सम्मानको भाषा

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 16 mins

नेपालको एक प्रतिष्ठित मिडिया हाउसको एक चर्चित कार्यक्रममा वर्ष दिन जतिघि वरिष्ठ पत्रकार किशोर नेपाल बोलाइएका थिए । अन्तर्वार्ताकार र पत्रकार नेपालको उमेरमा करिब ३५ वर्षजतिको फरक देखिन्थ्यो । सो कार्यक्रमका अन्तर्वार्ताकारहरू बेलाबेलामा परिवर्तन हुँदै आएका थिए । विगतका प्रस्तोताभन्दा त्यतिबेलाका प्रस्तोताको प्रस्तुति सभ्य र सौम्य मानिन्थ्यो तथापि कार्यक्रमको आचार संहिताअनुसार मैले तपाईंलाई किशोरजी या नेपालजी भन्नुपर्दछ, यसमा असहज नमान्न अनुरोध गर्दछु भन्दै अन्तर्वार्ता सुरु गरेका थिए । यस्तो अप्ठ्यारो मान्नुपर्ने आचार संहिता किन बनाइएको होला ? आफूभन्दा वरिष्ठलाई ‘ज्यू’ लगाउन नपाउने र ‘दाइ’ भन्न नपाउने आचार संहिता पनि आचार संहिता हुन्छ र भन्ने प्रश्न मेरो मनमा सधैँ उठ्ने गर्दछ ।

व्यक्तिलाई सम्बोधन गर्दा विशिष्ट आदर, उच्च आदर, सामान्य आदर र अनादर हुने विभिन्न खाले शब्दहरू प्रयोग गर्न सकिन्छ । मौसुफ, बक्सियोस्, ज्यूनार होस् जस्ता विशिष्ट आदर व्यक्त हुने शब्दहरू गणतन्त्रको आगमनसँगै प्रयोग गर्न छोडिएको छ । राजारानीलगायत राजपरिवारका सदस्यहरूका निमित्त चलाइएका यसप्रकारका शब्दहरू आजभोलि कसैकसैका घरमा प्रयोग गरिए पनि सार्वजनिक प्रयोग गर्न नपर्ने भएको छ । लोकतन्त्रले डेरा जमाउन नसकेको, पुरानो संस्कारले छाडी नसकेको र दास मनोवृत्तिबाट उन्मुक्त भइनसकेकाहरूले भने अझै पनि सम्भ्रान्त वर्गका र उच्चपदस्थहरूलाई भेटे भने चाकडी बजाउँन यदाकदा यस्ता शब्दहरू प्रयोग गरेको भने सुन्न पाइन्छ ।

तपाईं, आउनुस्, खानुस् जस्ता उच्च आदरार्थी शब्दहरू भने आफूभन्दा उमेरमा जेठा, पदमा माथिल्ला र व्यवहारमा कुशलता भएकाहरूलाई सर्वत्र प्रयोग गरिन्छ । आपसी व्यवहारमा सबैभन्दा बढी यस्तै आदरार्थी शब्दहरू प्रयोगमा आउने गर्दछन् । परिचित वरिष्ठसँग मात्रै होइन, अपरिचित कनिष्ठ व्यक्तिहरूलाई समेत यिनै शब्दहरूले पुकार्ने गरिन्छ । यस्ता शब्दहरूले न कसैको अनादर नै हुन्छ र न कसैलाई चाकडी बजाएकै ठहरिन्छ । आपसमा यस्ता खाले शब्दहरू प्रयोग गर्दा एकले अर्कोलाई सम्मान गरेकै बुझिन्छ ।

केही समयदेखि पुनः सञ्चारमाध्यममा कस्तो भाषा प्रयोग गर्ने भन्ने विवाद चर्चामा आएको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला यो विवादले शिखर चुम्ने गर्दछ भने त्यसलाई पुनः पुनः स्मरण गर्दै बारम्बार परिचर्चा गर्ने गरिन्छ ।

आफूभन्दा साना, आफ्ना प्रियपात्र र समान तहका साथीभाइहरूका बीचमा भने सामान्य आदरार्थी खालका शब्दहरू प्रयोग हुने गरेका छन् । अर्थात् तिमी, आए, गए, खाएजस्ता शब्दहरूले सम्बोधन गर्ने भनेको समवय, समान तह र उस्तै उमेरका लागि हो । बाबुआमाले छोराछोरीलाई, दाइदिदीले भाइबहिनीलाई, एक मित्रले अर्को मित्रलाई यस्तै सामान्य शब्दहरूले बोलाउने गर्दछन् । आमनागरिकका घरपरिवारका बीचमा यस्तै शब्दहरू बढी प्रचलनमा रहेको पाइन्छ ।

तँ, आइज, जा, खा जस्ता अनादर जनाउने शब्दहरू त्यस्तै ठाउँहरूमा मात्र बोलिन्छ । अति निकटतामा समेत प्रयोग हुने यस्ता शब्दहरू साह्रै टाढाको या रिस या आवेग या शत्रुता प्रदर्शन गर्न प्रयोगमा आउने गर्दछन् । शब्द उच्चारणलाई हेरेर मित्रता या समीपता दर्शाउन तँ भनिएको हो कि रिसमा भनिएको हो भन्ने चाहिँ छुट्याउन सकिन्छ । पहिले पहिले सबै पतिहरूले आ-आफ्ना पत्नीहरूलाई तँ भनेरै सम्बोधन गर्दथे भने आजभोलि तिमीले व्यापकता पाएको छ । कसैकसैले तपाईं भनेको पनि सुन्न पाइन्छ । आन्तरिक र आपसी सम्बन्धमा जस्ता शब्दहरू प्रयोग गरिए पनि सार्वजनिक रूपमा भने कस्तो आदरार्थी शब्द प्रयोग गर्ने भन्ने ख्याल गर्नै पर्दछ ।

केही समयदेखि पुनः सञ्चारमाध्यममा कस्तो भाषा प्रयोग गर्ने भन्ने विवाद चर्चामा आएको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला यो विवादले शिखर चुम्ने गर्दछ भने त्यसलाई पुनः पुनः स्मरण गर्दै बारम्बार परिचर्चा गर्ने गरिन्छ । विगतमा पनि केही मै हुँ भन्ने पत्रकारले सम्मानित भनिएका व्यक्तित्वहरूसँग गरेका व्यवहारहरू माथि टिप्पणी हुने नगरेको होइन र पनि आजसम्म यस सम्बन्धमा कुनै निर्णय हुन सकेको छैन । उमेरले जति पाको भए पनि र पदले जति माथि पुगेको व्यक्ति भए पनि कतिपय सञ्चारमाध्यमहरूमा परोक्षरूपमा ‘तिमी’ जस्ता सामान्य आदरार्थी सम्बोधन गर्ने गरेको पाइन्छ ।

बालबालिकाले धेरै कुराहरू सिक्ने भनेको सञ्चारमाध्यमहरूबाटै हो । बालमष्तिष्कमा प्रभाव पार्ने भनेको पत्रपत्रिका र रेडियोले भन्दा टेलिभिजनले नै बढी हो । तसर्थ टेलिभिजनमा प्रयोग हुने भाषाका सम्बन्धमा मिडिया हाउसहरूमात्रै नभएर सरोकार राख्ने सबै नै सम्वेदनशील हुन जरुरी छ । बच्चामा परेको बानीलाई युवा भएपछि मान्छेले सुधार्न त्यति सहज हुँदैन । त्यसैले यस्ता सार्वजनिक माध्यमहरूले नकारात्मक असर पार्ने भाषा शैली अपनाउन त्यति उचित ठानिँदैन ।

गोरखापत्र दैनिकमा प्रायः सबैलाई ‘तपाईं’ प्रयोग गरिएको पाइन्छ । हिमालय टाइम्स दैनिकले त अभियुक्त भनिएकाहरूलाई समेत ‘तपाईं’ शब्द नै प्रयोग गर्दछ । नेपालको सञ्चार क्षेत्रमा पत्रिका, टेलिभिजन र रेडियो तीनवटै क्षेत्रमा अग्रणी स्थानमा रहेको कान्तिपुर मिडियाले भने सबैलाई ‘तिमी’ लगाएर समाचार बनाउने गरेको छ र टिप्पणी हुने गरेको पनि यही मिडिया ग्रुपको भाषालाई नै लिएर हो भन्न सकिन्छ । अहिले खुलेका धेरै अनलाइन मिडियाको त कुरै गर्नु परेन तर ख्याति कमाएका अनलाइन मिडियाहरूका भाषामा समेत विविधता भेटिन्छ ।

साहित्यमा धेरै पहिलेदेखि नै सामान्य आदरार्थी शब्दको प्रयोग हुँदै आएको पाइन्छ । पञ्चायतकालमा मौसुफ नलगाई सम्बोधन नै गर्न नपाइने राजालाई समेत कवितामा तिमी शब्दले सम्बोधन गर्न पाइने छुट थियो तर बोलिचालीमा अधिराजकुमार काकाले पनि भतिज युवराजलाई बक्सियोस् भन्दथे । ‘देउरालीमा राजा भेटिए’ भन्ने गीत त अति लोकप्रिय नै बनेको थियो । गीतहरूमा यस्ता प्रयोग पर्याप्त भेटिन्छन् । दोहोरी गीतमा त सामान्य आदरार्थी शब्दहरूको प्रयोगलाई अति सामान्य नै मानिन्छ तर समाचारमा यस्ता शब्द प्रयोग भने विवादरहित हुनसकेको छैन ।

कानुनमा जे भए पनि व्यवहारमा भने विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली भएसँगै पत्रकारिता क्षेत्रले राज्यको चौथो अंगको सम्मान पाएको हो । यही सम्मानको (दुर्) उपयोग गर्दै त्यतिबेलाका आफूलाई निकै सशक्त ठान्ने केही पत्रकारहरूले आफ्ना बा वा हजुरबा समानका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा जस्ता पाका एवं वरिष्ठ नेताहरूलाई समेत नामका पछाडि ‘जी’ लगाएर सम्बोधन गर्ने र नमस्कार गर्नुको सट्टा हात मिलाएर अभिवादन गर्ने गरे । त्यसैको प्रभाव परेर आजभोलि पनि कतिपय मिडियाहरूले यही प्रचलनलाई आत्मसात् गरिरहेको पाइन्छ ।

निश्चय नै राष्ट्रपति अति सम्मानित ओहोदा हो । प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख जस्ता पदहरू सम्माननीय पद हुन् । मन्त्री पद भनेको पनि आदरयोग्य ओहोदा हो । त्यो पद र कुर्सीमा को बसेको छ भन्ने भन्दा पनि राज्यले नै सम्माननीय र माननीय भनी सम्मान गरेका पदका व्यक्तिहरूलाई सामान्य आदरार्थी शब्द प्रयोग गरेको सुहाएको जस्तो लाग्दैन । कम्तीमा उच्च आदरार्थी शब्दहरूको प्रयोग गर्दा नै सुन्दा सहज हुन्छ । प्रधानमन्त्रीले यसो गरे भन्नुभन्दा प्रधानमन्त्रीले गर्नुभयो भनेकै सबैलाई स्वीकार्यमात्र नभई स्वयं मिडिया हाउस र पत्रकारकै इज्जत बढाउन उपयोगी हुन्छ होला ।

तर, प्रश्न कहाँ उठ्छ भने ती पदमा रहेकाहरूले पदको गरिमा धानेनन् भने चाहिँ के गर्ने होला ? पद सम्माननीय भए पनि पदासीन व्यक्तिका सबै काम कारबाहीहरू घृणा गर्न लायकका भए भने आदर गर्नुपर्छ कि पर्दैन होला ? जनताको संरक्षक हुने जिम्मेवारी दिएर पठाएका माननीयहरू जनताकै भक्षक हुन थाले भने त्यस्तालाई तपाईं भन्नु पर्दछ कि पर्दैन ? देश र जनताप्रति उत्तरदायी हुँदै मुलुकको समृद्धि र नागरिकको समुन्नतिमा केन्द्रित हुनुपर्ने उच्च ओहोदामा रहेकाहरू भ्रष्टाचारमा लिप्त हुनथाले भने त्यस्तालाई आदर गर्ने कि नगर्ने ? उच्च पदमा रहेकै कारण एउटा व्यक्ति आफूलाई सबैबाट आदर खोज्दछ तर उसले अरू कसैको सम्मान गर्नै जान्दैन भने उसलाई अरूले सम्मान गरिरहन पर्दछ कि पर्दैन ?

कतिपयले पार्टी सभापति एवं उमेरमा बाबु समानका नेताहरूलाई समेत नामका पछाडि ‘जी’ लगाउने गरेको पाइन्छ । यस्ता शब्दहरू सुन्दा अशोभनीय त हुने नै रहेछ स्वयं वक्ताको पनि मान घटाउने हुन जान्छ । आफूले आदर खोज्ने हो भने अरूलाई आदर गर्न जान्नै पर्दछ ।

वर्तमानमा राजनीतिमा सक्रिय रहेकाहरूबाटै केही उदाहरण लिन सकिन्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सबै दृष्टिबाट नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डभन्दा वरिष्ठ हुनुहुन्छ । ओली र प्रचण्डहरूले यी दुवै नेताहरूलाई देउवाजी, पौडेलजी भनेकै सुनिन्छ । अनि ओली र प्रचण्डभन्दा १० वर्ष कान्छाले उहाँहरूलाई ओलीजी या प्रचण्डजी भनेर बोलाउँदा अपमान हुन्छ कि हुँदैन ? संसद्मा चित्रबहादुर केसी, पशुपति शमशेरहरू सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ । पशुपति शमशेरलाई त वरिष्ठ मानेर अहिलेका सबै सांसदहरूले उहाँबाटै शपथ लिनु पर्‍यो ? के ठूलो पार्टीको सभापति हुँदैमा देउवा, ओलीहरूले केसी, राणाहरूलाई सामान्य आदरार्थी शब्द प्रयोग गर्न मिल्ला ?

कम्युनिष्ट पार्टीहरूमा त पहिलेदेखि नै एकले अर्कोलाई कम्रेड भन्ने चलन थियो तर नेपाली कांग्रेसमा भने सानाले ठूलालाई दाइ या दिदी र ठूलाले सानालाई भाइ या बहिनी भन्ने गर्दथे । आजभोलि आफूलाई विश्लेषक भनाउने र प्रगति गरेको नेता ठान्ने कतिपयले पार्टी सभापति एवं उमेरमा बाबु समानका नेताहरूलाई समेत साथीलाई झैँ नामका पछाडि ‘जी’ लगाउने गरेको पाइन्छ । यस्ता शब्दहरू सुन्दा अशोभनीय त हुने नै रहेछ स्वयं वक्ताको पनि मान घटाउने हुन जान्छ । आफूले आदर खोज्ने हो भने अरूलाई आदर गर्न जान्नै पर्दछ ।

एउटा कुरा चाहिँ के हो भने एकजना प्रधानमन्त्री हुँदा स्वीकार्य भएको कुरा अर्को प्रधानमन्त्री हुँदा राष्ट्रपतिबाट अस्वीकार भयो भने त्यस्ता राष्टपतिलाई जनताले आदर गर्न अप्ठ्यारै हुन्छ । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीबाटै भ्रष्टाचारीको संरक्षण हुन गएमा त्यस्ता प्रधानमन्त्रीलाई उच्च आदरार्थी शब्द प्रयोग गर्न पनि सबैलाई कठिन पर्दछ । सुशासन दिनुपर्ने मन्त्रीहरू नै अराजकता निम्त्याउँदै भ्रष्टाचारमा लिप्त भए भने ती मन्त्रीहरूलाई पनि हजुर भनी सम्मान गर्न जरुरी पर्दैन । अन्यथा सञ्चारमाध्यमहरूमा उच्च आदरार्थी शब्दहरूको प्रयोग नै उचित हुन्छ कि ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?