पोखरा विमान दुर्घटना : ४८ शव काठमाडौं ल्याइयो, परीक्षणपछि आफन्तलाई बुझाइने

डिबी शर्मा
Read Time = 3 mins

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरमार्फत् मंगलबार ४८ शव काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुई चरणमा गरी ४८ शव काठमाडौं ल्याइएको प्राधिकरणले जनाएको छ । दुर्घटनामा हालसम्म भेटिएका प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई पोखरामै आफन्तलाई बुझाइएको प्राधिरकणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं ल्याइएका शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणका लागि लगिएको छ । परीक्षणपछि ती शव आफन्तलाई बुझाइने उहाँले बताउनुभयो ।

काठमाडौंबाट उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये सोमबारसम्म ६९ जनाको शव फेला परेको थियो । मंगलबार थप दुई जनाको शव फेला परेको हो । एकजना अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्राधिकरणले जनाएको छ ।

एटिआर निर्माता कम्पनीको विज्ञ टोली फ्रान्सबाट नेपाल आइपुग्यो
यती एयरलाइन्सको एटिआर ७२ जहाजको आइतबार भएको दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट टोली नेपाल आएको छ । एटिआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । एटिआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली मंगलबार नै पोखरा पुगिसकेको उहाँले बताउनुभयो । सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?