पाल्पाका स्वास्थ्य चौकीमा पिउने पानी दूषित !

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । पाल्पाका स्वास्थ्य चौकीहरूमा पिउने पानी दूषित भएको तथ्य फेला परेको छ । यहाँका आधा दर्जन स्वास्थ्य चौकीहरूमा स्वास्थ्य कार्यालय पाल्पाले गरेको पानीको नमुना परीक्षणमा पिउने पानी दूषित भएको पुष्टि भएको हो । यहाँका स्वास्थ्य चौकीहरूको लापरबाहीले उपचार गर्न पुगेका बिरामीहरूले दूषित पानी पिउन बाध्य भएका छन् । मानिसहरू बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्था जाने गर्छन् तर, तिनै स्वास्थ्य संस्थामा पिउने पानी दूषित हुँदा त्यहाँ पुग्ने बिरामी थप रोग बोकेर घर फर्कनु परेको छ ।

संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ । तर, मौलिक हकको प्रावधान लागू गर्न स्वास्थ्य संस्थाहरूलाई निकै सकस परेको छ । बिरामीलाई स्वस्थ गराउन प्रयासरत स्वास्थ्य संस्थाहरू नै स्वच्छ, खानेपानी र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिक हक कार्यान्वयनमा उदासीन देखिएका छन् । स्वास्थ्य संस्थाको उदासीनताका कारण पाल्पाका आधा दर्जन स्वास्थ्य चौकीहरूमा दूषित पानीको प्रयोग भएको पाइएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले पानी परीक्षण गरेका केही स्वास्थ्यचौकीमा पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक ‘कोलीफर्म’ भेटिएको पाइएको हो । यहाँका तिनाउ गाउँपालिका, रिब्दिकोट गाउँपालिका, बगनाकासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीमा इकोली र कोलिफर्मका जीवाणु फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुुभयो । उहाँका अनुसार पाँचवटा पालिकाका केही स्वास्थ्य संस्थाहरूमा गरिएको पानी परीक्षणमा इकोली र कोलिफर्मका जीवाणु फेला परेको हो ।

रिब्दिकोट गाउँपालिकाको कुसुमखोला स्वास्थ्य चौकी, तिनाउ गाउँपालिकाको दोभान स्वास्थ्य चौकी, माथागढीको रहबास स्वास्थ्य चौकी, गोठादी स्वास्थ्य चौकीमा बिरामीले पिउन प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको डा. गिरीले बताउनुुभयो । उहाँका अनुसार बगनासकालीको चिर्तुंगधाराको एक घरमा प्रयोग भएको पिउने पानीमा समेत कोलिफर्म जीवाणु भेटिएको छ । पानी परीक्षण गरिएको तानसेनको जिल्ला अस्पतालमा भने त्यस्तो भेटिएको छैन । स्वास्थ्य संस्थामै बिरामीले प्रयोग गर्ने पिउने पानी दूषित देखिनु दुःखद भएको डा. गिरीले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘पानी शुद्ध र पिउन योग्य बनाउन सबैको ध्यान जानुपर्दछ, हामीले सम्बन्धित स्थानीय सरकार र खानेपानी डिभिजन कार्यालयलाई आवश्यक सुधार गर्न र सतर्कता अपनाउन भनेका छौँ ।’ अहिले खानेपानी तथा गुणस्तर चेक जाँचसम्बन्धी कार्यक्रमअन्तर्गत जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा पानीको परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘हामीले पानीमा रहेको टर्वीडिटी, कन्डक्टिभिटी, क्लोरिनको परिमाण, पिएच, इकोली र कोलिफर्मको जाँच गर्ने गरेका छौँ ।’

पानी दूषित भेटिएपछि दूषित भएको कारण पत्ता लगाउन र समस्या समाधान गर्न सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ । केहीको मूल (स्रोत)मै पानी दूषित भएको पाइएको छ भने केहीको बीच भागमा पाइप फुटेर पानी दूषित भएको पाइएको हो । इकोली र कोलिफर्म जीवाणु जंगली जीवजन्तुका दिशामा समेत फेला पर्दछ । दूषित पानी शुद्धीकरण गर्न मूल सफा गर्ने, पाइप बीचमा फुट्न नदिने, पानी उमालेर वा शुद्धीकरण गरेर पिउने गर्नुपर्ने डा.गिरीले बताउनुभयो । स्वास्थ्य संस्थामा प्रयोग हुने पानी दूषित भेटिएपछि अन्य स्थानमा प्रयोग हुने पिउनेपानी दूषित रहेको आशंका गरिएको छ । पाल्पा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जिल्लाभर नै पानीको गुणस्तर जाँच गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ध्यानाकर्षण गरिएको बताउनुभयो । तत्काल सबै स्थानमा पानीको जाँच गर्न सम्भव नभए पनि ठूला बस्तीले प्रयोग गर्ने पिउने पानी जाँच गर्नुपर्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?