संयन्त्र बनाउने थालनी कांग्रेसले नै गरेको हो : अध्यक्ष ओली

प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत 

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको बताउनु भएको छ ।

बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यस्तो बताउनु भएको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोपप्रति उहाँले यस्तो बताउनु भएको हो ।

आजको संसद बैठकमा शर्माले आफू प्रधानमन्त्री भएको बेला संविधानले चिन्दैन भनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेर ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको आरोप लगाउनु भएको थियो ।

पत्रकारहरुसँग त्यसको जवाफ दिँदै ओलीले भन्नुभयो, ‘गत सरकारको समयमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र बनाएर एउटा नयाँ प्रचलन सुरु गर्‍यो । त्यो त अभ्यासका रुपमा आइसक्यो त !’

उहाँले थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत समेत भन्नुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमती भएको समेत स्पष्ट पार्नु भयो । उहाँले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भने पछि भन्ने प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एकदमै राष्ट्रिय सहमती हुनुपर्छ राष्ट्रपतिमा । नेकपा एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमती त्यही हो । यसमा राष्ट्रिय सहमती हुनुपर्छ । एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौला ।’

अध्यक्ष ओलीले नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने घोषणा पनि गर्नुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?