पानी नपर्दा हिउँदे बाली सुक्न थाल्यो

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हिउँदे बाली सुक्न थालेको छ । लामो समयदेखिको खडेरीका कारण गहुँ जौलगायतका हिउँदे बाली सुक्न थालेको हो । बैतडीमा १४ हजार हेक्टर बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छैन । असोज अन्तिम सातापछि वर्षा नहुँदा हिउँदे बाली सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । कात्तिक पहिलो साता छरेको गहुँ वर्षा नभएपछि खेतमै सुक्न थालेको सिगास गाउँपालिका–९ का दान सिंह बोहराले बताउनुभयो । ‘सिँचाइ सुविधा छैन, आकाशे पानीकै भरमा हिउँदे बाली लगाउँछौँ, यस वर्ष त पानी पनी परेन, गहुँ, जौ र तरकारी सुक्न थालेको छ,’ बोहराले भन्नुभयो । गहुँ छरेदेखि अहिलेसम्म पानी नपरेको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष असोज १९ गतेदेखि २३ गतेसम्म लगातार चार दिन वर्षासम्म भएको थियो । त्यसयता सुदूर पहाडमा वर्षा भएको छैन । समयमा पानी नपर्दा गहुँ बाली र तरकारी बालीसमेत सुक्न थालेको पाटन नगरपालिका–१० का स्थानीय भानुभक्त भट्टले बताउनुभयो । लामो समयसम्म यस्तै खडेरी रहिरहने हो भने हिउँदे बालीको उत्पादनमा कमी आउनुका साथै भोकमरी हुने भन्दै भट्टले चिन्ता व्यक्त गर्नुभयो । ‘अहिलेसम्म त एक-दुईपटक हिउँ परिसक्नुपर्ने हो पानी समेत परेको छैन, ’ उहाँले भन्नुभयो ।

गहुँका लागि करिब पाँच पटकसम्म सिँचाइ गर्नुपर्ने भए पनि आकाशे पानीको भरमा रहेका हिउँदे बाली नराम्ररी प्रभावित बनेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताउनुभयो । सुक्खा हिउँदे फलफूलहरू प्रभावित बनेको पनि उहाँले जानकारी दिनुभयो । ‘कम्तीमा पनि पाँचपटक गहुँका लागि सिँचाइ हुनुपर्छ तर यहाँ सिँचाइ सुविधा कम छ, हिउँदे फलफूलहरू ओखर, स्याउ, आरु, खुर्पानेलगायतका नगदेबाली पनि प्रभावित भए,’ गहुँ र हिउँदे फलफूल उत्पादनमा यस वर्ष उल्लेख्य ह्रास आउने कृषि शाखा प्रमुख अवस्थीले बताउनुभयो । हिउँदे फलफूलका बोटहरू पात झरेर सुषुप्त अवस्थामा रहेको र यही समयमा सिँचाइ नभए उत्पादनमा कमी आउने अवस्थीको भनाइ छ ।

ओखर खेतीका लागि बैतडी जिल्ला पकेट क्षेत्र हो । जिल्लाको पाटन नगरपालिका तथा सुर्नया, दोगडाकेदार र सिगास गाउँपालिकामा ओखर खेती गरिन्छ । सुक्खा फलफूल विकास केन्द्र र नर्सरीहरूमा हिउँदे फलफूलका बोेटहरू पनि सुक्न थालेका छन् । लामो समयदेखि वर्षा नहुँदा हिउँदे फलफूल उत्पादनमा पनि ह्रास आउने सुक्खा फलफूल विकास केन्द्र सत्बाज बैतडीका प्रमुख डम्बर सिंह भाटले बताउनुभयो । ‘हिउँदे फलफूललाई चिस्यानसँगै सिँचाइको आवश्यकता पर्छ तर यस वर्ष हिउँद सुक्खा छ, फलफूल उत्पादनमा पनि ह्रास आउन सक्छ,’ उहाँले भन्नुभयो ।

बैतडीमा १५ हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा गहुँ खेती गरिँदै आएको छ । गत वर्ष समयमै वर्षा भएका कारण १८ हजार ४८० मेट्रिकटन गहुँ उत्पादन भएको थियो । समयमै वर्षा भएका कारण गत वर्ष उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बैतडीका तथ्यांक अधिकृत मिलन कँडेलले जानकारी दिनुभयो । समयमै वर्षा भएका कारण २०७७ सालको तुलनामा २०७८ सालमा गहुँ उत्पादन बढेको उहाँले बताउनुभयो ।

३१ हजार ४८५ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको बैतडीमा २५ हजार हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ । त्यसमध्ये पनि ६ हजार ९२२ हेक्टर क्षेत्रफलमा पूर्ण सिँचाइ पुगेको छ भने तीन हजार ७२८ हेक्टर क्षेत्रफल जमिनमा आंशिक सिँचाइ सुविधा पुगेको छ । आकाशे सिँचाइका भरमा रहेका खेतहरू वर्षा नहुँदा उत्पादनमा ह्रास आउने गरेको छ । खेतीपाती गरिँदै आएको जमिनमध्ये १४ हजार बढी हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?