राष्ट्रपति पद मेरा लागि होइन, बाहिरै बसेर गर्नुपर्ने काम धेरै छन् : डा. रुइत

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको प्रतिक्रिया दिनुभएको हो । उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएरभन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरू धेरै रहेको बताउनुभयो ।

डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता महत्वपूर्ण हुने बताउनुभयो । अहिले त्यसको कमी रहेको र त्यसलाई विश्वसनीय बनाउन सबैले काम गर्नुपर्ने बताउनुभयो । ‘लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता असाध्यै बढी छ, रबरस्ट्याम्प भए पनि भारतको राष्ट्रपतिलाई हेर्नुहोस् कस्तो सम्मान छ । हामी सबै मिलेर राष्ट्रपतिको त्यो विश्वसनीयता र सम्मान कामय गर्नुपर्छ । त्यसमा कमी छ,’ उहाँले भन्नुभयोे । राष्ट्रपति पद आफ्नो लागि नभएको डा. रुइतको भनाइ थियो । उहाँले आफूले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो । ‘यो पद मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान बुझेको छु । यही कारणले नै यहाँसम्म आएको हो । मैले दायाँबायाँ गर्ने होइन । सक्नेभन्दा अरू काम गर्दैन, जान्दैन पनि । मैले योभन्दा गर्नुपर्ने काम धेरै छ,’ उहाँले भन्नुभयो । आफूले पाएको अवार्ड ठूलो र सम्मानित भएको बताउँदै डा. रुइतले राज्यले पनि त्यसको महत्व बुझ्नुपर्ने बताउनुभयो । उहाँले जनता खुसी भएको अवस्थामा राज्यले पनि सोही अनुसारको दायित्व पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।

१३ करोडको इसा अवार्ड
डा.रुइतले १० लाख डलर अर्थात् नेपाली रुपैयाँ १३ करोड पुरस्कारसहितको प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा विश्वभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ । डा. सन्दुक रुइत इसा अवार्डको पाँचौँ संस्करणको विजेता बन्नुभएको छ ।

बहराइनका राजाका विशेष प्रतिनिधि तथा इसा अवार्ड बोर्डका अध्यक्ष हिज हाइनेस शेख मोहम्मद विन मुवारक अल खालिफाले मनामास्थित इसा सांस्कृतिक केन्द्रमा आयोजित सार्वजनिक घोषणा समारोहमा इसा अवार्डको पाँचौँ संस्करणको लागि डा. रुइत विजयी भएको घोषणा गर्नुभएको थियो ।

इसा अवार्ड सचिवालयले अवार्डका लागि प्राप्त मनोनयनहरू मध्येबाट छनोट चरणका विभिन्न प्रक्रिया र मूल्यांकनबाट विजयी छनोट गरेको हो । मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई नवीन प्रविधि विकास, गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउन उहाँले पुर्‍याएको विशिष्ट योगदानको निम्ति योग्य ठहरिनुभएको हो । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?