कटुवा पेस्तोल र गोलीसहित सर्लाहीबाट एक युवक पक्राउ

Read Time = 2 mins

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारबाट आज हतियारसहित एक युवक पक्राउ परेका छन् ।

ईश्वरपुर नगरपालिका–५, नरेशखोरका २२ वर्षीय सन्जितकुमार महतो हतियारसहित पक्राउ परेका हुन् । महतोको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार महतो मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न हुँदै आएका थिए ।

जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका पीडितसँग पैसा असुल्ने गरेको उजुरीको आधारमा प्रहरीले विशेष सुराकीको आधारमा महतोलाई आज मध्यान्ह ईश्वरपपुर नगरपालिका–६, बयलवास बजारबाट पक्राउ गरेको हो । महतोले मोटरसाइकल चोरी गरी पीडितलाई भारतसम्म बोलाएर २५, ३० हजार रुपियाँ माग्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । महतोलाई नियन्त्रणमा लिएर खानतलासी लिँदा उनले शरीरमा लुकाएर बोकेको पेस्तोल र गोली बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

मोटरसाइकल चोरीमा संलग्न गिरोहका अन्य व्यक्तिको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?