बजारको अभावमा जंगलमै अलपत्र स्लेट खानी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । घर छाउने ढुंगा, स्लेट र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण जंगलमा नै अलपत्र परेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउने ढुंगा, स्लेट र औषधिजन्य जडीबुटीको खानी नै भए पनि त्यसबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन भने सकेको छैन । यहाँको स्लेट खानीले भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएको छ ।

गाउँको सिरानमा रहेको भिरालो पाखोमा विदेशबाट आयातित संगमरमरभन्दा पनि स्तरीय स्लेट ढुंगा खानी रहेको छ । सो ढुंगा खानीलाई व्यवस्थितरूपमा सञ्चालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्ये आम्दानी हुने स्थानीय बताउँछन् । यहाँको स्लेट र ढुंगा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ । प्रविधि र प्रशोधनको व्यवस्था हुनसक्ने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान दिन नसकेको गुनासो स्थानीयको छ ।

रुमका विभिन्न सात ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई अलि-अलि आम्दानी हुने गरेको भए पनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ ।

रुम स्लेट र जडीबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताउनुभयो । यहाँ रहेका सम्पदाहरूको पहिचान र व्यवस्थापन गरी तिनीहरूलाई स्थानीय तहको आयसँग जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

केही वर्षअघिसम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतका जिल्लाका विभिन्न गाउँहरूबाट यहाँका घर छाउने ढुंगाको माग आउने गर्दथ्यो । तर, हिजोआज पक्की घर निर्माण गर्नेक्रम बढ्दै गएपछि म्याग्दीबाहेक अन्य जिल्लाहरूबाट माग आउन छोडेको विगत ४० वर्षदेखि खानीबाट ढुंगा निकाल्दै आउनुभएका ७२ वर्षीय छेमबहादुर विकले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?