तेस्रो पटकमा सुदूरपश्चिमले पायो सभामुख, माओवादीका भण्डारी निर्वाचित

Read Time = 4 mins

यज्ञराज जोशी/पुरन साह/हिटा
धनगढी, जनकपुरधाम । प्रदेशसभामा तेस्रोपटक निर्वाचन भएपछि बल्ल सुदूरपश्चिम प्रदेशले सभामुख पाएको छ । यसअघि बहुमत नपुगेको भन्दै दुईपटक प्रदेशसभाले सभामुख पाउन सकेको थिएन । तर, मंगलबार २९ सांसदको बहुमतसहित नेकपा माओवादीका भीमबहादुर भण्डारी सभामुखमा निर्वाचित हुनुभयो । सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावलले २० मत मात्रै पाउनुभयो । कांग्रेसका १९ तथा एकीकृत समाजवादीका चार सांसदले साथ दिने भने पनि रावलले सबैको साथ पाउन सक्नुभएन ।
यसअघि आफ्ना माग पूरा नभएको भन्दै मतदान प्रक्रियामा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदहरूले समेत मतदान गरेपछि भण्डारीको पक्षमा बहुमत जुटेको हो । भण्डारीलाई माओवादीका ११, एमालेका १०, नाउपाका सात र राप्रपाका एक सांसदको समर्थन रह्यो ।

सुदूरपश्चिमा माओवादी केन्द्र, नेकपा एमाले, नाउपा र राप्रपा मिलेर सरकार बनाएका छन् । सोहीअनुसार एमालेका राजेन्द्रसिंह रावल २९ सदस्यको समर्थनसहित मुख्यमन्त्री बनिसक्नु भएको छ । माओवादी केन्द्रले सभामुख पाउने सहमतिअनुसार भीमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको थियो । तर, आफ्ना मागहरूमा लिखित सहमति हुनुपर्ने अडान नाउपाले राखेपछि यसअघि दुईपल्ट सभामुख चयन हुन सकेको थिएन । यहीबीच नाउपासँगको छलफलमा उनीहरूका माग पूरा गर्न माओवादी–एमाले गठबन्धन तयार भएपछि नाउपाले समर्थनमा भोट दिएको थियो ।

सुदूरपश्चिम प्रदेशले दोस्रो सभामुख पनि बझाङ जिल्लाबाटै पाएको हो । यसअघि बझाङकै अर्जुनबहादुर थापा सभामुख हुनुहुन्थ्यो । उहाँको उत्तराधिकारीका रूपमा बझाङ प्रदेश २ बाट निर्वाचित भण्डारी सभामुख बन्नुभएको हो । २०५२ सालबाट नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ २०५८ सालपछि भने नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दै भूमिगत बन्नुभएको थियो । उहाँ माओवादी केन्द्रको जिल्ला सचिव हुँदै विभिन्न विभागीय संगठनको जिम्मेवारीमा समेत रहिसक्नु भएको छ ।

मधेश प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित
मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । मधेश प्रदेशसभाको मंगलबार बसेको दोस्रो कार्यकालको दोस्रो बैठकबाट माओवादी छाडेर एमाले रोज्नुभएका मण्डल सभामुखमा निर्वाचित हुनुभएको हो ।

मण्डलको पक्षमा ७४ मत परेको छ भने विपक्षमा मात्र २९ मत परेको छ । मंगलबारको बैठकमा उपस्थित कुल सांसदको संख्या १०३ रहेको थियो । २०४६ सालमा एमालेको अनेरास्ववियुबाट विद्यार्थी राजनीति जीवनको सुरुवात गर्नुभएका ४९ वर्षीय मण्डल शिक्षण पेसामा रहँदै गर्दा २०५४ मा माओवादीमा सदस्यस्ता लिएको र २०५९ देखि पूर्णकालीन सक्रिय राजनीतिको सुरुवात गर्नुभएको थियो । पछि नेकपाबाट माओवादी र एमाले फुट्दा उहाँले आफ्नो पुरानो पार्टी एमाले नै रोज्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?