पक्षप्रतिपक्षका सवाल जवाफ

हिमालय टाइम्स
Read Time = 7 mins

कम्युनिष्ट पार्टी बहुल सरकारले पूर्णता पाएको छ । भन्न त सरकारले अझै पूर्णता पाएको छैन भनिएको छ तर पहिले बनेको सानो आकारको सरकार विस्तार भएपछि अब भने यसले अझै पूर्णता पाएको छैन भन्न मिल्दैन । सरकारमा मंगलबार भएको विस्तारपछि उपप्रधानमन्त्री, मन्त्री र सहायकमन्त्रीहरू थपिएका छन् । तिनले आ-आफ्नो पदको शपथ ग्रहण गरिसकेका छन् । तर, केही साना दलहरूले आफूले पाएको पद र मन्त्रालयमा चित्त बुझाएका छैनन् । निकै ठूला-ठूला कुरा भइसकेको अवस्थामा ती सानातिना कुरामा सुधार गरी तिनलाई चित्त बुझाउने काम छिटै होला त्यसमा त्यति जनचासो छैन । सबै चासोहरूको निराकरण भइसकेका बेला अबको जनचासो राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखहरूको ।

नेपाली कांग्रेसबाहेक अरू दलहरूबाटै पूर्णबहुमत पुर्‍याएर सरकार बनाउन दलहरू सफल भएका थिए । सरकारले विश्वासको मत लिनुपर्ने वैधानिक औपचारिकता सम्पन्न गर्ने समारोहमा नेकपा एमालेबाटै विश्वासको मत नआउने हो कि भन्ने आशंकाहरू बढिरहेका बेला नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने निर्णय गरेपछि सरकार विश्वासको मत पाउन सर्वसम्मत रूपमा सफल भयो । यो एक प्रकारको रहस्यमय परिस्थिति हो भन्ने केहीको विश्लेषण रहृयो । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेस पनि सत्तापक्ष नै भयो भन्ने मत अघि सारियो । नेपाली कांग्रेसको यस व्यवहारको सबैभन्दा खरो रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट विरोध हुँदै आएको छ ।

आफू दोस्रो पार्टी भएर पनि सरकारका जान पाउने परिस्थिति खडा भएको अवस्थामा नेपाली कांग्रेस सरकार पक्षमा सामेल भएर महत्वपूर्ण पद प्राप्त गर्न सफल बन्न सक्छ कि भन्ने मनोवैज्ञानिक भय ओलीमा छ । त्यसैले पटक-पटक नेपाली कांग्रेसप्रति उहाँ कटाक्ष गर्दै आउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसप्रति उदार देखिनु भएकाले ओलीमा त्यसप्रकारको मनोवैज्ञानिक भय अझै बढेर गएको पाइन्छ । नेपाली कांग्रेसले हामी सत्तापक्ष होइनौँ प्रतिपक्ष नै हौं भनिरहँदा ओलीको आशंका समन भएको देखिँदैन । जुन दिन सभामुख उपसभामुख राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचान भएर ती पदको छिनोफानो होलो त्यस दिनपछिमात्रै उहाँको मानसिक भय समन होला ।

प्रधानमन्त्रीले सर्वदलीय बैठक गराएर त्यहाँ पनि नेपाली कांग्रेसप्रतिको सद्भाव प्रकट गर्नुभएका कारण नेकपा एमालेका अध्यक्ष ओलीको आशंका चुलिन पुगेको हो । यही सन्दर्भ निकालेर उहाँले त्यहाँ पनि नेपाली कांग्रेसप्रति कटाक्ष गर्नुभएको थियो र त्यही नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिकार गर्नुभएको थियो । नेपाली राजनीतिको वर्तमान सन्दर्भ जसरी अगाडि बढेको भए पनि नेपाली कांग्रेसले सत्ता गठबन्धनमा ल्याइने राष्ट्रपति र सभामुखको प्रस्तावमा छलफल गर्न कांग्रेस तयार रहेको जनाएको छ । कांग्रेसले सरकारलाई आफूले विश्वासको मत दिए पनि आफू प्रतिपक्षी दल भएको जनाएको छ । कम्युनिष्ट पार्टीहरूको घोषित नीति नै संसदीय प्रणालीलाई उपयोगमात्र गर्ने हो ।

यस प्रणालीलाई साधन बनाएर साध्यतर्फ अगाडि बढ्ने र साध्य भनेको जनगणतन्त्र नै हो भनेर उनीहरूले बेलाबेलामा बताउने गरेका छन् । त्यसकारण संसदीय प्रणालीलाई संरक्षण गर्ने उनीहरूको नीति होइन । साढे दुई सय वर्षको राजतन्त्र फालेर स्थापित गरिएको यस प्रणालीलाई जोगाउनु कांग्रेसकै जिम्मेवारी हो । त्यसैले नेपाली कांग्रेस पार्टीले वर्तमान संविधान र वर्तमान राज्यप्रणालीलाई बचाउने जिम्मेवार आफ्नो भएको बताउँदै आएको छ । त्यसैका लागि राष्ट्रपति र सभामुखको पदमा प्रतिस्पर्धा गर्ने उसले जनाएको छ । यसका लागि कांग्रेसको मतले पुग्दैन र अरू केही पार्टीहरूको मत आवश्यक पर्छ तर भएभरका पार्टीहरू सरकारमा सामेल भएका छन् ।

तिनले नेपाली कांग्रेसलाई मत दिँदैनन् । तिनले मत नदिएसम्म नेपाली कांग्रेस ती पदमा विजयी बन्न सक्दैन । तैपनि संसदीय प्रणालीको सबैभन्दा उत्तम अभ्यास भनेको निर्वाचन हो । यही गुरुत्तर विचारलाई मनन् गर्दै कांग्रेसले ती पदमा प्रतिस्पर्धा गर्न चाहेको हो । जसले गर्दा वर्तमान संविधान र वर्तमान राज्यप्रणाली वा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण हुन जान्छ भन्ने मान्यता नेपाली कांग्रेसले राखेको देखिन्छ । नेपाली कांग्रेसको यही भावनाबमोजिम वर्तमान संविधान र राज्यप्रणालीको संरक्षण हुनसकोस् शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?