जीवित शिशुलाई मृत घोषित गर्ने तीन स्वास्थ्यकर्मीविरुद्ध छानबिन सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । जीवित शिशुलाई मृत घोषणा गर्ने विराटनगर कोशी अस्पतालका तीन स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । बुधबार उपचारका लागि कोशी अस्पताल ल्याइएकी १८ दिने जीवित शिशुलाई मृत घोषणा गरेका कोशी अस्पतालका तीन स्वास्थ्यकर्मी निलम्बनमा परेका हुन् । अस्पताल प्रशासनले डा. आकाश यादव, दुई पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीलाई ७ दिनका लागि निलम्बन गरेर घटनाको छानबिन सुरु गरेको जनाएको हो ।

जहदा–३ भाथीगछका दिलीप मुखियाले १८ दिने शिशुलाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याउनुभएको थियो । डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार नै नगरी शिशुलाई मृत घोषणा गरिदिएको पीडित पक्षको आरोप छ ।

पारामेडिकल यादवलाई २४ घण्टे स्पष्टीकरण माग्दै ७ दिनका लागि निलम्बन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताउनुभयो । निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूमाथि छानबिनका लागि अस्पतालले बिहीबार छानबिन समितिसमेत गठन गरेको छ । अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार समितिमा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य रहनुभएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको म्याद दिइएको छ ।

अस्पतालले मृत्यु भएको घोषणा गरिदिएपछि आफन्तले दाहसंस्कारको तयारीसहित शिशुलाई डिस्चार्ज गरी घर लाने तयारी भइरहँदा हात-खुट्टा चलाएपछि शिशु जीवित रहेको खुलेको थियो । शिशु जीवितै रहेको चाल पाएपछि परिवारका सदस्यले पुनः शिशुलाई उपचारका लागि गोल्डेन हस्पिटल भर्ना गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?