मन्त्रिमण्डल विस्तारकै दिन सेयर बजारमा सुधार

Read Time = 3 mins

काठमाडौं । मन्त्रिमण्डल विस्तारसँगै सेयर बजारमा फेरि सुधार आएको छ । मंगलबार सेयर बजार ३२ अंकले बढेको छ । पछिल्ला दुई कारोबार दिनमा नेप्से ६२ अंकभन्दा बढीले घटेकोमा मंगलबार भने दोहोरो अंकले बढेको हो । तर, नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन नेप्से ३२.७२ अंकले बढेर २१८२.११ अंकमा पुगेको छ भने दुई सय ५० कम्पनीका एक करोड १८ लाख ८३ हजार दुई सय ८७ कित्ता सेयर तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार पाँच सय ८७ रुपैयाँमा कारोबार भएको छ ।

बैंकिङ समूहको सूचक ४.४५ अंकले घटे पनि बाँकी सबै समूहको सूचक बढेका छन् । विकास बैंक १०१.३६, वित्त कम्पनी ६३.९०, होटल तथा पर्यटन १६३.८२, जलविद्युत् १२७.३९, जीवन बीमा १५२.६०, लघुवित्त ५६.४०, निर्जीबन बीमा ११६.०८ अंकले बढेको हो । ग्रिन भेन्चर, आदर्श लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर, घलेम्दी हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको अपी पावर कम्पनीको २३ करोड २६ लाख आठ हजार तीन सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रो स्थानमा अपर तामाकोशी र ङादी पावर कम्पनी रहेका छन् ।

तीन दलाल कम्पनीलाई कारबाही
धितोपत्र दलाल व्यवसायी सनी सेक्युरिटिज कम्पनी, इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालि र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कारबाहीमा परेका छन् । नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा विवरण पेश नगर्ने तीन धितोपत्र दलाल व्यवसायीलाई कारबाही गरेको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीबमोजिम जरिवाना गरिएको बोर्डले जनाएको छ । बोर्डका सहायक प्रवक्ता तेजप्रसाद देवकोटाले इम्पेरियल सेक्युरिटिज र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्टलाई ७५ हजार रुपैयाँ तथा सनी सेक्युरिटिजलाई १० हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?