चिनीको मूल्य नियन्त्रण गर्न माग

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको सहज आपूर्ति व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । छिमेकी मुलुक भारतले समेत पाँच महिनासम्म चिनी निर्यातमा बन्देज लगाएको र चालु आर्थिक वर्ष सरकारी संस्थानबाट चिनी आयात गरी आपूर्ति व्यवस्थापन गर्न नदिएका कारण भारतमा अहिले पनि प्रतिकेजी ४० रुपैयाँ हाराहारीमा पाउने चिनी नेपालमा उपभोक्ता प्रतिकेजी एक सय १० रुपैयाँ तिर्न बाध्य भइरहेको भन्दै मञ्चले चिनी सहज आपूर्ति व्यवस्थाको माग गरेको हो ।

वैधानिकरूपमा चिनी आयात नै नभएको अवस्थामा बजारमा चिनी कसरी आपूर्ति भइरहेको छ भन्ने कुरासमेतको अध्ययन नगरी हचुवामा अर्थ मन्त्रालयले बजारमा प्रशस्त चिनी आपूर्ति भइरहेको भनिरहँदा आमनागरिकलगायत सम्बद्ध क्षेत्र आश्चर्यमा परेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । पूर्णतः तस्करबाट आयातित चिनीले बजारको माग धानिरहँदा बजार मूल्य अस्वाभाविकरूपमा बढेको मात्र नभई ठूलो परिमाणमा राजस्वसमेत गुमिरहेको, स्वदेशी उत्पादन निरुत्साहित भएको उहाँको भनाइ छ ।

मञ्चका अनुसार नेपालमा चिनीको खपत वार्षिक दुई सय ८० हजार मेट्रिकटन रहेको र स्वदेशी उत्पादन पूर्ण क्षमतामा चल्दा करिब दुई सय ४० हजार मेट्रिकटनमात्र उत्पादन हुने गरेको छ । विगतमा सरकारले नेपालको सार्वजनिक संस्थानमार्फत् स्वदेशी उत्पादनबाट नपुग चिनी विदेशबाट आयात गरी बजारमा आपूर्ति गर्दै आएको भए तापनि यस वर्ष अर्थ मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समन्वय अभावका कारण चिनी आपूर्तिमा असहज अवस्था सिर्जना भएको भन्दै मञ्चले सहज आपूर्ति व्यवस्थापनमा जोड दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?