चल्दैनन् हाते चर्खा : देखिँदैनन् गाउँमा काम्लो, घुम र हापदुला

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । पुस महिनाको पाहारिलो घाम ताप्दै आगनको बीचमा ओछ्याइकौ ऊनको गलैंचामा बसेर हाते चर्खा घुमाएर धागो कात्दै गरेकी म्याग्दीको रघुगंगा गाउँपालिका ६ ठाडाखानीकी ७३ वर्षिया देउमाया छन्त्याललाई चर्खा चलाउन उति जाँगर लाग्दैन ।

करिव दुई दशक अघिसम्म गाउँका घरैपिच्छे चल्ने हाते चर्खा अहिले गोठमा थन्किए पनि कहिलेकसो देउमायाजस्तै ठाडाखानी गाउँका बुद्धिसरा, हिमाली र टीका छन्त्यालहरुले चलाउने गर्नुभएको छ ।

दुई दशक पहिले चर्खाबाट ऊनको धागो निकाली घरेलु तानमा बुन्ने हापदुला, काम्लो, बख्खु, घुम लगाएतका घरेलु ऊनका न्याना कपडाहरु हिजोआज गाउँमै समेत देख्न मुस्किल हुन थालेको छ ।
उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यवसायिकरुपमा भेडा पालन हुँदै आएपनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएपछि रैथाने सीपमा आधारित यस्ता न्याना कपडाहरु लोप हुँदै गएका हुन् ।

गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयले बताएका छन् ।

भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै आएका भए पनि भेडा मासुको रुपमा मात्र प्रयोग गरिदा ऊनबाट हुने व्यवसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन ।

भेडाको रौं निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने रघुगंगा गाउँपालिका ६ मा वडाअध्यक्ष मनप्रसाद शेरपुंजाले बताउनु भयो । भेडाको रौंबाट बनेका ऊनका कपडाको माग देश– विदेशमा समेत उच्च रहेपनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा दोहोरो आम्दानीबाट वन्चित हुनु परेको भेडापालक कृषकहरुको भनाइरहेको छ ।

ऊनबाट बन्ने कपडाहरू (हापदुला, काम्लो, बख्खु, घुम) को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ ।
गाउँघरका बूढापाकाहरुले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउनतर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेका मालिका गाउँपालिका ५ देविस्थानका टेकबहादुर बूढाले बताउनु भयो ।
धवलागिरि गाउँपालिका ५ की तेजमायाँ विक उमेरले ७१ वर्षकी हुनु भयो । जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौंबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उहाँ ले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडिन् । उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ ।

तेजमाँयाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आउनुभएको हो । उहाँले रौँबाट बन्ने कपडा बुन्न बजैबाट (हजुरआमा) सिक्नुभएको हो । तर, अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उहाँ बताउनु हुन्छ । ‘मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखेँ, त्यसपछि मैले पनि बुन्न थालेँ, तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ‘ विकले भन्नुभयो‘अहिलेका पुस्ताले यस्ता कामहरू गर्नै जान्दैनन्, चासो नै दिँदैनन्, हाम्रो शेखपछि यी सबैकुरा हराएर जान्छन् ।’

‘त्यतिबेला अहिलेको जस्तो सिरक,डसनाको जमाना थिएन’ उनले भनिन् ‘सबै भेडाको रौँबाटै बनेका घुम, काम्लो थियो, कपासको कपडा त धेरै पछि आएको हाम्रो ठाममा ।’
अहिलेका पुस्ताले परम्परागत सीप नसिकेको प्रति विक चिन्तित हुनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘अहिलेका केटाकेटीहरु पुरानो जमानाका कुरालाई खुइले कुरा भन्छन्, चासै दिँदैनन्, हामी बाचुन्जेल ओड्ने,ओछ्याउने हो मरे पछि यी पुराना थाउनालाई हामीसंगै पोलिदिन्छन् ।’
ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम पाँच हजारदेखि ४०÷५० हजारसम्म पर्ने गरेको स्थानीय बूढापाकाहरुको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनु भयो ।
उहाँले पछिल्लो समय ऊनका कपडाहरूको उत्पादन कम हुँदै गएको स्वीकार गर्नुभयो । नयाँ–नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उहाँको भनाइ छ ।

‘पहिले पहिले दुःख पाउने (गरिब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र शौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ’ मालिका गाउँपालिका ७ बिमका कर्मबहादुर जुग्जालीले भन्नुभयो ‘यस्ता कपडाहरु वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक हुनेहुनाले बुझेका र किन्न सक्ने मानिसहरुले खोजी गर्ने गर्दछन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?