प्रधानमन्त्री कप महिला टी–२० : लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइनलमा

Read Time = 3 mins

सुनसरी । लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिेकट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

इटहरीको जनता पार्कमा सम्पन्न बुधवारको पहिलो खेलबाट सुखद् नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघि समूह ए बाट सुदूरपश्चिम समूह विजेता र एपिएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए । यस्तै समूह बी बाट प्रदेश १ सबै खेलमा जित निकाल्दै नकआउट चरणमा पुगेको थियो ।

बुधवार अन्तिम चारमा स्थान बनाउने क्रममा मधेसले प्रश्तुत गरेको १ सय ८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र ९१ रन जोड्नसक्यो । लुम्बिनीका लागि रञ्जु श्रेष्ठ र मधु डिसीले अविजित समान २१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन । यसअघि ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दै मध्यम शुरुवात गर्दा आस्मा पुलामी मगर र कप्तान सरस्वती जिएमले समान ११ रनको पारी खेलेका थिए । यस बाहेक सरस्वती पुनले १० रन जोड्दा सुस्मिता बजगाई शुन्यमा पवेलियन फर्किन् । लुम्बिनीको इनिङलाई रोक्ने क्रममा मधेसकी भूमी सिंहले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले पूरै २० ओभरमा पाँच विकेटकौ क्षतिमा १ सय ७ रन बनाएको थियो । मधेसका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । लुम्बिनीका लागि मनिषा राना, सरस्वती पुन र बिवास्ना जिसीले समान एक विकेट लिए ।

प्रतियोगितामा शुक्रवार सेमिफाइनल खेल हुनेछन् । दिनको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल एपिएफ र प्रदेश १ बीच हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?