात्र र परिवेश अनुरूपको ‘क्यामेरा पेसिङ’ कायम राख्न नसक्दा पर्दामा दर्शकलाई बाँध्न मुस्किल पर्छ । अक्सर हामीले भोगिरहेको पीडा हो, यो । आखिर सिनेमा भनेको शब्दको दृश्य रूपान्तरण न हो । त्यही दृश्य बलियो नभएपछि मोह हराउने भइहाल्यो । यस पक्षलाई ध्यान पुर्‍याउन जरुरी छ ।

कतिको गाह्रो छ यो क्षेत्रमा ?
हरेक क्षेत्रमा उत्कृष्टता प्रस्तुत गर्न चुनौती नै हुन्छ । फेरि हामीकहाँ नयाँ-नयाँ आउने निर्देशक चिफ अशिष्टेन्ट र सिनेमेटोग्राफरमा पूर्णरूमा निर्भर भएको पाइन्छ । सिनेमेटोग्राफरले होल लाइटिङ, स्टोरी टेलिङ, बगिङजस्ता कुरालाई एकदमै मध्यनजर गर्नु जरुरी हुन्छ ।

कतिको कम्प्रोमाइज गर्नुपर्छ ?
हो, हामीकहाँ यो समस्या छ । सबै निर्माताले चाहिने सम्पूर्ण सामग्री उपलब्ध गराउन सक्नुहुँदैन जसले गर्दा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ । जस्तै जोनी जिप लाग्ने सटहरू हुन्छ, स्टोरीले सिनले मागिरहेको कुराहरू बजेटका कारण दिन नसक्दा भनेजस्तो सटहरू लिन पाइँदैन जसले गर्दा स्टोरी टेलिङमा गाह्रो हुन्छ ।

नेपालको चलचित्र छायांकार कसरी सुरु भयो ?
यो हाम्रो इतिहासकै कुरा सोधनुभयो । मलाई जानकारी भएसम्म र मैले सुनेनुसार सन् १९५१मा भारतको कलकत्ता शहरमा डीबी परियार (दिव्यचन्द्र विक्रम परियार) ले पहिलो पटक ‘सत्य हरिशचन्द्र’ नामक नेपाली भाषामा कथानक चलचित्रको निर्देशन गर्नुभएको थियो । उहाँले त्यस चलचित्रको आफैं पटकथा लेखी सम्पादन कार्य पनि गर्नुभएको थियो र चलचित्रको निर्माण कार्यमा आंशिक लगानीसमेत गर्नुभएको थियो भनिन्छ । नेपालमा निर्माण गरिएको पहिलो नेपाली चलचित्र ‘आमा’ (२०२२) बन्नुभन्दा पन्ध्र वर्षअगाडि नै भारतको पश्चिम बंगलमा ‘सत्य हरिशचन्द्र’ नामक नेपाली भाषामा चलचित्र बनेको थियो । त्यो समयदेखि अहिलेसम्म आउँदा यो क्षेत्रमा अनेक उतार-चढाव आएका छन् । चलचित्र पर्दामा उतार्न धेरैको मिहिनेत रहेको हुन्छ । पर्दामा देखिने कलारकार पर्दा पछाडिका कलारको उत्तिकै मिहिनेतबाट एउटा राम्रो चलचित्र दर्शकमाझ आइपुग्छ । यसमा महत्वपूर्ण भूमिका छायांकार अर्थात् सिनेमेटोग्राफरको रहेको हुन्छ । नेपाली पहिलो चलचित्रदेखि अहिलेसम्म आइपुग्दा यो क्षेत्रमा थुप्रै छायांकारले आफ्नो प्रतिभाले यो क्षेत्रलाई सिञ्चन गर्नुभएको छ ।

तपाईं आफूले आफूलाई कत्तिको सफल छायांकार मान्नुहुन्छ ?
सबैभन्दा जटिल प्रश्न हो यो जस्तो लाग्छ । आफैंले आफैंलाई सफल असफल भन्नु भन्दा पनि मेरो क्रियशन, मेरा कामको मूल्यांकन हो । मेरा क्रियशनले राम्रै तारिफ बटुलिरहेका छन् । उत्कृष्ट हासिल गरेका छन् । अवार्ड प्राप्त गरिरहेका छन् । यस अर्थमा म सफल नै भन्नुपर्ला । मैले छोटो अवधिमा उल्लेख्य उपलब्धि हासिल गरेको छु । मेरो क्षमतालाई देखेर नै विभिन्न सांस्कृतिक कार्यक्रमदेखि म्युजिक भिडियो, वृत्तचित्र, टेलिचलचित्र र ठूलो पर्दाको चलचित्रसम्म दिनानुदिन माग बढ्दो छ । यो पेशामा होमिएपछि सदा व्यस्त रहेको छु ।

विभिन्न संघसंस्थामा रहेर कार्य गर्दै आउनुभएको छ र यहाँका कार्यले प्रशंसा बटुलिरहँदा मान, सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्नुभएको छ नि ?
म नेपाल चलचित्र प्राविधिक संघको कार्यकारी सदस्य रहेर कार्य सम्पादन गरिरहेको छु भने तपाईंले भनेजस्तै मेरा कार्यले प्रशंसा बटुलिरहँदा विभिन्न मान, सम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । हालै राजधानी काठमाडौंमा सम्पन्न भएको सगरमाथा म्युजिक अवाडमा ‘मिठो सांरगी’बाट अवार्ड प्राप्त भएको थियो ।

अन्त्यमा ?
मेरा केही कुरा, नेपाली कला क्षेत्रका केही कुरा राख्ने मौका दिनुभएकोमा आभारी छु । नेपाली कला क्षेत्रको संमग्र विकासका लागि यो क्षेत्रमा लाग्नुहुने सम्पूर्ण व्यक्तिहरूको त्यतिकै जिम्मेवारी हुन्छ । एउटा प्रस्तुतिलाई राम्रो रूपमा दर्शकमाझ पु¥याउँदा पर्दा अगाडि र पर्दा पछाडिका धेरै व्यक्तिको मिहिनेत परेको हुन्छ । पर्दा पछाडि रहेर पर्दामा उत्कृष्ट सिर्जना प्रस्तुत कसरी गर्न सकिन्छ भनेर हरसमय लाग्ने म जस्ता व्यक्तिहरूलाई सम्झनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?