पानी नपर्दा हिउँदे बाली सुक्दै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । हिउँदे वर्षा नभएपछि डडेल्धुरामा यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । असोज तेस्रो सातामा चार दिनसम्म परेको अविरल वर्षापछि हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको कृषक बताउँछन् ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मुसुरोलगायत भदौमा लगाएको हिउँदे आलु खेती तथा ताजा तरकारी बालीको उत्पादनमा निकै कमी हुने देखिएको छ । यस वर्ष हिउँदे खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने भन्ने चिन्ता किसानहरूमा रहेको छ । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य संकट निम्तिने कृषि विज्ञ बताउँछन् ।

आठ हजार ७४४ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको डडेल्धुरा जिल्लामा ४० प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेपछि ४० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । हिउँदे बालीका लागि आकाशे लामो समयसम्म पानी पनि नपर्नु र सिँचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?